साप्ताहिक संवाददाता
श्रीमान्–श्रीमती वा यौनसाथी दुवैको समझदारीमा पाक्क्रीडासहित सम्भोग गरेको खण्डमा मात्र वास्तविक यौन सन्तुष्टिका साथ आपसी सम्बन्ध प्रगाढ हुन्छ भने दाम्पत्य जीवनसमेत सुखी रहन्छ । दम्पतीमाझ वा यौनसाथीबीच आपसी सहमतिमा गरिएको यौनकार्यबाट स्वास्थ्य लाभ पनि हुन्छ ।
यौनक्रिया एउटा आनन्ददायक व्यायाम हो । साधारण चुम्बनमा निश्चित मात्रामा क्यालोरी खर्च हुन्छ भने यौन परिकल्पना, पाक्क्रीडादेखि चरम सुखसम्म गरिने यौन क्रियाकलापमा शारीरिक शक्ति क्षय हुन्छ । यौन क्रियाका दौरान जननेन्द्रिय एवं त्यस वरिपरिका मांसपेशी मात्र नभै विभिन्न आसनका क्रममा शरीरका धेरैजसो मांसपेशी सक्रिय हुन्छन् । यौनसाथीको निकटता, आलिङ्गन, पाक्क्रीडा, चरमसुखसँगै वृद्धि हुने मुटुको धड्कन, श्वास–प्रश्वास आदिले मुटु, रक्तसञ्चार तथा फोक्सोको राम्रो व्यायाम गराउँछ ।
यौनले मानव शरीरमा इन्डोर्फिनको उत्पादन वृद्धि गरी पीडाबाट छुट्कारा दिलाउँछ । शारीरिक एवं मानसिक थकान तथा तल्लो पेट दुख्ने समस्या (महिनावारीको अगलबगल) मा भावना सहितको यौनकार्यले पीडा कम गर्छ । पटक–पटकको यौनसम्पर्कका कारण मुटु एवं रक्तसञ्चार प्रणालीले राम्रै अभ्यास पाउँछ । यौनकार्यका दौरान मुटुको धड्कनको तीव्रता, मुटु एवं शरीरभरिको रक्तनलीको मांसपेशीको खुम्च्याइ एवं फुकाइले मुटु तथा रक्तसञ्चार नलीको स्वस्थतालाई बढावा दिन्छ ।
सबैमा यौनसन्तुष्टि प्राप्त गर्ने ठूलो चाहना हुन्छ । यसका लागि एक खालको तपस्या एवं मानसिक एकाग्रता चाहिन्छ । सफल यौनकार्यले कार्यक्षेत्रलगायत बाह्य वातावरणका कारण उत्पन्न हुने मानसिक तनाव मात्र नभै दम्पतीबीच हल्का ठाकठुक वा झगडालाई पनि ठीक गर्छ । पाक्क्रीडाका दौरान आपसमा गरिने यौन क्रियाकलाप जस्तोसुकै तनाव पनि कम गर्छ । तनाव अर्थात् नैराश्यतापूर्ण परिस्थितिमा यौनसाथीको मायालु आलिङ्गन मात्रले पनि औषधिको काम हुन्छ ।
आजको आधुनिक समाजमा पारिवारिक विखण्डनको मुख्य कारण यौन दुर्बलता एवं यसबाट सिर्जित–वर्जित यौनसम्बन्ध पनि हो । दम्पतीबीचको आपसी समझदारीमा स्थापित यौनसम्पर्कले यौनसन्तुष्टिका साथै आत्मविश्वास जगाउँछ । सफल यौन सम्पर्कपछिको सन्तान प्राप्तिले दाम्पत्य जीवन फलदायी बनाउँछ । यसले गर्दा यौन दुर्बलता तथा नि:सन्तानको समस्या उत्पन्न हुन पाउँदैन ।
जीर्ण रोगी अवस्था एवं ढल्कँदो उमेरमा सफलतापूर्वक यौनसम्बन्ध राख्न सकिँदैन, जसले हीनताबोध एवं आत्मग्लानिका साथै शारीरिक दुर्बलता पनि महसुस गराउँछ । सफल यौनसम्पर्कले शारीरिक तन्दुरुस्तीको आभास दिलाई आत्मबल वृद्धि गर्छ । अनुशासित एवं मर्यादित यौनकार्यले एचआईभीलगायतका यौनरोग सर्ने, यौन अपराध गर्ने वा अप्राकृतिक यौन क्रियाकलापमा संलग्न हुने जस्ता समस्या पनि कम हुन्छन् ।
महिलामा यौनआनन्द
महिलाले यौन आनन्द लिने विभिन्न विधि छन् । महिलाहरू योनि–लिङ्गबाट तृप्त हुन सकेनन् भने मुख मैथुन, गुदद्वार मैथुन, हस्त मैथुनबाट वा भगांकुर चलाएर यौन आनन्द प्राप्त गर्न सक्छन् । खासमा भगांकुर एवं जी स्पटको घर्षण नै महिला चरम सन्तुष्टिको मुख्य आधार हो । ९० प्रतिशत महिलाका लागि यी अंग नै मुख्य यौन संवेदनशील केन्द्र हुन् । यसका अतिरिक्त योनिमा पुरुष लिङ्ग आकारको केही चीज (कृत्रिम वा प्राकृतिक) पसाएर वा भग क्षेत्रबाहेकका यौन संवेदनशील अङ्गमा यौनसम्पर्क, यौनाङ्ग रगड्ने कार्यका साथै यौन साहित्य, यौन सामग्री (पोर्नोग्राफी) बाट पनि महिलाले यौन आनन्द प्राप्त गर्छन् ।