दोस्रो विश्वयुद्धताका जर्मनीका तानाशाह एडोल्फ हिटलरले प्रयोग गरेको टेलिफोन २ करोड ५७ लाख ५८ हजार रुपैयाँमा लिलाम भएको छ । मेरिल्यान्डस्थित एलेकजेन्डर हिस्टोरिकल अक्सनमा सम्पन्न उक्त लिलामीमा टेलिफोन सकार्ने व्यक्तिको नाम भने गोप्य राखिएको छ । रानुल्फ रेनरका अनुसार दोस्रो विश्वयुद्धताका हिटलरले उक्त फोन बंकरमा बस्दा प्रयोग गर्थे भने उनी जहाँ–जहाँ जान्थे फोनलाई पनिसँगै लान्थे ।
रातो रंगको उक्त फोनमा नाजीहरूले प्रयोग गर्ने स्वस्तिक चिन्ह तथा हिटलर स्वयंकै नाम कुँदिएको थियो । रानुल्फका बुबा राल्फ रेनर दोस्रो युद्धताका ब्रिटिस सेनामा थिए । हिटलरले सामूहिक हत्या गर्न बनाएको बंकर रहेको क्षेत्र रसियन सेनाले कब्जा गरेपछि उक्त फोन र कुकुरको मूर्ति फेला परेका थिए । ती सामग्री आफ्ना पितालाई रसियन सेनाले उपहारका रूपमा दिएको रानुल्फको दाबी छ । लिलामका क्रममा उक्त फोनको नाम ‘हिटलर मोबाइल डिभाइस अफ डिस्ट्रक्सन’ राखिएको थियो ।