नवनिर्वाचित दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनको नेपाल साइनो लोभलाग्दो छ । नेपालसँगको उनको यो नाता सन् २००४ मा समाजकल्याणका सिनियर प्रेसिडेन्टल सेक्रेटरी हुँदा देखिकै हो । त्यतिबेला लामै समयका लागि नेपाल आएका मुन आफ्नो देशमा निर्वाचन हुने भएपछि आफ्नो बसाई छोट्याएर स्वदेश फर्किएका थिए । पटक–पटक नेपाल आउने प्रयत्न गरे पनि समय अभावका कारण नेपाल भ्रमण गर्न नपाएका मुन सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि फेरि एकपटक नेपाल आए ।
उनले नेपालमा भूकम्पले भत्काएका केही विद्यालय पुनर्निर्माणका लागि सहयोगसमेत गरेका छन् । त्यति बेला उनी नेपाल आउँदा दक्षिण कोरियाली सञ्चार माध्यमहरूले कुनै सुईको पाएका थिएनन् । नेपाली सञ्चार माध्यमहरूले उनी नेपालमा भएको समाचार बाहिर ल्याएपछि विश्वभर त्यसको चर्चा भएको थियो । मुनले नेपाल आएर भूकम्प प्रभावितहरूको अवस्था अवलोकन मात्र गरेनन्, भूकम्पले भत्काएका संरचनाहरूको पुनर्निर्माणमा आफैं खट्नेदेखि राहत संकलन गर्ने कामसम्ममा सक्रियता देखाए ।
भूकम्पमा नेपालीहरूलाई सहयोग गर्न आइपुगेका मुनका बारेमा उनी राष्ट्रपति निर्वाचित भएकै दिन नेपाली टाइम्सको अनलाइन संस्करणमा एउटा तस्बिर सार्वजनिक गरिएको छ । टाइम्स लेख्छ– मुनले भूकम्पका बेला नेपाल आएर स्वयंसेवीका रूपमा सेवा गरेका थिए भने उनले केही राहत पनि बाँडेका थिए । मुनको सहयोगमा नुवाकोटको बेलकोटस्थित आरुखर्क माध्यमिक विद्यालय निर्माणाधीन छ । मुन आफंै उक्त विद्यालय निर्माणमा सहभागी भएर श्रमदान समेत गरेका थिए ।
‘उनी ज्यादै सामान्य र मनकारी व्यक्ति हुन्’ कोरियामा कार्यरत नेपाली श्रमिक प्रतिनिधि भक्तराम लामिछाने भन्छन्– ‘नेपालमा उनले सामान्य नेपालीहरूसँगै आफंैले इँटा बोक्ने काम गरेका थिए ।’ मुन विद्यालय पुनर्निर्माणदेखि भूकम्पले क्षति पुर्याएको लाङटाङ ट्रेकको पुनर्निर्माणमा समेत सरिक थिए । लाङटाङ ट्रेक पुनर्निर्माणमा नेपाली तथा कोरियन दुवै समूहले मिलेर काम गरेका थिए ।