गोलाप्रथाबाट विजयी
सल्यानको ढोरचौर गाउँपालिका वडा नं.४ मा कांग्रेसका दिनेश बीएम तथा एमालेका देवेन्द्र रोकाले बराबर मत ल्याएपछि गोलाप्रथाबाट नतिजा टुंगो लगाउनुपर्यो । ती दुवै उम्मेदवारले बराबर ३ सय २१ मत प्राप्त गरेका थिए । वडाध्यक्ष चयनका लागि गरिएको उक्त गोलाप्रथामा कांग्रेसका दिनेश बीएमले जित हासिल गरे ।
झिनो मतान्तर
डोल्पाको मुड्केचुला तथा जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रले झिनो मतको अन्तरले विजयी प्राप्त गर्यो । डोल्पाको मुड्केचुला गाउपालिकामा माओवादी केन्द्रका दत्तबहादुर शाहीले निकटतम प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायभन्दा दुई मत बढी ल्याए । त्यसैगरी, जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रका रजबहादुर शाही एमालेका प्रत्यासी भैबहादुर रोकायाभन्दा तीन मत बढी ल्याएर अध्यक्ष निर्वाचित भए ।
नवलपरासीको बुङदिकालिकामा कांग्रेसका दुर्गाबहादुर रानाले एमालेका श्याम श्रेष्ठलाई ९२ मतले हराए । नवलपरासीकै देवचुली नगरपालिकाको मेयरमा कांग्रेसका पूर्णकुमार श्रेष्ठले एमालेका हरि न्यौपानेलाई ६९ मतले पराजित गरे । स्याङ्जाको अर्जुनपौचारी गाउँपालिकाको उपाध्यक्षमा एमालेकी टिममाया गुरुङले कांग्रेसकी माया केसीलाई २६ मत अन्तरले हराइन् । यही गाउँपालिकाको प्रमुखमा कांग्रेसका दीर्घनारायण अर्यालले ७८ मत अन्तरले एमालेका मोहन
केसीलाई हराए ।
चिन्ह नभएको मतपत्र
भक्तपुर नेपाल मजदुर किसान पार्टीको राम्रै प्रभाव भएको जिल्लाका रूपमा परिचित छ, जहाँ उम्मेदवारको चिन्ह नै नभएको मतपत्र वितरण गरिएको पाइयो । चाँगुनारायण नगरपालिकामा नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह ‘मादल’ नभएको मतपत्र वितरण गरिएको र त्यस्तो मतपत्रमा २२ जना मतदाताले मतदान गरेको विषयमा विवाद उत्पन्न भै पुन: मतदान गर्नुपर्यो ।
उम्मेदवार नभएको ठाउँमा भोट
ललितपुर महानगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भयो जसअनुसार एमालेले मेयर तथा राप्रपाले उपमेयरमा उम्मेदवारी दिए । ललितपुर महानगरमा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी परेको थिएन, तर मतगणना गर्दा उपमेयरमा एमालेले निकै राम्रो मत प्राप्त गर्यो । उम्मेदवारी नै नदिएको एमालेलाई उम्मेदवारी दिएको राप्रपाभन्दा बढी मत प्राप्त भएको देखेर सबै आश्चर्य चकित मात्र भएनन् त्यसले चुनावी गठबन्धनको धज्जी समेत उडायो ।
कम मतको जित
