मोरङको कटहरी–१ आदर्श टोलमा गत चैत ४ गते सासू–बुहारीको हत्या हुनुमा पैसा, यौनसम्बन्ध र स्वार्थ मुख्य कारक रहेको खुलासा प्रहरीले गरेको छ । उक्त घटनामा इन्द्रचन्द्र डाँगाकी ४४ वर्षीया श्रीमती दीपा निरौला तथा छोरा राम डाँगाकी २३ वर्षीया श्रीमती अस्मिता भट्टराईको निधारमा गोली हानी हत्या भएको थियो ।
डाँँगाको परिवारसँग मिटर ब्याजमा रकम लिने र क्यासिनो तथा यौनमा रमाउने गरेका कारण भतिजा विष्णु ऋणमा डुबेको र सोही कारणले यो हत्याको षड्यन्त्र रचिएको प्रहरीको अनुसन्धान प्रतिवेदनले जनाएको छ । मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीका अनुसार भारतीय भएको कागजात देखाउँदै नेपालका विभिन्न क्यासिनोमा पुगी जुवा खेल्ने विष्णुले इन्द्रचन्द्रसँग लिएको पैसाको सावाँ तथा ब्याज तिर्नै नसक्ने अवस्थामा पुगेको थियो ।
विष्णुका पिताले पनि घरायसी समस्याका कारण करिब चार महिनाअघि विष सेवन गरी आत्महत्या गरेका थिए । प्रहरीका अनुसार ऋणमा डुबेपछि विराटनगर–१२ मा ८२ लाखमा किनेको घर–जग्गा ६१ लाखमा बेचेका विष्णुले २० लाख काका इन्द्रचन्द्र डाँगालाई तिरेका थिए भने अरू पैसा क्यासिनोमा जुवा खेलेरै सकेका थिए । विष्णुलाई इन्द्रचन्द्रको परिवारले पैसा तिर्न दबाब दिँदै आएकोमा उक्त दबाब खेप्न नसकेपछि उनले उक्त आपराधिक योजना बनाएको प्रहरीको भनाइ छ ।
यसरी गरे हत्या
विष्णुले श्रीरामसँग ऋण लिएपछि उनीहरूबीच मनमुटाव बढ्दै गएको थियो । विष्णुले सुरुमा ऋणबाट उम्कन श्रीरामको हत्या गर्ने योजना बनाए । त्यसका लागि उनले आफ्ना नजिकका साथी शुभम लखौटियासँग सल्लाह पनि लिए । विष्णुले शुभमसँगै गएर विराटनगर बजारभन्दा २० किलोमिटर दक्षिण सीमापारि फारबिसगन्जमा एक थान पेस्तोल तथा ६ थान गोली किने । पेस्तोल र गोली उनले आफ्नो घरमै लुकाएर राखेका थिए ।
केही समयपछि उनीहरूले उक्त योजना परिवर्तन गरे । विष्णुले श्रीरामलाई होइन, परिवारलाई सखाप पारेर उनलाई सजाय दिनुपर्छ भन्ने योजना बनाए । विष्णु ३ चैतमा काकी तथा भाउजूको हत्या गर्न उनीहरूको घर गए । छिमेकीहरू बाक्लै भएकाले उनले गोली हान्ने आँट गरेनन् । ४ चैतमा उनले एसएमएस गरेर दाजु श्रीरामको चरित्रका सम्बन्धमा प्रमाण दिने भन्दै भाउजू अस्मितालाई आफू भएको स्थानमा बोलाए ।
हत्या भएको घर तथा प्रयोग गरिएको पेस्तोल
अस्मिता घरबाहिर निस्किएपछि विष्णु घरभित्र पसेर काकी दीपालाई धम्की दिँदै पेस्तोल तेस्र्याएर सुनका गहना लुटे । त्यसपछि गोली हानेर काकीको निर्मम हत्या गरे । उनले पुन: एसएमएस गरेर भाउजू अस्मितालाई घर जान आग्रह गरे । अस्मिता घर फर्किन् । त्यहाँ उनले सासूको शव देखिन् । पूरै घर रगताम्मे थियो । घरभित्रै लुकेर बसेका विष्णुले पेस्तोल ताकेर अस्मिताको सुनका गहना लुटे अनि गोली हानेर उनको पनि हत्या गरे ।
त्यसपछि उनी पर्खाल नाघेर सिटी रिक्सा चढी आफ्नो घर पुगे । घरमा दीपा र अस्मिताको मोबाइल पूजा कोठामा र पेस्तोल रंगको ड्रम भित्र लुकाए । कर्सियामा गोलाको कारोबार गर्ने इन्द्रचन्द्र डाँगा जब साँझपख घर आए, तब उनले श्रीमती र बुहारीको हत्या भएको देखे । उनले तत्काल मोरङ प्रहरीलाई खबर गरे, छोरालाई बोलाए । छोरासँगै अभियुक्त विष्णु पनि त्यहाँ पुगे । बीभत्स हत्या भएको भन्दै काका र दाजुसँगै उनी पनि रुवाबासीमा सहभागी भए । यो घटनाक्रममा विष्णुले प्रहरीको सहयोगी बनेर आफूलाई निर्दोष देखाउन निकै प्रयास गरे ।
(विष्णुले प्रहरीलाई दिएको बयानमा आधारित)
विष्णु र शुभम जेल चलान
हत्यामा संलग्न रहेको आरोपमा विराटनगर– ९ बस्ने डाँगाकै भतिजा २६ वर्षीय विष्णुकुमार डाँगा तथा २१ वर्षीय शुभम लखौटियालाई मोरङ प्रहरीले पक्राउ गरी मुद्दा चलाएकोमा दुवै जना कारागार चलान भएका छन् । जिल्ला अदालत मोरङको आदेशमा उनीहरू वैशाख १२ मा कारागार चलान भएको मोरङ प्रहरीले जनाएको छ ।
अर्का अभियुक्त फरार
सासू–बुहारीको हत्यामा संलग्न एक जना भारतमा भएकाले पक्राउ गर्न नसकिएको प्रहरीले बताएको छ । मोरङका एसपी सन्दीप भण्डारीले ती व्यक्ति हतियार बिक्री गर्ने भएको र भारतले पक्राउ गर्न नदिएको बताएका छन् । सासू–बुहारीको यो हत्याकाण्डमा सुरुमा कुनै कारण फेला पार्न नसकेको मोरङ प्रहरीले मुख्य अभियुक्त पक्राउ गरेपछि तीनबटा किटानी जाहेरी दर्ता भएको छ । पीडत इन्द्रचन्द्र डाँगा र उनका छोरा, दीपाको माइतीपक्षबाट गायत्री निरौला र अस्मिताका बाबु रामकृष्ण भट्टराईले अलग–अलग जाहेरी प्रहरीमा दिएका छन् । प्रहरीले तिनै जाहेरीका आधारमा कर्तव्य ज्यान मुद्दामा विष्णु र शुभमविरुद्ध अभियोग–पत्र तयार पारी मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।