साप्ताहिक संवाददाता
२०७१ सालमा होली खेल्ने क्रममा चितवनमा तीव्र गतिमा बाइक हुक्याउँदा दुई जनाको ज्यान गयो । रत्ननगर नगरपालिकास्थित बद्रेनीमा होली मनाएर फर्कने क्रममा तीव्र गतिमा कुदाइएको बाइक अचानक अनियन्त्रित भएर दुर्घटना हुँदा १७ वर्षीय विवेक दराई तथा १५ वर्षका अर्जुन महतोको मृत्यु भयो भने उनीहरूका एक जना साथी घाइते भए ।
२०७० सालको होलीका क्रममा विभिन्न उच्छृंखल गतिविधिमा संलग्न भएको भन्दै प्रहरीले उपत्यकाका तीन जिल्लाबाट ४ सय ६७ जनालाई पक्राउ गरेको थियो । २०७२ सालको होलीका क्रममा प्रहरीले अवाञ्छित एवं उच्छृखल गतिविधि गरेको भन्दै २ सय २६ जनालाई नियन्त्रणमा लिएको थियो । गत वर्षको होलीका क्रममा मापसे गरेर सवारी साधन चलाउने एवं ट्राफिक नियम उल्लंघन गर्ने १४ सय ३२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको थियो ।
रंग र खुसीको पर्वका रूपमा चिनिने होलीमा उच्छृंखल गतिविधि गर्ने, लोला हान्ने, जबरजस्ती रंग दल्ने, मादक पदार्थ तथा लागू औषध सेवन गर्ने, तीव्र गतिमा सवारी चलाउने एवं बढी उत्साहित हुने क्रममा विभिन्न दुर्घटना हुन्छन् । जोसमा होस नपुर्याउँदा होलीले कतिलाई प्रहरी खोरमा पुर्याउने गरेको छ भने कतिलाई आँसु र पीडा दिएर जाने गरेको विगतका होलीमा घटेका घटनाक्रमले देखाउँछन् ।
त्यतिमात्र होइन, पछिल्ला वर्षहरूमा होलीका क्रममा मापसे गरेर सवारी चलाउँदा घाइते हुने र ज्यान गुमाउनेसम्मका तथ्य नयाँ रहेनन् । काठमाडौंलगायत खुला स्पेस कम भएका केही सहरी इलाकामा छतबाट खसेर ज्यान गुमाएका घटना पनि उत्तिकै छन् । सन् २०१२ मा काठमाडौंको काँडाघारीमा तीनतले घरको छतमा होली खेलिरहेकी १९ वर्षीय सिम्रन कार्कीको छतबाट खसेर मृत्यु भएको थियो ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी छविलाल जोशी होलीका क्रममा हुने यस प्रकारका घटनामा सबैले सचेतना अपनाउनुपर्ने कुरा बताउँछन् । ‘मापसे गरेर सवारी चलाउने, महिलाहरूमाथि जथाभावी लोला हान्ने र रंग दल्ने तथा उच्छृखल गतिविधि गर्नेजस्ता अवाञ्छित घटना घट्ने गरेका छन्,’ जोशी भन्छन्, ‘होली खुसीको पर्व हो, दुर्घटनाबाट जोगिन सचेतना अपनाउँदै होली मनाऔं ।’
त्यसो त होलीमा भाङ, मदिरा र नशालु पदार्थको सेवन गरेर झगडा गर्ने, होहल्ला गर्ने, महिलामाथि अभद्र व्यवहार गर्ने, लोला प्रहार गर्ने घटना पनि उत्तिकै हुन्छन् । यसले सबैलाई जोड्ने सांस्कृतिक महत्वको पर्व होलीमै समाजलाई विभाजित गर्ने एवं समाजमा विवाद उत्पन्न गर्नेजस्ता विकृति भित्र्याउन थालेको देखिन्छ । फोहोर पानी छ्याप्ने, केमिकलयुक्त रंगहरू दल्ने कृत्यले मानिसको छाला र स्वास्थ्यमा पनि समस्या निम्त्याएको पाइन्छ ।
होलीको मौका छोपेर चोरी गर्ने र लुटपाट हुने सम्भावना पनि उत्तिकै हुन्छ । काठमाडौं प्रहरीले होलीका क्रममा हुने यस प्रकारका आपराधिक गतिविधिलाई लक्षित गर्दै विशेष सुरक्षा योजनासमेत तयार पारेको छ।