मनाङको चामेस्थित चामे गाउँपालिकामा एमालेका लोकेन्द्रबहादुर घले जम्मा २ सय १४ मत ल्याएर प्रमुखमा निर्वाचित भए । उनकी निकटतम प्रतिद्वन्द्वी अनिता लामाले १ सय ७३ मत प्राप्त गरेकी थिइन् । उक्त गाउँपालिकामा जम्मा ५ सय ११ मतदाता मात्र छन् । उपाध्यक्षमा कांग्रेसका मनिन्द्रजंग गुरुङले त १ सय ६९ मतमै चुनाव जिते । उनले ९ मतको अन्तरमा एमालेकी टिकनीदेवी गुरुङलाई हराएका थिए ।
स्वतन्त्रले मारे बाजी
यो निर्वाचनमा पनि केही स्वतन्त्र उम्मेदवार प्रमुख पदमा निर्वाचित भए । डोल्पाको डोल्पोबुद्धमा स्वतन्त्र उम्मेदवार पेम्बा गुरुङ, छार्का ताङसोङमा सोनाम गुरुङ तथा मुस्ताङको दालोमेमा राजु विष्टले स्वतन्त्र ढंगले निर्वाचित भएका हुन् । सोनामले २४ मतको अन्तरमा एमालेका तोता गुरुङलाई हराएका थिए ।
श्रीमती उपमेयर, श्रीमान् वडा अध्यक्ष
रुकुममा स्थानीय तहको निर्वाचनमा श्रीमान् वडाअध्यक्ष, श्रीमती उपमेयर तथा ससुरा–ज्वाइँ मेयरमा विजयी भएका छन् । रुकुमको मुसीकोट नगरपालिकाको उपमेयरमा प्रेमकुमारी सुनार केसी तथा वडा नम्बर दशको वडा अध्यक्षमा उठेका उनका श्रीमान् गोप्यश्वर केसी विजय भए । दुवैजना माओवादी आन्दोलनमा संलग्न थिए । गोप्यश्वर २०४३ देखि तथा प्रेमकुमारी २०४९ देखि राजनीतिमा सक्रिय रहँदै आएका छन् । माओवादी जनयुद्धकै क्रममा उनीहरूबीच अन्तरजातीय विवाह भएको थियो ।
ससुरा–ज्वाइँ दुई नगरको मेयर
रुकुमको मुसिकोट नगरपालिका तथा आठबिसकोट नगरपालिकामा ससुरा–ज्वाइँले मेयरमा जित हासिल गरेका छन् । मुसिकोट नगरका मेयर देवीलाल गौतम तथा आठबिसकोट नगरपालिकाका मेयर गोर्खबहादुर केसी नाताले ज्वाइँ–ससुरा हुन् । उनीहरू दुवै जना माओवादी जनयुद्धमा सक्रिय थिए ।
चेपाङ वडाध्यक्ष
सीमान्तकृत चेपाङ समुदायबाट चितवनमा ५ जना चेपाङ वडाध्यक्ष निर्वाचित भएका छन् । एमालेबाट चार जना पञ्चबहादुर प्रजा चेपाङ, भूपेन्द्र प्रजा चेपाङ, कृष्णबहाुदर प्रजा चेपाङ, सूर्यप्रजा चेपाङ तथा कांग्रेसबाट अर्जुन प्रजा चेपाङ विजयी भएका हुन् । जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनामा दुई, कालिका नगरपालिकामा एक तथा राप्ती नगरपालिकामा दुई गरी पाँच जना चेपाङले वडाध्यक्षमा जित हात पारेका हुन् । जिल्लामा चेपाङ समुदायबाट ८६ जना उम्मेदवार थिए । चेपाङबाट १७ वटा वडाध्यक्ष तथा ६७ बटा वडा सदस्यमा उम्मेदवारी परेको निर्वाचन आयोगको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
कम उमेरकी उपमेयर
नुवाकोटको बेलकोटगढी नगरपालिकाको उपमेयरमा अत्यधिक मतसहित विजयी भएकी कविता ढुंगाना सबैभन्दा कम उमेरकी उपमेयर हुन् । २७ वर्षीया कविता व्यवस्थापनमा स्नातकोत्तर तथा कानुनमा स्नातक छिन् । नेकपा माओवादी केन्द्रबाट उपमेयर निर्वाचित कविताले बेलकोटगढीलाई नगरपालिकालाई नमुना नगर बनाउने कुरा बताएकी छिन् ।
