साप्ताहिक संवाददाता
म ४५ वर्षीय विवाहित पुरुष हुँ । म आफ्नी श्रीमतीसँग शारीरिक तथा मानसिक दुवै पक्षबाट राम्रो सम्बन्ध राख्न चाहन्छु । यद्यपि मेरो सम्बन्ध मैले सोचेजस्तो छैन । सुरुमा हाम्रो सम्बन्ध धेरै रमाइलो थियो । अहिले ११ वर्षपछिको वैवाहिक सम्बन्धपछि हाम्रो सम्बन्धमा कुनै उत्साह नभएको महसुस हुन्छ । उनको मप्रतिको आकर्षण र चाहना घट्दै गएको हो कि जस्तो लाग्छ । कतै मैले श्रीमतीको मनोविज्ञान बुझ्न नसकेकाले यस्तो भएको पो हो कि ?
-ए.
प्रश्न सुन्दा तपाईं श्रीमतीसँग कसरी परिपक्व सम्बन्ध बनाउँ भन्नेमा चिन्तित हुनुभएको बुझ्न सकिन्छ । श्रीमतीसँगको सम्बन्धमा तपाईं आफू निपुण हुन चाहनुहुन्छ भन्ने स्पष्ट हुन्छ । श्रीमतीसँगको सम्बन्ध फरक कुरा हुन्, फरक ढंगले व्यवहार गर्नुपर्ने हुन्छ । श्रीमतीसँगको यौनसम्बन्धको कुरा गर्न खोज्नुभएको हो भने त्यसका लागि आपसमा बसेर कुराकानी गर्नुपर्ने हुन्छ । श्रीमती यौनसम्बन्धमा सकारात्मक छिन् भने त्यसका बारेमा खुलेर कुरा गर्न सकिन्छ । अर्को कुरा, पारदर्शी रूपमा कुरा गर्नेलाई जसले पनि मन पराउँछन् ।
जो आफू सम्मान चाहन्छ उसले अरूलाई पनि सम्मान दिन्छ, अर्थात् आफूले सम्मान चाहने मानिस अरूलाई पनि सम्मान गर्न चाहन्छ । यो मानिसहरूको प्राकृतिक स्वभाव हो । यसका लागि महिलालाई अझ बढी उपयुक्त उदाहरण भन्दा हुन्छ । महिलाहरू भावनामा मात्र होइन, शब्दमा पनि आफ्नो श्रीमान्लाई सम्मान गरिरहेका हुन्छन् । यस्तै व्यवहार उनीहरू आफ्नो श्रीमान्बाट पनि चाहिरहेका हुन्छन्, तर धेरैजसो श्रीमान आफूले मनैदेखि माया गरिरहेको छु भने बढी पुलपुल्याउने काम किन गरूँ भन्ने स्वभावका हुन्छन् र आपसमा यस्तो स्वभावको सञ्चारीकरण नहुँदा कहिलेकाहीँ श्रीमान्–श्रीमतीबीच सामान्य खटपट उत्पन्न हुन्छ । सम्बन्धका आयामहरूको अध्ययन गरिरहेका विज्ञहरूको पनि यसमा फरक राय नै छ ।
यससम्बन्धी अध्ययन गरिरहेका विज्ञ रवि आर्यका अनुसार महिलासँगको सम्बन्धमा तीनवटा पाटा हुन्छन् । महिलाहरू माया, महत्व र प्रशंसा तीन चीजका भोका हुन्छन् । उनीहरू यी तीनै चीजका खानी पनि हुन् । यी तीनवटै चीज दिन चाहने र लिन पनि चाहने भएकाले प्रेमी/श्रीमान्हरूले त्यसैअनुसारको ब्यवहार गर्नु श्रेयष्कर हुन्छ । यहाँसम्म कि पुरानै प्रशंसा दोहोर्याए पनि उनीहरूलाई पर्याप्त हुन्छ । सधंै नयाँ र मौलिक प्रशंसा नै हुनुपर्छ भन्ने छैन ।
त्यस्तै मार्क न्याप र अनिता भ्याङलिस्टीजस्ता सम्बन्ध विज्ञहरूले पनि यसलाई स्वीकारे गरेका छन् । उनीहरूले भनेका छन्, सुरु–सुरुमा जोडीहरू आपसी प्रशंसामा डुबुल्की मार्छन । यो केही वर्षसम्म जारी रहन्छ र सम्बन्ध पनि प्रगाढ रहन्छ, तर बिस्तारै महत्व घट्ने, प्रशंसा र माया पनि घटेजस्तो महसुस हुन थालेपछि सम्बन्ध बिग्रन थाल्छ । यस्ता थुप्रै घटनाका उदाहरण दिन सकिन्छ ।
सेक्स थेरापी र रिसर्चका पूर्व अध्यक्ष चिकित्सा मनोविद् सेली सचुमाचर भन्छिन्— कुनै दम्पतीबीचमा आउने भिन्नता भनेको उनीहरूमा भएको ज्ञान र बुझाइ नै हो । जब दुवै जना ४० वर्षभन्दा माथि लाग्छन् उनीहरूको शरीर, जीवनशैली, हार्मोन एवं यौन प्रतिक्रियामा परिवर्तन आउँछ जुन स्वभाविक पनि हो । महिला वा पुरुष जसले यी परिवर्तन महसुस गर्न सक्छन् उनीहरूले समायोजनको नयाँ उपाय अपनाउन सक्छन् र अझ यौनजीवनलाई उत्कृष्ट पनि बनाउन सक्छन् । महिला यदि रजनोवृत्तिको समयमा पुगेकी छिन् भने त्यतिबेला महिलाको योनिका तन्तु पातलो हुने, सुख्खा हुने र चिल्लो पदार्थ ननिस्कने हुन्छ, त्यसैले पहिले यौनसम्बन्ध निकै आनन्द लाग्ने महिलालाई पनि अप्ठ्यारो र पीडा महसुस हुन्छ ।
पुरुषले यी प्राकृतिक विषय नबुझ्दा श्रीमती आफ्नो श्रीमान् कडा, असजिलो र नबुझ्ने हुन थालेको महसुस हुन्छ । उता श्रीमान्हरूले चाहिँ श्रीमतीले मन पराउन छाडेकी र आफूसँग यौनसम्बन्ध राख्न नखोजेको महसुस गर्छन् । यसरी एक–अर्काप्रतिको फरक बुझाइ हँुदा दैनिक जीवनमा पनि असहजताको वातावरण सिर्जना हुन थाल्छ । हुन सक्छ, तपाईंले श्रीमतीको उमेर अनि उहाँमा आएको परिवर्तनलाई महसुस गर्नु भएको छ । यी परिवर्तन प्राकृतिक हुन सक्ने र बुझाइलाई अझ फराकिलो बनाउँदा तपाईंहरूबीच फेरि पहिलेकै जस्तो सम्बन्ध स्थापित हुन सक्छ तसर्थ यस्ता विषयमा एक–अर्काबीच छलफल गर्नु उपयुक्त हुन्छ ।