साप्ताहिक संवाददाता
पाँचौं धादिङ महोत्सवमा कलाकार बद्री पंगेनीले गित गाउन के थालेका थिए सुरुमा सबैले तालीले स्वागत गरे । जब पंगेनीले लाऊ चेली सिन्दुर लाउ गीत गाउन थाले सबै दर्शक एकाएक भावनामा बगे । पंगेनीले आफ्ना आधा दर्जन गीतले दर्शकहरूलाई छमछमी नचाउन भ्याए ।
महोत्सवमा सल्यानटारको मास र भटमास आकर्षकमा छ । पुस ७ गते प्रारम्भ भएको यो महोत्सवमा स्थानीय स्तरमा उत्पादन भएका मास र भटमासले विशेष स्थान पाएको छ । सल्यानटारको मास छिटो पाक्ने, मीठो एवं पौष्टिक मानिन्छ । पुस १७ गतेसम्म चल्ने महोत्सवमा धादिङमा उत्पादित तरकारी तथा फलफूल, साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुहरू, हस्तकलाका सामग्री, रुवि तथा अन्य रत्न, रेशमकीराबाट उत्पादन भएका कपडा आदिका २ सयभन्दा बढी स्टल छन् ।
नीलकण्ठ नगरपालिका–४, रायटारमा सञ्चालित यो महोत्सवको मुख्य आकर्षणका रूपमा कृषि प्रदर्शनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण रहने बताइए पनि महोत्सव स्थलमा बाहिरबाट ल्याइएका फेन्सी तथा प्लास्टिकका भाँडाकँुडाका पसल पनि प्रशस्तै छन् । महोत्सव पहिलो दिनदेखि नै दर्शकहरूको भीड खचाखच छ । यो महोत्सवमा १ सय ७० वटा स्टल छन् । महोत्सव करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने तथा यसमा १० करोडको कारोबार हुने लक्ष्य छ । महोत्सवमा विभिन्न जातजातिको वेशभूषा झल्कने संस्कृतिको प्रदर्शन, घांटु, सोरठी, लाखे, टुकटुके एवं पञ्चैबाजा आदि पनि प्रदर्शन गरिएको थियो ।