हामी दिनहुँ विभिन्न दिवस मनाइरहेका हुन्छौं भने कतिपय दिवसमा छुट्टीसमेत पाइरहेका छौं । यस्तै केही दिवसका अभियन्ताहरू आफ्ना दिवसलाई अन्तर्राष्ट्रियकरण गर्न लागिपरेका छन् । जस्तो न्युयोर्कको भूमिगत रेलबाट प्रारम्भ भएको नो प्यान्ट डेकै कुरा गरौं न । सन् २००२ मा सानो समूहबाट प्रारम्भ भएको यो दिवस अहिले विभिन्न देशका ६० वटा सहरमा पुगिसकेको छ ।
यस्तै केही दिवस अहिले सुषुप्त अवस्थामै छन् जसले आफूलाई अन्तर्राष्ट्रिय दिवसमा परिणत गर्ने क्षमता राख्छन् । तपाईंंले दसैंमा चंगा त मज्जैले उडाउनुभएको होला तर चंगा उडाउने दिवस कुन हो भनेर बिर्सनुभएको भए फेब्रुअरी ८ तारिखका दिन आज विश्वव्यापी रूपमा चंगा उडाउने दिवस मनाइन्छ भन्ने कुरा सम्झी राख्नुहोला ।
तपाईंले पुस्तक कहाँ–कहाँ बसेर पढ्नुभएको छ ? यदि तपाईंंको वाथटप छ भने फेब्रुअरी ९ तारिख ‘रिड इन द वाथटप डे’ हो भने त्यही दिन दाँत दुख्ने दिवस पनि मनाइन्छ । हामीमध्ये सबैजसोले घाम लाग्दा र पानी पर्दा छाता ओढ्दै आएका छौं । यद्यपि विश्वमा केही मानिसले फेब्रुअरी १० तारिखमा छाता दिवस मनाउँछन् भन्नेचाहिँ हामीमध्ये धेरैलाई जानकारी छैन ।
फेबु्रअरी ११ तारिख शनिबार पर्छ । तपाईं यो दिन के गर्दै हुनुहुन्छ ? यदि यो दिन कुनै दिवस मनाउने सोचमा हुनुहुन्छ भने तपाईंंका लागि धेरै च्वाइस छन् । यो दिन नयाँ साथी बनाउन पनि सकिन्छ भने यदि तपाईंकी जीवन संगिनी कुनै खेलकुदमा छिन् भने उनको सम्मानमा मनाइने ‘प्रो स्पोर्ट्स वाइफ डे’ पनि मनाउन सक्नुहुन्छ ? एक्लै हुँदा पनि खुसी छु भनेर मनाइने ‘सेटिसफाइड स्टेइङ सिंगल डे’ तथा सेतो सर्ट लगाएर ‘ह्वाइट सर्ट डे’ पनि यही दिन मनाइन्छ ।
विवाह गरेको दिनलाई सम्झेर धेरैले म्यारिज एनिभर्सरी मनाउँछन् । कहिलेकाहीँ आफ्नो म्यारिज एनिभर्सरी बिर्सनुभयो भने फेब्रुअरी १२ तारिखमा ‘वल्र्ड म्यारिज डे’ पर्छ, जुन दिन पनि आफ्नो एनभर्सरी मनाउन सकिन्छ । यदि तपार्इं पढ्नदास हुनुहुन्छ भने यो दिन ‘चाल्स डार्बिन डे’ पनि हो । तपाईं जागिर खानुहुन्छ भने फेब्रुअरी १३ तारिखमा अफिसमा आफ्ना सहकर्मीहरूलाई कर्मचारीहरूको अधिकारको विषयमा जानकारी दिएर एउटा नयाँ दिवस मनाउन सक्नुहुन्छ । तपाईंले आफ्नो घरमा भएको कम्प्युटर कहिल्यै आफैंले सफा गर्नुभएको छ ? छैन भने यो दिन आफ्नो कम्प्युटर सफा गरेर कम्प्युटर सफाइ दिवस पनि मनाउन सकिन्छ । यदि घरमा कम्प्युटर छैन भने रेडियो सुनेर रेडियो दिवस मनाउन सकिन्छ ।