होलीको सुरक्षा योजना
काठमाडौं प्रहरीले होलीलाई मध्यनजर गर्दै काठमाडौंका १४ वृत्तबाट अनुगमन टोली खटाउनेछ भने २० वटा मोबाइल टोली परिचालित हुनेछन् । यसैगरी ४६ वटा सीआरबी तथा १ सय ७ वटा पिकेट पनि खटाइनेछ । काठमाडौं प्रहरी परिसरकाअनुसार स्ट्राइकिङका लागि तीनवटा प्रहरी टोली खटाइनेछ । त्यसबाहेक काठमाडौंमा ट्राफिक महाशाखाको समन्वयमा चेकिङ एवं ट्राफिक नियम पालना गर्ने गरी प्रहरीले छुट्टै सुरक्षा योजना तयार पारेको छ ।
यस्तै प्रहरीले होली कार्यक्रम हुने काठमाडौंको बसन्तपुर, त्रिपुरेश्वर, क्षेत्रपाटी, टुँडिखेल, भृकुटीमण्डप, नक्साल पार्टी प्यालेस, कुलेश्वर, नयाँ बानेश्वर आदि स्थानमा सुरक्षाका लागि छुट्टै टोली परिचालन हुने जनाएको छ । होलीमा जबरजस्ती लोला हान्ने तथा रंग दल्नेहरूलाई नियन्त्रणमा लिएर स्थानीय प्रशासन ऐन–२०२८ तथा सार्वजनिक अपराध कसुर ऐन–२०२७ अनुसार कारबाही अघि बढाइनेछ ।
होलीमा के गर्दा प्रहरीले पक्राउ गर्छ ?
होलीमा हुने अपराध एवं दुर्घटना नियन्त्रण गर्न प्रहरीले होलीमा गर्न नपाइने कामहरूको सूची नै तयार पारेको छ । प्रहरीको उक्त सूचीअनुसार होलीमा अनुहार नै नचिनिने गरी रंग दलेर हिड्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गर्ने भएको छ । जबरजस्ती कसैमाथि रंग छ्पाप्ने, पानी हान्ने, अर्काको घरमा जबरजस्ती पसेर होली खेल्नेहरू पनि प्रहरी फन्दामा पर्नेछन् ।
सडकमा डोरी टागेर चन्दा असुल्ने, महिला एवं पर्यटकहरूसँग अभद्र व्यवहार गर्नेहरू पनि प्रहरी कारबाहीमा पर्न सक्छन् भने चाडपर्वको नाममा जुवा तास खेल्नेहरू पनि प्रहरी निशानामा रहनेछन् । प्रहरीले महिलामाथि दुव्र्यवहार हुन नदिन दुव्र्यवहारमा संलग्नलाई पक्रेर कानुनबमोजिक कारबाही अघि बढाउनेछ । होलीमा मादक पदार्थ एवं लागू औषध सेवन गर्ने, होहल्ला र झैझगडा गर्ने कार्यलाई पनि प्रतिबन्धित गरिएको छ । यसैगरी, जथाभावी सार्वजनिक सवारी चलाउने, गाडीको हुडमा बस्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, बिना हेल्मेट मोटरसाइकल चलाउनेहरूलाई पनि नियन्त्रणमा लिइने प्रहरीले जनाएको छ ।
इच्छाविपरीतका कार्य प्रहरीले रोक्छ
छविलाल जोशी, काठमाडौं प्रहरी प्रमुख
होलीको सुरक्षा व्यवस्था कसरी मिलाइँदै छ ?
हामीले महाशिवरात्रिको सुरक्षा व्यवस्थामा सफलता हासिल गरेका छौं । त्यसरी नै होलीको सुरक्षा योजना निर्माणका लागि हामी सबै अधिकारीहरू बस्यांै, पहिलेको सुरक्षा योजना हेर्यौं । पहिलेको योजना अन्तर्गत जसले राम्रो रिजल्ट दिएको छ, त्यसलाई निरन्तरता दिएका छौं । केही नयाँ योजना पनि छन् । महाशिवरात्रिझैं होलीको सुरक्षा योजनामा पनि हामी सफल हुनेछौं ।
होलीको मुख्य सुरक्षा चुनौती के हो ?
