साप्ताहिक संवाददाता
युवापुस्तामा पुस्तक मोह बढ्दो छ । चलचित्र, डकुमेन्ट्री, थिएटर, सर्ट मुभीतर्फ भन्दा पुस्तकको क्रेज अझ माथि देखिन्छ । युवाहरूका अनुसार पुस्तकमा इम्याजिनेसन हुन्छ भने चलचित्रमा इमेज मात्र । पात्रसँगै भिज्न सहज हुने र पात्रसँगै आफूलाई ढाल्न सकिने भएकाले पुस्तक पढ्नुको मज्जा बेग्लै भएको बताउँदै चितवनकी सज्जा शर्मा भन्छिन्–पुस्तकमा जे पाइन्छ त्यो अरूमा हुँदैन । पुस्तकमा विस्तृत जानकारी, सूचना र मनोरञ्जन पाइन्छ ।
आफूलाई पात्रमा डुबाउन पाइन्छ । त्यति मात्र नभएर संसार बुझ्न सकिन्छ । अहिले पुस्तकका लेखकहरूको सामाजिक स्थान चलचित्र नायकको भन्दा कम छैन । पुस्तक प्रकाशित हुनुअघि बजारमा निस्कने विज्ञापनले पनि पाठक तान्न सघाइरहेका छन् । हिजोआज पुस्तकलाई अडियोमा सुन्ने प्रचलन पनि बढिरहेको छ । यसो गर्दा आँखालाई भार नपर्ने, उज्यालो नचाहिने, सुतेर वा आरामसँग सुन्न सकिने भएकाले यो अझ सहज भएको युवाहरूको तर्क छ । पुस्तक किन पढिन्छ, युवाहरू कस्ता पुस्तक बढी रुचाउँछन्, पुस्तक पढ्दा के प्राप्त हुन्छ ? युवाहरूकै उत्तर :
केशव खतिवडा (१४ वर्ष, विद्यार्थी, नयाँबानेश्वर)
कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ ?
इतिहासमा रुचि भएकाले ऐतिहासिक तथा प्रेरणामूलक पुस्तक पढ्न मन लाग्छ ।
सबैभन्दा मन परेको पुस्तक ?
म्याक्सिम गोर्कीको आमाले मेरो मन छोएको थियो । त्यसमा आमासँगको भावनालाई सुन्दर ढंगले शब्दमा उतारिएको छ । अर्को कुरा कस्ती आमा कस्ती भएर निस्किँदा म अत्यन्तै जोसमा आएको थिएँ।
पुस्तक पढ्दा कुन कुराले बढी आकर्षित गर्छ ?
पुस्तकलाई शब्दमा व्याख्या गर्न गाह्रो छ न त यो सम्भव कुरा हो । चलचित्रले इमेज मात्र दिन्छ तर पुस्तकले इम्याजिनेसन दिन्छ । पुस्तक पढ्दा जब पात्रमा भिजेर उसैमा चुर्लुम्म डुबिन्छ त्यसको आकर्षण संसारमा अरु कुनै कुरामा पाइँदैन ।
पुस्तक पढेर तपाईंलाई के फाइदा भएको छ ?
पहिलो त मैले आफूलाई उमेरभन्दा परिपक्व पाएको छु । अर्को कुरा भोक्याब्लरी सुध्रन्छ, कल्पनशीलता बढ्छ, सोचको दायरा फराकिलो हुन्छ, समय बिताउन सहज हुन्छ ।
युवापुस्ताको पुस्तक क्रेजको कारण के होला ?
चलचित्रमा अगावै भ्यु सेटअप हुन्छ । त्यहाँ विभिन्न पात्रको जीवनका विभिन्न पाटा देखिन्छन् त्यहाँ तर पुस्तकमा आफ्नै जीवनको कल्पना पनि गर्न सकिन्छ । कतिपय उपन्यासमा आधारित चलचित्र हेरेर साँच्चिकै पुस्तकमा विस्तृत अध्ययन गर्न पाए कस्तो हुन्थ्यो होला भनेर पुस्तक पढ्नेहरू पनि छन् भने कतिपय आफ्नो जीनवलाई पुस्तकभित्र खोज्न अध्ययन गर्छन् । हिजोआज त अडियोमै पुस्तक सुन्न मिल्ने भएकाले युवाहरू यसमा थप आकर्षित छन् ।
पल्लवी श्रेष्ठ (१६ वर्ष, विद्यार्थी, पेप्सिकोला)
पुस्तक पढ्ने बानी छ ?
