अंग्रेजी क्यालेन्डरअनुसारको नयाँ वर्ष अर्थात् वर्ष २०१७ मा फेसन संसारमा धुम मच्चाउन सक्ने सम्भावित कलर टोनका सम्बन्धमा कलर फोरकास्ट गर्ने प्यान्टोनका अनुसार यो वर्ष ब्राइट, भिभिड एवं अर्थ टोन्को प्रधानता रहनेछ । यस पटकको स्प्रिङ सिजनमा नायग्रा कलरको प्रभाव रहने बताइएको छ । आरामदायक तथा भरोसाको अनुभूति दिने रंगका रूपमा परिचय बोकेको यो रंग क्लासिक डेनिम जस्तै ब्लू शेड हो ।
यसले सुखद, आराम एवं विश्वस्तता संचार गर्छ । यो रंगको ठीक कन्ट्रास्ट प्रिमरोज यलोले ऊर्जा र एनर्जीलाई इंगित गर्छ । यो रंगलाई प्यान्टोनले वर्ष २०१७ का प्रमुख रंगका रूपमा उल्लेख गरेको छ । एनर्जी प्रवाह गर्ने अर्को रंग लेपिस ब्लू पनि यो वर्षको अनुमानित कलर शेडमा परेको छ । इन्टेन्स ब्लु शेड मानिएको यो टोन आत्मविश्वास र शक्तिका लागि परिचित छ ।
यो वर्ष रेड परिवारको सदस्यका रूपमा परिचित ओरेन्ज अर्थात् फ्लेम शेड पनि प्यान्टोनको कलर फोरकास्टमा परेको छ । अन्यन्त ऊर्जावान्, चञ्चलता र थिटट्रिकल शेडका रूपमा लिइने यो रंगले वर्ष २०१७ को कलर प्यालेटमा धुम मच्चाउने अनुमान गरिएको छ । यो वर्ष रिफ्रेसिङ एक्वा कलरका रूपमा आइल्यान्ड प्याराडाइज कलर देखा पर्नेछ । कूल ब्लू ग्रिन शेडका रूपमा परिचित यो रंगले ट्रपिकल मूडलाई विस्तार गर्नेछ । शान्त र शितलताको अनुभूति दिने कलर शेडहरूमध्ये पेल डगवुड पनि यो वर्ष फेसन संसारमा मन पराइने बताइएको छ । पिंक शेडमा उपलब्ध हुने यो रंगले निश्छलता र शुद्धताको स्वभाव प्रकट गर्छ ।
वर्ष २०१७ को स्प्रिङ समर मुडलाई ग्रिनरी रंगले अझ रोमाञ्चक बनाउनेछ । ट्याङ्गी यलो ग्रीन शेडको यो रंगले नयाँपन, शीतलता, शान्त वातावरण तथा नौलो अनुभुतिलाई प्राथमिकता दिन्छ । ट्रपिकल र फेस्टिभ मुड सञ्चार गर्ने पिन्क यारो शेड पनि यसपटक फेसन संसारको प्रिय बन्ने अनुमान छ । बोल्ड, आकर्षण तथा प्यासनको संवाहक रहने पिन्क यारोलाई उत्साह र जोशले भरिपूर्ण शेड पनि मानिन्छ । स्वस्थ जीवनशैली तथा रमाइलो परिवेशलाई इंगित गर्ने यो रंग केल ग्रीन शेडको अर्को स्वरूप हो ।
प्रकृति नजिक रहेको अनुभूति दिलाउने यो रंगलाई कम्प्लिमेन्टरी भाइब्रेन्ट ग्रिनका रूपमा लिइन्छ । वर्ष २०१७ को कलर टोनमा हेजलनोट शेडलाई पनि महत्व दिइएको छ । यो शेडले नेचुरल अर्थ टोनलाई उजागर गर्छ । यी मुख्य रंगबाहेक यो वर्ष मेटालिक सिल्भर, शुद्धता, निश्चलता एवं प्रकाशको संवाहक इथरिल ह्वाइट, अल सिजन कलरकै रूपमा टाइमलेस ब्ल्याक, पिन्क परिवारको सदस्य फिफ्टी शेड्स अफ पिन्क, प्यासनेट रेड, फेमिनेन शेड कगनाक फ्लेभर तथा पर्पल परिवारको सदस्य स्विट लिलाक र इलेक्ट्री पर्पल पनि फेसन संसारमा उत्तिकै प्रधानताका साथ प्रयोगमा आउने बताइएको छ ।