होलीमा विशेष गरी लोला हान्ने, मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउने तथा महिलाहरू विरुद्ध दुव्र्यवहार हुने गरेको देखिन्छ । त्यसैले हामीले यी समस्या नियन्त्रणलाई पहिलो प्राथमिकता दिँदै होलीको सुरक्षा योजना तयार पारेका छौं । अन्य पुलिसिङका कामहरू त नियमित रूपमै हुनेछन् । जबरजस्ती नहोस् तथा सडकहरू चुस्त रहुन् भन्ने कुरामा ध्यान पुर्याइनेछ भने ट्राफिक नियम उल्लंघन गर्ने, बाइकमा तीन जना चढ्ने जस्ता कुरा नियन्त्रण गर्न ध्यान दिन्छौं । यसका लागि हामीले ट्राफिक महाशाखासँग समन्वय गरेर अघि बढ्ने सोच बनाएका छौं ।
होलीमा कस्ता प्रकारका अपराध बढी हुन्छन् ?
विशेष गरी यही नै अपराध हुन्छ भन्दा पनि केही मानिस मादक पदार्थ सेवन गरेर झगडा गर्ने, लागू पदार्थ प्रयोग गर्ने, महिलाप्रति दुव्र्यवहार गर्ने, झैझगडा गर्ने काम बढी हुन्छ भने दुर्घटनाको क्रम पनि
वृद्धि हुन्छ ।
लोला हान्ने कार्य होलीका क्रममा बढी देखिन्छ । यसमा नियन्त्रणका लागि प्रहरीले के गर्छ ?
जबरजस्ती लोला हान्नेहरूलाई प्रहरीले निरुत्साहित गर्छ । महिलामाथि विशेष गरी जबरजस्ती लोला हान्नेलाई कारबाही हुन्छ । साथीभाइ मिलेर सहमतिमा होली खेल्ने कुरा प्रहरीको आपत्तिको विषय होइन् । इच्छाविपरीतको कार्य हामी रोक्छौं ।
घरको छतबाट फोहोर पानी पनि फ्यालिएको देखिन्छ ? यसमा प्रहरीले कस्तो कदम चाल्छ ?
यो जनचेतनाको विषय हो । यदि त्यस्तो गरिएको सूचना आयो भने प्रहरीले कारबाही गर्छ तर छतछतमै गएर नियन्त्रण गर्न गारो छ । यसमा सामाजिक संघ–संस्थाहरूले जनचेतना जगाउनु जरुरी देखिन्छ ।
होलीमा जबरजस्ती नगर्न गृहको आग्रह
गृह मन्त्रालयले होलीका अवसरमा इच्छाविपरीत जबरजस्ती रंग दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहोर छ्याप्ने तथा महिला एवं बालबालिकालगायतका बाटोमा हिँड्ने व्यक्तिहरूलाई दु:ख, हैरानी तथा कष्ट दिने कार्य नगर्न आग्रह गरेको छ । गृहले एक विज्ञप्तिमार्फत यस्ता कार्य प्रचलित कानुनविपरीत रहेको उल्लेख गर्दै कसैको इच्छा र स्वीकृतिविपरीत रंग दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहोर पानीले छ्याप्ने तथा आफ्नो गन्तव्यमा हिँडिरहेकाहरूलाई दु:ख र हैरानी दिने काम नगर्नसमेत आग्रह गरेको छ ।
गृह मन्त्रालयले वातावरण तथा स्वास्थ्यमा प्रतिकूल असर पार्ने प्लास्टिकजन्य लोलाको आयात एवं बिक्री वितरणसमेत नगर्न भनेको छ । गृहका प्रवक्ता बालकृष्ण पन्थीले कसैले इच्छाविपरीत यस्ता कार्य गरे प्रचलित कानुनअनुसार कारबाही हुने जानकारी दिएका छन् । २९ फागुनमा २९ वटा पहाडी जिल्लामा होली मनाइँदैछ भने ३० फागुनमा तराईमा राष्ट्रिय पर्वका रूपमा होली मनाइँदैछ ।