साप्ताहिक संवाददाता
बलिउडमा यो वर्ष पनि सलमान खानले रजाईं गरे । अघिल्लो साता प्रदर्शित आमिर खानको ‘दंगल’ले प्राप्त गरिरहेको उच्चतम सफलताले सलमानको यो वर्षको ब्लकबस्टर ‘सुल्तान’लाई चुनौती दिँदैछ । अब ‘दंगल’ले ‘सुल्तान’को बक्सअफिस कलेक्सनलाई मात दिन्छ कि दिँदैन, त्यो एक–दुई सातामै थाहा हुनेछ । बलिउडमा यो वर्ष आएका चलचित्रहरूभन्दा पनि लोकप्रियता र चर्चालाई आधार मानेर तयार पारिएको बलिउडका १० लोकप्रिय अभिनेताको स्कोरकार्ड :
१. सलमान खान
अहिलेको समयमा निविर्वाद रूपमा सलमान खान नै बलिउडका नम्बर वान स्टार हुन् । जब सलमानद्वारा अभिनित चलचित्र प्रदर्शन हुन्छ त्यसले बक्सअफिसमा कीर्तिमान राख्छ । सलमान खानको चलचित्रका लागि पैसाको त वर्षा नै हुन्छ । प्रशंसकहरू उनको चलचित्र हेर्न तँछाड मछाड गर्छन् । यो वर्ष सलमान खानको ‘सुल्तान’ ब्लकबस्टर सावित भयो ।
यो चलचित्रका लागि सलमानले गर्नुसम्म मेहनत गरेका थिए । उनले कुस्तीका दाउपेच सिके, तौल बढाए, कपाल काटे र त्यसको परिणाम बक्सअफिस कलेक्सन वर्षभरिकै सबैभन्दा बढी भयो । ३ अर्ब भा.रु.भन्दा बढी कलेक्सन गरेको यो चलचित्रले बलिउडमा सलमान खानको बर्चश्व कायमै राख्यो । विवादमा पनि परे सलमान । ‘सुल्तान’को प्रचार–प्रसारका क्रममा सलमानले बोलेको एउटा वाक्यले बबालै मच्चियो ।
ब्लकबस्टर : १, सुपरहिट : ०,
हिट : ०,सामान्य : ०,फ्लप : ०
२. शाहरूख खान
शाहरूख खानका लागि यो वर्ष खासै उपलब्धिमूलक रहेन । शाहरूखद्वारा अभिनित चलचित्र ‘फ्यान’ यति नराम्रोसँग फ्लप भयो कि विगत दश वर्षमा उनका कुनै चलचित्रले शायदै यति कम कलेक्सन गरेका थिए । उक्त असफलताका कारण बलिउडका ‘किङ खान’ शाहरुखको कुर्सी नै हल्लिएको छ । उनले आफ्नो आगामी चलचित्र ‘रइस’लाई सलमानको ‘सुल्तान’सँग नजुधाएर २०१७ को जनवरी २५ मा रिलिज गर्दैछन् । यति भएर पनि शाहरूखको क्रेज घटेको छैन । यद्यपि बक्स अफिसमा उनका पछिल्ला चलचित्रले सोचे जस्तो व्यवसाय गर्न सकेका छैनन् । यसै वर्ष आएको ‘डियर जिन्दगी’का उनी फरक ढंगबाट प्रस्तुत भएका छन् ।
ब्लकबस्टर : ०,सुपरहिट : ०,
हिट : १,सामान्य : ०,फ्लप : १
३. अक्षयकुमार
यो वर्ष अक्षयकुमारका लागि राम्रो रह्यो । उनका तीन चलचित्र प्रदर्शनमा आए र तीनवटै चलचित्रले बक्सअफिसमा १ अर्ब भा.रु.भन्दा माथिको व्यवसाय गरे । बलिउडमा अक्षयकुमारको छवि यस्तो बनिसकेको छ कि उनका चलचित्रले बक्सअफिसमा घटिमा पनि सवा अर्ब भारतीय रुपैयाँ कलेक्सन गर्छन् । उनको स्टारडम बलिउडका खानहरू जत्तिको त छैन, तर पनि व्यवसायमा उनले कहिलेकाहीँ खानहरूलाई मात ख्वाउँछन् ।
ब्लकबस्टर : ०,सुपरहिट : २,
हिट : ०,सामान्य : १,फ्लप : ०
४.ऋत्विक रोशन
संभवत: ऋत्विक रोशन वर्ष २०१६ लाई बिर्सन चाहन्छन् । श्रीमतीसँग पारपाचुकेपछि कंगना रणावतसँग नजिकिएका ऋत्विक, कंगनाकै कारण विवादमा मुछिए र उनको छवि धुमलियो । त्यसमाथि यो वर्ष आएको चलचित्र ‘मोहेन्जो दारो’लाई त दुर्घटना नै मान्नुपर्छ । उक्त चलचित्रका लागि उनले कठोर मेहनत गरे, ब्लकबस्टर ‘लगान’ निर्देशक आशुतोष गोवारिकर निर्देशित ‘मोहेन्जो दारो’ नराम्रोसँग घाटामा गयो।