फेब्रुअरी १४ तारिख भ्यालेन्टाइन डे हो भन्ने सबैजसोलाई जानकारी छ । यो दिन भ्यालेन्टाइन डे नमनाउनेहरू पुस्तक दिएर ‘इन्टरनेसनल बुक गिभिङ डे’ तथा रक्तदान गर्नेहरू ‘डोनर डे’ पनि मनाउँछन् । यही दिन घरपालुवा जनावरहरूको चोरीविरुद्ध जनचेतना जगाउने दिवस पनि मनाइन्छ ।
फेब्रुअरी १५ तारिख एक्लै बस्नेहरूले ‘सिंगल अवेरनेस डे’ तथा जल गैंडा भएका स्थानमा ‘हिप्पो डे’ मनाइन्छ । पारखीहरू फेब्रुअरी १६ तारिखमा देशी बदामको ‘आल्मोन्ड डे’ तथा कुनै नयाँ सिर्जना गर्ने ‘इनोभेसन डे’ मनाउँछन् । यस पटक फेब्रुअरी १८ तारिखमा नेपालमा प्रजातन्त्र दिवस परेको छ भने सालक जनावरको ‘वल्र्ड प्यांगोलिन डे’, ‘वल्र्ड ह्वेल डे’ यम ग्रहको ‘प्लुटो डे’ मदिरा पारखीहरूलाई ‘ड्रिंक वाइन डे’ तथा ब्याट्री दिवस मनाउने अवसर पनि यही दिन जुरेको छ ।
बाल्यकालमा तपाईंले डोरी तान्ने खेल पक्कै खेल्नु भएको होला । कुन समूह बलियो भनेर तानिने यो खेलसँग सम्बन्धित ‘इन्टरनेसनल टग अफ वार डे’ फेब्रुअरी १९ तारिखमा मनाइन्छ । तासका पारखीहरूका लागि फेब्रुअरी २० तारिख तास दिवस छ । घरमा कुनै जनावर पाल्नुभएको छ भने यो दिन ‘लभ योर पेट डे’ मनाउन सक्नुहुन्छ । यदि रमाइलो नै गर्नु छ भने हतकडी लगाएर ‘ह्यान्डकफ डे’ पनि मनाउन सकिन्छ ।
आफ्नो मातृभाषालाई सबैले माया त गर्छन् तर मातृभाषाको दिवस कहिले हो धेरैलाई जानकारी हुँदैन । यदि तपाईंले पनि बिर्सनुभएको छ भने सम्झना राख्नुहोस्, फेब्रुअरी २१ तारिखका दिन ‘इन्टरनेसनल मदर ल्याङवेज डे’ मनाइन्छ । फेब्रुअरी २२ मा दिवस मनाउने अप्सन धेरै छन् । माघे संक्रान्तिमा सखरखण्ड खान छुट्नुभएको छ भने यो दिन ‘स्विट पोट्याटो डे’, मदिराको पारखी हुनुहुन्छ भने मार्गरिटा पिएर ‘मार्गरिटा डे’, घरमा कुकुर छन् भने कुकुरसँग डुलेर ‘वकिङ द डग डे’ मनाउन सकिन्छ । संयुक्त राष्ट्रसंघले जुन २१ का लागि घोषणा गरेको विश्व योग दिवस मान्नु हुन्न भने यो दिन पनि ‘वर्ड योग डे’ मनाउन सक्नुहुन्छ । यो दिन यी कुनै काम गरेर मनाउन चाहनु हुन्न भने तपाईंसँग अर्को अप्सन पनि छ र त्यो हो एक्लै सोचेर बस्ने ‘वल्र्ड थिंकिङ डे’ ।
यसपटक फेब्रुअरी २३ तारिखमा शिक्षा दिवस मनाइनेछ । यो दिन अरूले ‘डिजिटल लर्निङ डे’, ‘प्ले टेनिस डे’ तथा पिरो खानेकुरा खाने ‘चिल्ली डे’ पनि मनाउँछन् । २०७३ सालको शिवरात्रि फेब्रुअरी २४ तारिखमा परेको छ । यो दिन विदेशमा भने बारमा आकर्षक मदिरा तयार पार्ने ‘वल्र्ड वार टेन्डर डे’ मनाइनेछ । यसैगरी फेब्रुअरी २५ तारिख तरवार निल्नेहरूको सम्मानमा ‘वल्र्ड सोर्ड सलोअर्स डे’ मनाइन्छ । नयाँ मदिराको नयाँ बोतल खोल्ने दिवस पनि यही दिन पर्छ ।