२०४४ सालमा धरानका लालु भनिने ललित राईले आफ्ना दुई साथीसँगै फिल्म हेर्ने योजना बनाए । दिउँसो र बिहानीको शो हेर्न नभ्याएपछि उनले साथी बरुण र जीवनलाई लिएर स्थानीय शिव सिनेमा हलमा नाइट शो हेर्ने योजना तय गरे ।
फिल्म हेर्ने कुरा फिक्स भएपछि उनीहरूले हलमै भेट्ने योजना बनाए । वरुणले आफूसँग अर्की एक युवतीलाई पनि ल्याए । ललित र जीवनलाई लाग्यो, उनी बरुणकी गर्लफ्रेन्ड होलिन् । त्यसपछि फिल्म हेर्ने उनीहरूको चार जनाको ग्याङ बन्यो । राति ९ बजे फिल्म सकियो ।
ललित, जीवन र वरुण (जसको मृत्यु भैसकेको छ) र बरुणसँगै आएकी किशोरी हलबाट सँगै निस्किए । त्यसपछि घर आउनुको साटो उनीहरू किशोरीलाई लिएर धरान रंगशालातर्फ लागे । ललित र जीवनले सुरुमा ती किशोरीलाई वरुणको गर्लफ्रेन्ड मानेका थिए ।
जब उनीहरू रंगशाला पुगे बरुणले ती किशोरीसँग ललित र जीवनकै अगाडि यौनसम्पर्कका लागि प्रस्ताव राखे । त्यसबाट ललित र जीवनले ती किशोरी बरुणकी गर्लफ्रेन्ड नभएको ग्रिन सिग्नल पाए । त्यसपछि तीनै जनाले ती किशोरीलाई फकाउन थाले । किशोरीले नमानेपछि तीनै जनाले उनलाई जबरजस्ती पालैपालो बलात्कार गरे । त्यसपछि उनीहरू घर पुगे । किशोरीले बलात्कार भएलगत्तै प्रहरीलाई खबर गरिन् । बरुण भोलिपल्टै पक्राउ परे । बरुण पक्राउ परेको खबर सुनेपछि ललित र जीवन गिरफ्तारीको डरले फरार भए ।
घटना भएको भोलिपल्टै ललित र जीवन दार्जीलिङ हान्निए । त्यहाँ उनीहरूले करिब २ महिना बिताए । पछि अदालतले धरौटीमा छाड्ने कुरा थाहा पाएपछि उनीहरू दुवै जना परिवारको सहयोगमा नेपाल आए । नेपाल आएपछि अदालतबाट २० हजार धरौटीबापत जग्गा राखेर छुटे । उनीहरूलाई छुटाइसकेपछि ललित र जीवनका वकिलले अब केही नहुने आश्वासन दिएर उनीहरूलाई घर पठाए । त्यसपछि ढुक्क भएका उनीहरू सामाजिक जीवनमा फर्किए । पछि धरौटीबापत राखेको जग्गा पनि फिर्ता भयो ।
त्यसपछि उनीहरू नत अदालतको तारिखमै गए नत फैसला नै के भयो भनेर बुझ्नतर्फ लागे । अदालतमा चलिरहेको उक्त मुद्दाका सम्बन्धमा उनीहरू पूरै बेखबर भए । समयक्रमसँगै ललितको जीवनसँगको सम्पर्क पनि टुट्यो । आफूसँगै धरौटीमा छुटेका जीवन अहिले कहाँ छन् उनलाई कुनै जानकारी छैन । ललित भने धरौटीमा छुटेपछि आफ्नै दैनिक कामकाजमा फर्किए । घरमा रहेको सानो किराना पसल सम्हालेर बसेका ललितले पछि विवाह गरी घरजम गरे । उनले ३० वर्षपछि आफ्नो पुरानो गल्तीको सजाय पाउँछु भन्ने कल्पनासमेत गरेका थिएनन् ।
एक्कासि गत जेठ ७ गते प्रहरीले आफूलाई पक्राउ गरेपछि मात्र ललितले थाहा पाए– बलात्कारको उक्त मुद्दामा उनलाई ३ वर्ष कैद फैसला भएको रहेछ, जसको जानकारी उनले ३० वर्षपछि मात्र प्राप्त गरे । त्यो कुरा थाहा पाएपछि छाँगाबाट खसेझै भएका ललित भन्छन्– सुरुमै थाहा भएको भए म त्यही समयमै सजाय भोग्थे तर कसैले कुनै जानकारी दिएनन् । उनका अर्का साथी जीवन भने अझै फरारकै सूचीमा छन् ।
कसरी पक्राउ परे ?
जेठ ७ गते ललित दिउँसो खाना खाएर सुतिरहेका थिए । सुतिरहेको अवस्थामै उनकी श्रीमतीले पसलमा कोही आएको छ भनेर बोलाइन । पसलको समानको अर्डर लिन कोही आएछ भन्ने सोचेर उनी पसलमा झरे ? तर, ती व्यक्ति पसलको सामान लिन नभई उनकै बारेमा बुझ्न आएका सादा पोसाकका प्रहरी हुन् भन्ने उनलाई हेक्का भएन । ललित र ती सादा पोसाकका प्रहरीबीच प्रश्नोत्तर सुरु भयो :
प्रहरी : ललित राई तपाईं हो ?
