सिन्धुपाल्चोकका तीन नगरपालिकाहरूमध्ये समृद्ध नगरपालिका बन्ने बाटोमा अग्रसर छ । मेलम्ची, भोटेचौर, हैबुङ, थकनी तथा दुबाचौर गाविस मिलेर यो नगरपालिका निर्माण भएको हो ।
मेलम्ची नगरपालिकामा १ सय ४ जना उम्मेदवार चुनावी मैदानमा छन् । नगरको मेयर/उपमेयरमा कांग्रेसबाट आइतमान तामाङ र सविता गुरुङ, एमालेबाट डम्बर अर्याल र भगवती नेपाल, माओवादी केन्द्रबाट श्याम खड्का र मुना ढकाल तथा राप्रपाबाट फणेन्द्र दाहाल र कुमारी स्याङतान प्रतिस्पर्धामा छन् । मेलम्चीमा कांग्रेस, माओवादी र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ भने राप्रपाका फणेन्द्र दाहाल पनि चर्चामा छन् ।
पर्यटकीय एवं व्यापारिक हबका रूपमा विकास हुँदै गएकाले यो नगरपालिकाको स्थानीय सत्ता हत्याउन प्रमुख दलहरू कम्मर कसेर लागेका छन् । बहुचर्चित मेलम्ची खानेपानी, धुर्मुस–सुन्तलीद्वारा निर्माण गरिएको एकिकृत बस्ती गिरानचौर, प्रसिद्ध पाँचपोखरी धार्मिक स्थल जाने पदमार्ग पनि मेलम्ची नगरपालिका भएरै जान्छ । इन्द्रावतीको तीरमा रहेको सुन्दर एवं मनोरम मेलम्ची बजार हुँदै प्रख्यात मन्दिर फट्केश्वर मन्दिर, महादेव कुण्ड मन्दिर जाने बाटो पर्छ । मेलम्ची नगरपालिकामा पर्ने भोटेचौरको चियाबगान तथा हैबुङको रोजमेरी खेती प्रसिद्ध छन् भने मेलम्ची बजार, तालामाराङ, धुसेनी एवं ज्यामिरे कफीखेतीका लागि पकेट क्षेत्र मानिन्छ । व्यापारिक रूपमा प्रसिद्धि कमाएको मेलम्ची नगरपालिकाको मेलम्ची बजार जिल्लामै नाम कमाएको बजारमध्ये एक हो ।
मेलम्चीको जमिन उर्वर छ । यहाँ ७ दशमलव ५ मेगावाटको इन्द्रवती जलविद्युत् आयोजना सञ्चालनमा आइसकेको छ । यो क्षेत्रमा रिभर साइड रिसोर्ट, रक क्लाइम्बिङ, र्याफ्टिङ, क्यानोनिङ, माउन्टेन बाइक राइडिङजस्ता पर्यटकीय सम्भावनाका साथै जल पर्यटनको प्रबल सम्भावना छ ।
जनसंख्या : ४५ हजार ३ सय ४३
क्षेत्रफल : १ सय ५८ दशमलव १७ वर्ग किलोमिटर
मतदाता : ३१ हजार ९ सय ८७
वडा संख्या : १३