ब्लकबस्टर : ०,सुपरहिट : ०,
हिट : ०,सामान्य : ०,फ्लप : १
५. अजय देवगन
विगत ४/५ वर्षयता अजय देवगण ब्लकबस्टर चलचित्र दिन सकिरहेका छैनन् । ‘सिंघम’पछि ‘सिंघम रिटर्नस’ले बक्सअफिसमा कलेक्सन त राम्रो गर्यो, तर ब्लकबस्टर हुन सकेन । यो वर्ष अजय देवगणको करियरकै सबैभन्दा महँगो चलचित्र ‘शिवाय’ आयो, तर बक्सअफिस कलेक्सन राम्रो भएन । तिहारका बेला रिलिज भएको भएर मात्र उक्त चलचित्र जोगियो अन्यथा ‘शिवाय’ दर्शकको रोजाइमा खासै परेन ।
ब्लकबस्टर : ०,सुपरहिट : ०,
हिट : ०,सामान्य : १,फ्लप : ०
६. अभिताभ बच्चन
७४ औं वर्षको उकालो उक्लिरहेका अमिताभ बच्चन अहिले पनि उत्कृष्ट १० भित्र पर्नु अमिताभ बच्चनको लोकप्रियता नै हो । संसारमै उनको जस्तो लोकप्रिय अभिनेताको इतिहास सायदै अरू कसैले दोहोर्याउलान् । उनी अभिनय त गज्जबको गर्छन् नै आफ्नै ‘दम’मा दर्शकलाई हलसम्म तान्छन् । त्यसो भए पनि यो वर्ष ‘वजिर’ फ्लप भयो । ‘तीन’ राम्रो बनेर पनि चल्न सकेन । बरु ‘पिंक’ हिटमा दरियो । समीक्षकहरूको रायमा ‘पिंक’मा अमिताभद्वारा गरिएको अभिनयले उनलाई आगामी वर्ष धेरै पुरस्कार दिलाउनेछ ।
ब्लकबस्टर : ०,सुपरहिट : ०,
हिट : १,सामान्य : ०,फ्लप : २
७. रणवीर कपुर
रणवीर कपुर र सफलताबीचको दूरी यो वर्ष पनि कायमै रह्यो । गएका केही वर्षयता उनले केही सुपरफ्लप चलचित्र दिए । त्यही भएर उनी यो वर्ष सन्तुष्ट भए होलान् कि ‘ऐ दिल है मुस्किल’ले बक्सअफिसमा सामान्य व्यवसाय गर्यो, फ्लप भएन ।
ब्लकबस्टर : ०,सुपरहिट : ०,
हिट : ०,सामान्य : १,फ्लप : ०
८. रणवीर सिंह
वास्तविक जीवनमा पनि ‘बेफिक्री’ ताल देखाउने रणवीर सिंहको यो वर्ष एकमात्र चलचित्र ‘बेफिक्रे’ आयो । जसलाई बलिउडका वरिष्ठ सफल निर्देशक यश चोपडाका सुपुत्र, रानी मुखर्जीका श्रीमान् तथा बलिउडको सफलतम चलचित्र ‘दिलवाले दुल्हनियाँ ले जाऐंगे’, ‘मोहंब्बते’, ‘रब ने बनादी जोडी’का निर्देशक आदित्य चोपडाले निर्देशन गरेका थिए । एक सामान्य चलचित्रका रूपमा आएको ‘बेफिक्रे’ले अभिनेता रणवीर सिंहको करियरमा खासै प्रभाव देखाउन सकेन ।
ब्लकबस्टर : ०,सुपरहिट : ०,
हिट : ०,सामान्य : १,फ्लप : ०
९. बरुण धवन
बरुण धवन यो वर्ष चर्चामा सामान्य देखिए । यो वर्ष बरुणद्वारा अभिनित एक मात्र चलचित्र ‘ढिसुम’ प्रदर्शनमा आयो, जसले बक्सअफिसमा सामान्य व्यवसाय गर्यो । यति हुँदा पनि उनको लोकप्रियतामा कमी आएको छैन ।
ब्लकबस्टर : ०,सुपरहिट : ०,
हिट : ०,सामान्य : १,फ्लप : ०
१०. जोन अब्राहम
सम्भवत: जोन अब्राहमको जादू दर्शकको मनबाट उत्रँदैछ । लभरव्वाई जस्तो लुक्स भएर पनि उनी आफूलाई एक्सन चलचित्रमा प्रस्तुत गरिरहेका छन् । जोनभन्दा पछि आएका अभिनेताहरू उनीभन्दा लोकप्रिय भैरहेका छन् ।
ब्लकबस्टर : ०, सुपरहिट : ०,
हिट : ०, सामान्य : १, फ्लप : २