ललित : हो ।
प्रहरी : तपाईंको कुनै पुरानो मुद्दा छ ?
ललित झस्किए । उनले सोचेका पनि थिएनन् ३० वर्षअघि बिराएको बाटो अहिले फेरि आपत्को कारण बन्ला भनेर, तर त्यही भयो । केही समयपछि ललितले उत्तर फर्काए– एउटा पुरानो मुद्दा थियो तर उतिबेला नै सकिएको हो ।
यति संवाद भएपछि सादा पोसाकका प्रहरी उनको मोबाइल नम्बर लिएर फर्किए । प्रहरी गएपछि ललित आफ्नो दैनिक काममा लागे । साँझ ४ बजेतिर वडा प्रहरी कार्यालय धरानको प्रहरी भ्यान उनको घर अगाडि रोकियो र केही बुझ्नु छ भन्दै ललितलाई आफूसँगै हिँड्न आग्रह गर्यो । सामान्य सोधपुछका लागि मात्र भनिए पछि ललित प्रहरीकै गाडीमा बसेर वडा प्रहरी कार्यालय पुगे ।
त्यति बेलासम्म उनले आफूलाई किन लगिएको हो भन्ने सुइँकोसम्म पाएका थिएनन् । किनभने ३० वर्षअघि धरानकै एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका ललित घटना भएको २ महिनामै सुनसरी जिल्ला अदालतबाट २० हजार रुपैयाँ धरौटीमा छुटेका थिए । धरौटीका लागि तिर्ने रकम परिवारसँग नभएका कारण परिवारले धरौटीमा राखेको जग्गा समेत फुकुवा भैसकेको थियो । ३० वर्षसम्म उक्त विषयमा केही सोधीखोजी नभएपछि ललित आफूविरुद्ध लागेको जवरजस्ती करणीको मुद्दा टुंगिएको कुरामा ढुक्क थिए ।
वडा प्रहरी कार्यालय पुगेपछि मात्र ललितले थाहा पाए– मुद्दा सकिएको रहेनछ । घटना भएको ३ वर्षपछि ०४७ सालमै अदालतले उनका नाममा जबरजस्ती करणी गरेको प्रमाणित गर्दै ३ वर्ष कैद फैसला सुनाइ उनलाई फरारको सूचीमा राखेको रहेछ । गत जेठ ७ गते शनिबार धरान प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई एक दिन इलाका प्रहरी कार्यालयमा राखेर झुम्कास्थित पूर्वाञ्चल क्षेत्रीय कारागारमा पुर्याइएको छ । क्षेत्रीय कारागारमा रहेका ललितले सुरुमै आफूलाई अदालतको फैसला थाहा भएको भए त्यो बेला नै कैद भुक्तान गर्ने बताए । हाम्रो मुद्दा हेर्ने वकिलले अब तिमीहरूको मुुद्दा सकियो भनेकाले म ढुक्कले बसेको थिएँ, साप्ताहिकसँग ललितले भने– थाहा पाएको भए त्यतिबेलै कैद सजाय भोग्ने थिएँ ।
हाल ४८ वर्ष पुगेका ललित राई त्यति बेला १७/१८ वर्षका किशोर थिए । साथीको लहैलहैमा लागेर उक्त घटना घट्न पुगेको उनले बताए । उक्त बलात्कार काण्डमा सम्लग्न तीन जनामध्ये मुख्य अभियुक्त बरुणको भने मृत्यु भैसकेको छ भने अर्का एक जना फरार छन् ।
यसरी ब्युतियो केस
जिल्ला अदालत सुनसरीले गत वर्ष नै फैसला भएका पुराना मुद्दामा कैद भुक्तान नगरी फरार रहेकाहरूको सूची सार्वजनिक गर्दै उनीहरूलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो । धरानका मात्र १ हजारजति आफ्नो कैद सजाय भुक्तान नगरी फरार रहेको सूची प्रहरीमा पुग्यो । इलाका प्रहरी कार्यालय धरानले सूचीमा भएका फरार अभियुक्तहरूको खोजबिन अघि बढायो ।
मुद्दा फैसला पछि कैद जरिवाना भुक्तानी नगरी फरारहरूमध्ये अधिकांशको मृत्यु भैसकेको थियो भने तीमध्ये केही अझै पनि जीवित थिए । प्रहरीले जीवितै रहेका पुराना फरार अपराधीहरूलाई प्राथमिकतामा राखेर खोजी गरिरहेको थियो । यही क्रममा गत जेठ ७ गते ललित राई पक्राउ परेका हुन् ।
फरार सूचीमा रहेकाहरूको खोजीलाई तीव्रता दिएका छांै, धरानका डिएसपी ढकेन्द्र खतिवडाले भने– प्रहरीका सबै संयन्त्र परिचालन गरेका छौ भने स्थानीय बासिन्दाहरूको समेत सहयोग लिइरहेका छौं । ललित आखिर ३० वर्षसम्म किन पक्राउ परेनन् त ? डिएसपी खतिवडा भन्छन्– हामीले अदालतबाट एक साता अघि मात्र फरारको विस्तृत विवरण प्राप्त गर्यौं र एक साता नबित्दै उनलाई पक्राउ गरेका हौं । त्यसभन्दा अघि अदालतबाट फरार व्यक्तिहरूको विस्तृत विवरण नआएका कारण ललित पक्राउ नपरेको प्रहरीले जनाएको छ ।