छ, म निक्कै पढ्छु ।
कस्ता पुस्तक पढ्नुहुन्छ ?
उपन्यास र प्रेरणादायी पुस्तकहरू रुचाउँछु ।
पुस्तक पढ्दा के मिल्छ ?
ज्ञान प्राप्त हुन्छ, जीवन जिउने कला सिकिन्छ । आफूलाई जस्तै परिस्थितिमा पनि सम्हाल्न सक्ने क्षमता वृद्धि हुँदै जान्छ ।
पढ्नुको फाइदा ?
पुस्तक पढ्दा धेरै फाइदा छ । सर्वप्रथम त भाषामा दख्खल हुन्छ । कल्पनाशील भइन्छ । सोच, भावना र बुद्धिको दायरा फराकिलो हुँदै जान्छ । नदेखिकनै संसार बुझिन्छ ।
पढेका कुरा व्यवहारिक रूपमा उतार्न सकिन्छ त ?
अहिले म शिव खेडाको यु क्यान विन पढ्दैछु । यसले मभित्र दरिलो आत्मविश्वास भर्दै गएको छ । आफूलाई आत्मविश्वासी महसुस गरिरहेकी छु । जीवन र जगत्लाइ हेर्ने दृष्टिकोण नै बदलिएपछि आफ्नो जीवनलाई डोर्याउने तरिका र हिँड्ने बाटो पनि त्यही अनुरूप परिपक्व हिसाबले तय गर्न सकिन्छ ।
युनिशा थापा (१७ वर्ष, विद्यार्थी, झापा)
अध्ययन के–का लागि ?
म धेरैजसो उपन्यास पढ्छु । सूचना, उत्प्रेरणा तथा बाहिरी समाजमा के–कस्ता घटना, नीति–नियम होलान् भन्ने उत्सुकता मेटाउन पनि पुस्तक पढ्नुपर्छ ।
पुस्तकले तपाईंलाई के दिएजस्तो लाग्छ ?
आत्मसन्तुष्टि, ज्ञान र आत्मविश्वास ।
पुस्तक पढ्ने र नपढ्ने बीचको भिन्नता ?
पढ्नेहरू निक्कै आत्मविश्वासी देखिन्छन् । उनीहरूमा चौतर्फी ज्ञान पाइन्छ । संसार बुझ्ने क्षमता राख्छन् पुस्तक पढ्नेहरू ।
तपाईंका लागि पुस्तक के हो ?
ज्ञानको भण्डार । आत्मविश्वास बढाउने दह्रो संयन्त्र ।
ज्जा शर्मा (२४ वर्ष, चितवन)
पुस्तक कत्तिको पढ्नुहुन्छ ?
पढ्छु तर अझ बढी अडियो भर्सन सुन्छु ।
के–का लागि
अडियो सुन्नुहुन्छ ?
ज्ञान आर्जनका लागि । जस्तो कि हामी हिन्दू भयौं । मेरा सबै धर्म मान्ने साथी छन् । उनीहरूको धर्ममा के छ भनेर जान्न मैले कुरान तथा बाइबल पढें । त्यसपछि मलाई धार्मिक युद्ध र भेदभाव बेकार लाग्यो ।
तपाईंलाई असाध्यै मन
परेको पुस्तक ?
म्यान आर फ्रम मार्स, वुमन आर फ्रम भेनिस । उक्त पुस्तकमा प्रेममा पर्दा केटाहरू प्रेम प्रकट गर्ने विवाहपछि क्रमश: त्यो क्रम घट्दै जाने तर महिला पुरुषबाट प्रेम प्रकट भैरहोस् भन्ने चाहना राखिरहने कारणले सम्बन्ध धरापमा पर्छ । खासै नभए पनि यही कुराले कालान्तरमा मनमुटाव पैदा हुन्छ । यसले ममा सम्बन्धलाई कसरी निभाउनुपर्छ भन्ने ज्ञान भरिदियो ।
पुस्तक पढ्ने लहर किन
बढेको होला ?
