(एउटी आमाका लागि हिजो भर्खर मैले लेखिदिएको पत्र, जुन आफैँले खाममा टिकट टाँसी डाँक गरिदिएँ।)
आत्मीय छोरा,
शुभाशीर्वाद !
हामी ठीक छांै । आशा गर्छौं कि तिमीहरू पनि ठीकै छौ । बुहारीलाई त देखेका छैनौँ, अहिले त छोरी पनि जन्मिएकी छ रे, बधाई अनि शुभकामना । यसपालिको आमा ख्वाउने औंसीमा मन साह्रै खिन्न भयो । त्यसैले यो पत्र लेखेर मन हलुका बनाउन खोज्दैछु ।
तिमी अमेरिका पुगेको पनि गएको फागुनमा १० वर्ष पुग्यो । १० वर्षमा गाउँ धेरै बद्लिएको छ । अझ दुई वर्षअघिको भूकम्पपछि त गाउँमा युवायुवती कोही पनि छैनन् । सबै हामीजस्ता बूढाबूढी र साना बालबालिका मात्र छन् । गाउँका १४ घरमध्ये ९ घर कोही बेसीमा त कोही सहरतिर डेरा सरेका छन् । माने गाउँ र बेखसिम्ले दुवै यसैगरी पातलिएका छन् । कटेरोमा बसेको यो वैशाखदेखि पूरै दुई वर्ष पुग्यो । नयाँ घर बनाउन सकेका छैनाँै । अस्ति चैत २२ गतेको हुरीले कटेरोको जस्ता उडाएर पाखातिर पुर्यायो । त्यही छानो बनाउन लाग्दा लडेर तिम्रो बुवा ओछ्यान पर्नुभएको छ । स्वास्थ्यचौकीको डाक्टरले सहर लगेर खुट्टामा प्लास्टर लगाउनुपर्छ भनेका छन्, मैले कसरी लिएर जाऊँ ? दुई हप्तापछि धनजितेको माइलो छोरो कतारबाट आउँदै छ रे, त्यसले लगिदिन्छ कि भनेर कुरी बसेका छाँै ।
तिमीले थाहा पायौ होला, बहिनी–ज्वाइँ पनि यसपाला अस्ट्रेलिया गए । ज्वाइँले सुख दिएर राखेका छन् रे । भाग्यमानी रै’छे मोरी । कान्छो काठमाडौंमै छ । अधिकृत भएको छ । दुई वर्ष भयो घर नआएको । धेरै नै व्यस्त रहन्छ त्यो, यसपाला दसैंमा त आउँछ कि भन्ने आश छ ।
०७४ सालको आँैसीजस्तो नरमाइलो कुनै भएन । पोहोरसम्म कम्तीमा बहिनी आउँथी, यसपालिदेखि ऊ पनि विदेश पुगी । तीन–तीन जना छोराछोरी हुँदा पनि औँसीको दिन कसैको अनुहार देख्न नपाउँदा ज्यादै दु:ख लाग्दो रहेछ, सोचँे— मैले किन अरू तीन जना सन्तान जन्माइनँ ? बुवा बिस्तरामा पर्नुभा’छ, दुईवटा गाई तथा पाँचवटा बाख्रा छन् । अस्तिको पानीले बारी मकै छर्न ठिक्कले भिजेको छ । काम भ्याइ–नभ्याइ छ, तर गर्ने कोही छैनन् । ज्यालामा पनि कोही पाइँदैनन् । मनले हरेस खाइसकेको छ, भित्रैदेखि काम गर्ने आँट आउँदैन । आओस् पनि कसरी ? ६६ वर्ष पुगिसकेकी छु ।
कान्छोले फोन पनि गरेको छैन । औँसीको दिन कान्छो त आउला कि भनेर साँझसम्मै आँखा तानीतानी मुढे बगरतिर हेरिरहँे । चेलीबेटी तथा नातिनातिनाका कारण गाउँलेका घर–आँगन उज्याला थियो, हाम्रो भने दिन नै फलँैचामा बसेर आँखा डुलाउँदा–डुलाउँदै बित्यो । तल्ला गाउँका माझी हिँड्दा पनि कतै आफ्नै छोरो आयो कि भन्ने लागिरह्यो । कसै न कसैको फोन त अवश्य बज्ला भनेर दुवैले आशा गर्न छोडेनांै, तर फोन बज्दै बजेन । भोलिपल्ट बुवाले कान्छोलाई फोन गर्दा बुहारीले उठाई । आउने होइन भन्दा कुन्नि कति महिनाको ट्रेनिङमा बाहिर ग’को छ रे । अमेरिकै आ’को भए खोजिनिती गरेर भेट्नु । तिम्रो स्वर मात्र सुन्न पाए नि के–के न होलाजस्तो भा’छ, तर तिम्लाई यो मोबाइलबाट फोन नै लाग्दैन ।
कुनै छोराछोरीले फोन नगरे पनि मलाई गर्व छ । बिर्खेकी छोरी बिनिताले हिजो भनेकी तिमीले मेरो तस्बिर फेसबुकमा राखेर मातातीर्थे आँैसीको शुभकामना दिएका छौ रे । कत्ति कुइरेहरूले मेरो फोटो मन पनि परा’का छन् रे । बिनिता भन्दै थिई— म त सेलेब्रिटी भैसकेँ रे । खै के हो, त्यो भन्या राम्रै होला । उता बहिनीले पनि मलाई कभर फोटोमै हालेकी छे रे । म त अमेरिकामा मात्र होइन, अस्ट्रेलियामा पनि फेमस भैसकेँ रे । एकै दिन भए पनि अन्तर्राष्ट्रिय व्यक्तिहरूले मेरो तस्बिर हेरेछन्, गहकिला टिप्पणी पनि गरेका छन् रे । फेसबुक र इन्टरनेटभरि मेरै हल्लीखल्ली छ रे, यो साँच्चै नै गर्वको कुरा हो । तिमीहरूको यस्तो असीम माया देखेर मन विह्वल भएको छ ।
तिमी पनि ठूलो कम्पनीको मालिक भएका छौ रे । छोरी पनि जन्मिएकी छ भनेर सुन्दा धेरै खुसी लाग्यो । छोराछोरीको कति माया अनि न्यास्रो लाग्छ, तिमीले पनि अब बुझ्दै जानेछौ । अन्त्यमा, हामी यता जे–जसो बाँचेकै छौ, सुर्ता नलिनु । अझ ठूलो मान्छे हुनु । दिनभरि धित मर्ने गरी कुरा गर्न मन लागेको छ । कामना गर्छु, दैवले त्यो दिन छिट्टै ल्याउनेछन् । मुरी–मुरी माया ।