साप्ताहिक संवाददाता
विकासका थुप्रै सम्भावना बोकेको र साधन–स्रोतले सम्पन्न प्रदेश नम्बर २ को महत्वपूर्ण जिल्ला बारामा राजनीतिक तथा व्यापारिक पृष्ठभूमि भएकाहरू स्थानीय तहको प्रमुख पदका लागि चुनावी मैदानमा छन् । राजमार्ग छेउछाउका जितपुर सिमरा उपमहानगर एवं निजगढ नगरपालिकाअन्तर्गत अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज) तथा द्रुत मार्ग प्रस्तावित छन् जुन क्षेत्रमा खास गरी एमाले, कांग्रेस तथा माओवादीबीच भिडन्त छ ।
विकास, सेवाग्रहीलाई सहज सेवा, कृषि, ठूला आयोजना सम्पन्न गर्न पहल गर्ने, शिक्षा, औद्यागिक क्षेत्रको विकासलगायतका मुद्दा लिएर उनीहरू मतदाताबीच पुगिरहेका छन् । सदरमुकाम कलैया उपमहानगरपालिकासहित आसपास र सीमासित जोडिएका अधिकांश स्थानीय तहमा तीन ठूला पार्टी र मधेसवादी दलबीच प्रतिस्पर्धा देखिन्छ । दक्षिणतिरका अधिकांश स्थानीय निकायमा उपप्रमुख पदका लागि नेता पत्नीहरू नै उम्मेदवार छन् । १६ स्थानीय तह रहेको बारामा २ उपमहानगर एवं ५ नगरमा नवप्रवेशी तथा धनाढ्य, पार्टीका पुराना क्याडर एवं शिक्षण पेसा छाडेर उम्मेदवार बन्नेहरूको बाहुल्य छ ।
चुनावको नतिजा आफ्नो पक्षमा पार्न राजनीतिक दलहरूले धनाढ्य र लोकप्रिय उम्मेदवार अघि सार्ने क्रममा प्राय: सबै दलका सिद्धान्त र पुराना क्याडर पाखा लागेका छन् । आफ्ना उम्मेदवार जिताउने होडबाजीबीच इमानदार, पार्टीका लागि जेलनेल खाएका र आन्दोलनमा खटिएका क्याडरहरूलाई पाखा लगाउन थालिएपछि पार्टीभित्र तीव्र असन्तुष्टि एवं द्वन्द्व समेत देखिन थालेको बताइन्छ । लोकप्रियता र धनाढ्यलाई उम्मेदवार बनाउने नीति अख्तियार गर्नमा कांग्रेस, एमाले, राजपा र केही ठाउँमा संघीय समाजवादी फोरम सबैभन्दा अगाडि छन् । माओवादी केन्द्रले अन्य पार्टीबाट रुष्ट भैआएकाहरूलाई पार्टी प्रवेश गराएर चुनावी मैदानमा उतार्नेदेखि तालमेल गर्ने तथा केही पुराना क्याडरलाई उम्मेदवारका रूपमा अघि सार्ने काम गरेको छ ।
बारा उद्योग वाणिज्य संघका अध्यक्ष, उपाध्यक्ष तथा महासचिवसहितका तीन जना पदाधिकारी छुट्टाछुट्टै राजनैतिक दलबाट चुनावी मैदानमा छन् । तीनै जना कलैया उपमहानगरपालिकामै उम्मेदवार भएका हुन् । एमालेबाट मेयर पदमा उद्योग वाणिज्य संघमा लगातार दुई पटक अध्यक्ष भैसकेका विनोद साह, राजपाबाट मेयर पदमै महासचिव ओमप्रकाश साह तेली तथा उपाध्यक्ष विनोदप्रसाद बरै संघीय समाजवादी पार्टीबाट वडा अध्यक्षका लागि उम्मेदवार बनेका छन् ।