सांसदको हार–जित
चितवन खैरहनी नगरपालिकाबाट नेकपा एमालेका लालमणि चौधरी तथा भक्तपुर नगरपालिकाबाट नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति मेयरमा निर्वाचित भए भने नेकपा माओवादी केन्द्रबाट मन्थली नगरपालिकाको मेयरमा उठेका तारानारायण श्रेष्ठ तथा गोरखाको गोरखा नगरपालिकामा नयाँ शक्तिका उम्मेदवार ज्ञानेन्द्र कुमाल पराजित भए । यी चारै जना पूर्वसभासद हुन् ।
कान्छी वडा सदस्य
ललितपुरको वडा नम्बर ३ मा दलित महिला सदस्यमा एमालेकी २४ वर्षीया रन्जु तोलाङ्गी निर्वाचित भइन् । यी कान्छी वडा सदस्य रन्जु निर्विरोध निर्वाचित भएकी हुन् ।
२ मतले विजयी
ललितपुर महानगरपालिका वडा नम्बर २२ मा नेकपा माओवादी केन्द्रका अम्बिराज शाक्य १ हजार २ सय ७२ मत प्राप्त गरेर वडा अध्यक्षमा विजयी भए । उनका प्रतिस्पर्धी एमालेका प्रेमभक्त महर्जन मात्र २ मत कम ल्याएर हार बेहोर्न बाध्य भए ।
३ मतले विजयी
स्याङ्जाको वालिङ नगरपालिका वडा नं. २ मा कांग्रेसका पोतप्रसाद लम्साल वडा अध्यक्षमा विजयी भए । लम्सालले मात्र ३ मतले एमालेका उम्मेदवारलाई पराजित गरेका थिए ।
शुन्य मत पाउनेहरू
काठमाडौं कागेश्वरी मनोहरा नगरपालिको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका दिव्यकुमारी घिमिरे, सुन्दर ढकाल, नारायणबहादुर खड्का, सुदर्शन चापागाईं, प्रद्युम्न फुयाँल, नेत्रप्रसाद गौतम, रबिनप्रसाद ढुंगाना, कीर्तिपुर नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका दिनेश दर्शनधारी, वडा अध्यक्षमा उठेका अनिल बानियाँ, संगीता श्रेष्ठ, पंकज बस्नेत, गोकुल बहादुर थापा, गोकर्णेश्वर नगरपालिका प्रमुखमा उठेका स्वतन्त्र उम्मेदवार गोविन्दप्रसाद कोइराला, वडा अध्यक्षमा उठेका होमबहादुर विष्ट तथा कृष्ण श्रेष्ठले शून्य मत प्राप्त गरे । देशभरि यसरी शून्य मत प्राप्त गर्नेहरूको सूची निकै लामो छ ।
८० वर्षमा वडाध्यक्ष
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा ८० वर्षीय कर्णबहादुर खड्का वडाध्यक्ष निर्वाचित भएका छन् । खड्का १ नम्बर बाट २ सय ६१ मत प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै ललितपुर महानगरको १० नम्बर वडामा ७७ वर्षीय नरसिंह व्यञ्जनकार स्वतन्त्र रूपमा वडा अध्यक्ष निर्वाचित भए । पञ्चायतकालदेखि नै हरेक पटक वडा अध्यक्ष जित्दै आएका व्यजनकारले यसपटक झिनो मतले जित हात पारेका थिए ।
८६ वर्षमा वडा सदस्य
धादिङस्थित थाक्रे गाउँपालिका–५ दामेचौरबाट ८६ वर्षीय चन्द्रमाया विश्वकर्मा दलित महिला सदस्य पदमा विजयी भएकी छिन् । वडा नं. ५ मा दलित महिलातर्फ विजयी चन्द्रमायाले ४ सय ९५ मत प्राप्त गरेकी थिइन् ।