साप्ताहिक संवाददाता
बलिउडमा नायकप्रधान चलचित्रहरू नै बन्छन् । वर्ष २०१६ मा पनि त्यस्तै भयो, नायकप्रधान चलचित्रहरू आए, चल्ने वा नचल्ने जे भए पनि क्रेडिट जति नायकले नै लगे, तर केही यस्ता चलचित्र पनि आए, जसमा नायिका ‘हिरो’ थिइन् वा नायकप्रधान भएर पनि चलचित्रमा उनीहरूले आफ्नो भूमिकामा न्याय गरेका थिए । उनीहरूको सफलता तथा दर्शकबीचको लोकप्रियतालाई आधार बनाएर तयार पारिएको बलिउडका सर्वोत्कृट १० लोकप्रिय अभिनेत्रीको स्कोरकार्ड :
१. आलिया भट्ट
हरेक वर्ष आलिया भट्ट थप खारिएर जाँदैछिन् । आफ्नो अभिनयबाट उनी दर्शकहरूलाई चकित बनाउँछिन् । यो वर्ष उनका तीन चलचित्र आए र तीनवटै चलचित्रमा उनले आफूलाई फरक–फरक रूपमा प्रस्तुत गरिन् ।
रिलिज : ३, ब्लकबस्टर : ०, सुपरहिट : ०, हिट : १, सामान्य : २, फ्लप : ०
२. अनुष्का शर्मा
अनुष्का शर्माको गन्ती बलिउडका सर्वोत्कृष्ट ३ अभिनेत्रीमा हुन थालेको छ । अनुष्का यो वर्ष सलमान खानको ‘सुल्तान’मा महिला पहलवानका रुपमा देखा परिन् र चलचित्रमा सलमान हुँदा हुँदै पनि आफ्नो छाप छाड्न सफल भइन् । ‘ऐ दिल है मुस्किल’मा पनि अनुष्काको उपस्थिति प्रभावकारी रह्यो ।
रिलिज : २, ब्लकबस्टर : १, सुपरहिट : ०, हिट : ०, सामान्य : १, फ्लप : ०
३. प्रियंका चोपडा
प्रियंका चोपडा अब बलिउडसँगै हलिउडकी अभिनेत्री भैसकेकी छिन् । उनको दिन अचेल हलिउडमा बढी बित्दैछ । यो वर्ष उनको एकमात्र चलचित्र ‘जय गंगाजल’ आयो । अजय देवगनद्वारा अभिनीत ‘गंगाजल’को फलोअप चलचित्र ‘जय गंगाजल’ सामान्य रह्यो । प्रियंका बलिउडमा नभएको फाइदा अनुष्का शर्मा र आलिया भट्टलाई भैरहेको छ ।
रिलिज : १, ब्लकबस्टर : ०, सुपरहिट : ०, हिट : ०, सामान्य : १, फ्लप : ०
४.कैटरिना कैफ
रणवीर कपुरसँगको ब्रेकअपपछि कैटरिनाले करियरमा ध्यान दिइन्, तर हात लाग्यो शून्य । ‘फितुर’मा राम्रो काम गर्दागर्दै पनि चलचित्रले बक्सअफिसमा अपेक्षाकृत सफलता पाएन । ‘बारबार देखो’लाई त दर्शकले ‘एकबार’ पनि हेरेनन् ।
रिलिज : २, ब्लकबस्टर : ०, सुपरहिट : ०, हिट : ०, सामान्य : १, फ्लप : १
५. करिना कपुर खान
विवाहपछि सेलाएकी करिना हालै आमा भएकी छिन् । यसै त दर्शकको मनबाट टाढिँदै गएकी करिना अब टाढिने पक्का छ । यो वर्ष उनका दुई चलचित्र ‘कि एन्ड का’ तथा ‘उडता पञ्जाब’ आए र दुवैले सामान्य व्यवसाय गरे ।
रिलिज : २, ब्लकबस्टर : ०, सुपरहिट : ०, हिट : ०, सामान्य : २, फ्लप : ०
६. ऐश्वर्या राय बच्चन
उमेरसँगसँगै सुन्दरता बढ्दै गएका कारण ऐश्वर्या राय बच्चनको चर्चा बलिउडमा निरन्तर छ । यो वर्ष उनका दुई चलचित्र आए । ‘सबरजित’मा उनी बिना मेकअप देखा परिन्, जुन दर्शकलाई मन परेन । ‘ऐ दिल है मुस्किल’मा करण जौहरले उनलाई ग्ल्यामरस स्टाइलमा प्रस्तुत गरे, जसलाई दर्शकले रुचाए पनि उनकी सासु जया बच्चनले मन पराइनन् । अहिले ऐश्वर्या कुनै पनि चलचित्रमा काम गरिरहेकी छैनन् ।
रिलिज : २, ब्लकबस्टर : ०, सुपरहिट : ०, हिट : ०, सामान्य : २, फ्लप : ०
७. श्रद्धा कपुर
शक्ति कपुरकी छोरी श्रद्धा कपुरले अब बाबुको परिचयबाट चिनिनु पर्दैन । वर्ष २०१६ मा उनको एउटा चलचित्र नराम्रोसँग फ्लप भयो भने अर्को हिट । श्रद्धा कपुरलाई सम्भावना बोकेकी नायिका मानिएको छ।
रिलिज : २, ब्लकबस्टर : ०, सुपरहिट : ०, हिट : १, सामान्य : ०, फ्लप : १
८. सनी लियोन
इन्टरनेटमा सबैभन्दा धेरै खोजिने अभिनेत्रीमा परे पनि हलमा चाहिँ उनलाई दर्शकले खोज्दैनन् । यो वर्ष आएका तीनवटै चलचित्र फ्लप भएपछि सनी अब अभिनेत्रीभन्दा पनि आइटम डान्सरका रूपमा स्थापित हुँदैछिन् ।
९. सोनम कपुर
अनिल कपुर सुपुत्री सोनम कपुरले यो वर्ष भने ‘निरजा’ मा गरिएको अभिनय र भूमिकाबाट आफ्ना आलोचकहरूको मुखमा ताल्चा लगाइदिएकी छिन् ।
रिलिज : १, ब्लकबस्टर : ०, सुपरहिट : १, हिट : ०, सामान्य : ०,फ्लप : ०
१०. ज्याकलिन फर्नान्डिस
ज्याकलिन फर्नान्डिसको सुन्दरतालाई निर्माता तथा निर्देशकहरू आफ्नो चलचित्रको ग्ल्यामर बढाउन मात्र प्रयोग गर्छन् । यो वर्ष उनी तीनवटा चलचित्रमा देखा परिन् र तीनवटैमा उनको भागमा रोमान्स र नाचगानबाहेक केही परेन ।
रिलिज : ३, ब्लकबस्टर : ०, सुपरहिट : ०, हिट : ०, सामान्य : २, फ्लप : १