समाज शिक्षित हुँदै गए सँगै एक्सपोजर पनि बढ्यो । देश–विदेशको भ्रमण अब कसैका लागि असम्भव रहेन । जसले मानिसको सोचको दायरा फराकिलो बनाइदियो । जति बुझ्यो मानिस उति गहिरिएर बुझ्न चाहन्छ । उपन्यासमा आधारित चलचित्र बन्नाले पनि युवाहरूमा पुस्तक पढ्ने बानीको विकास भएको हो । मानिसलाई ज्ञान र मनोरञ्जन दुवै चाहिन्छ जुन एकसाथ पुस्तकबाट मात्र सम्भव छ ।
क्षितिज खनाल (१५ वर्ष, विद्यार्थी, अर्घाखाँची)
कस्ता पुस्तक पढ्नुहुन्छ ?
राजनीतिमा चासो राख्ने भएकाले मलाई राजनैतिक पुस्तक विशेष मन पर्छन् । त्यसबाहेक ऐतिहासिक र बजारमा चलेका सबैजसो पुस्तक पढ्छु ।
के–का लागि पुस्तक पढ्ने ?
मेरो विचारमा राजनीति भनेपछि समाज, समुदाय तथा राष्ट्रका बारेमा बुझ्नुपर्छ । अन्य मुलुकमा देश बनाउन के–कस्ता संघर्ष गरिए, कसरी उनीहरू सफल भए, उनीहरूको संघर्ष र प्राप्ति बुझ्न र जान्न पनि पुस्तक सहायक हुन्छ ।
सबैभन्दा मन परेको पुस्तकको कुनै पात्र ?
जसले जेसुकै भने पनि मलाई हिटलर मन परे । तत्कालीन समयका लागि उनी उपयुक्त र अनुकूल व्यक्ति हुन् । हिटलरको राष्ट्रियताको अवधारणाले मलाई निक्कै आकर्षित गरेको छ । उनले अलिकति दूरदृष्टि राखिदिएको भए संसारकै हिरो कहलिन्थे । सानोबाट ठूलोतर्फ जाँदा कडा स्वभाव पनि देखाउनुपर्ने हुन्छ ।
जब पुस्तक पढ्न बस्नुहुन्छ के पाउनुहुन्छ ?
आफूलाई पुस्तकको पात्रसँग मिलाइन्छ । राजनैतिक पुस्तक पढ्दा निक्कै जोस आउँछ । अहिल्यै केही गरिहालौं भन्ने लाग्छ । निद्रा हराउँछ, निदाइहाले पनि सपनीमा पढेका कुराहरू हुबहु पात्र बनेर आउँछन् । आत्मीय सन्तुष्टि मिल्छ ।
प्रकाश अधिकारी (विद्यार्थी, धनगढी)
पाईंका लागि पुस्तक के हो ?
ज्ञान आर्जनको माध्यम, समय बिताउने साधन, आफूलाई फराकिलो बनाउने संयन्त्र ।
कस्ता पुस्तक मनपर्छन् ?
बी.पी. कोइरालाका पुस्तक खुब पढियो । मलाई जीवनी मनपर्छ । जसले ऊर्जा थप्ने मात्र नभई जीवन जिउने कला सिकाउँछ ।
पुस्तक किन पढ्ने ?
भित्रैदेखि आत्मसन्तुष्टि प्राप्त हुन्छ । ज्ञानको दायरा फराकिलो हुन्छ । अरुका अगाडि कुरा गर्दा तर्कसंगत अन्तरक्रिया गर्न सकिन्छ जसले मानिसको व्यक्तित्व उँचो बनाउँछ ।
युवाहरूले पुस्तकमा के खोज्छन् ?
प्रेम, उत्प्रेरणा एवं सफलता प्राप्त गर्ने उपाय, अरुका अगाडि आफूलाई कसरी आत्मविश्वासी देखाउने भन्ने सूत्रका साथै ज्ञान । धेरैले आफूलाई जे परेको छ त्यसको समाधान खोज्छन् ।