केही महिनाअघि गरिएको एमालेको मेची–महाकाली अभियानताका एकैपटक पार्टी केन्द्रीय सदस्यमा मनोनयन गरिएका २१ जना मधेसी अनुहारमा आफ्नो मनोनयन नभएको भन्दै राजीनामा गरेका साहले फेरि फर्केर एमालेबाटै मेयरमा टिकट लिएका हुन् । पार्टीका शीर्षस्थ नेताहरूको आग्रहमा उनी एमालेमा फर्किएका हुन् । दोस्रो संविधानसभाताका उनी एमालेबाट सभासदको उम्मेदवार भएर बहालवाला श्रममन्त्री फरमुल्लाह मन्सुरसित पराजित भएका थिए । कांग्रेसबाट मेयर पदका लागि उम्मेदवारी दिएका राजेश यादव दुई पटक सांसद भैसकेका वहालवाला सांसद तथा कांग्रेस केन्दीय सदस्य राधेचन्द यादवका छोरा हुन् ।
कांग्रेसबाट उद्योग वाणिज्य संघको अध्यक्षको उम्मेदवारीमा सहयोग नपाएपछि जयप्रकाश राजपाबाट मेयर पदको उम्मेदवार भएका हुन् । संघीय समाजवादी फोरम नेपालका तर्फबाट पूर्वसभासद प्रमोद गुप्ता, माओवादी केन्द्रबाट मुकेश साह मेयर पदकै दाबेदार छन् । यी दुवै युवा मिलनसार स्वभावका छन् । साह विद्यार्थी नेता हुँदै उपमहानगरको मेयरको दाबेदार भएका हुन् । गुप्ता पहिलो मधेस आन्दोलनपछि उदाएका नेता हुन् । पहिलो संविधानसभामा विजयी भएका गुप्ता दोस्रो संविधान सभामा तेस्रो स्थानमा पुगेका थिए ।
यस्तै औद्यागिक क्षेत्र एवं राजमार्गमा पर्ने जितपुर सिमरा उपमहानगरपालिकाको मेयर पदका लागि मुख्य धारका दलहरूका तर्फबाट पुराना क्याडरहरू नै चुनावी मैदानमा छन् । एमालेबाट मेयर पदमा उठेका डा. कृष्ण पौडेल ७ वर्षयता सहकारी अभियन्ताका रूपमा सक्रिय छन् । राजनीति र शिक्षण पेसामा पनि उत्तिकै रमाएका डा. पौडेलले सिमरा कलेजको प्राध्यापक हुँदै एमाले प्रचार विभागको दुई कार्यकाल सम्हालेका छन् ।
कांग्रेसका मेयर उम्मेदवार कृष्णव्रत सिंहले २०४९ मा जितपुरको गाविस अध्यक्षमा विजय हासिल गरेका थिए । कांग्रेसमा प्रतिष्ठित मानिएका सिंह शालिन तथा अनुभवी नेता मानिन्छन् । माओवादी केन्द्रका राजन पौडेल साधारण परिवारका युवा उम्मेदवार हुन् । उनी माओवादी युद्धकालदेखि नै राजनीतिमा सक्रिय छन् ।
कलैया उपमहानगरपालिका
जनसंख्या | १ लाख २३ हजार ६ सय ५९ |
वडा संख्या | २७ |
केन्द्र | कलैया (बाराको सदरमुकाम) |
मतदान केन्द्र | ७९ |
मतदाता संख्या | ५६ हजार २ सय ४४ |
मतदान स्थल | ५३ |
जनप्रतिनिधि संख्या | १ सय ३७ |
जितपुर सिमरा उपमहानगरपालिका
जनसंख्या | १ लाख १४ हजार १८५ |
वडा संख्या | २३ |
केन्द्र | जितपुर |
मतदान केन्द्र | ७१ |
मतदान स्थल | ४१ |
जनप्रतिनिधि संख्या | १ सय १७ |
मतदाता संख्या | ५५ हजार ९६ |