साप्ताहिक संवाददाता
नेपालीहरूका लागि दसैं विशेष र महत्वपूर्ण हुन्छ । दसैंलाई नयाँ पहिरन लगाउने पर्वका रूपमा समेत लिइन्छ । परिवारका सबै सदस्यका लागि नयाँ पहिरन, जुत्ता आदि किन्नु पनि दसैंको एउटा विशेषता हो । दसैंकै लागि भनेर बजारमा नयाँ–नयाँ डिजाइन एवं शैलीका पहिरन भित्रिदै आएका छन् ।
महिलाहरूका लागि
दसैंका अवसरमा विवाहित महिला तथा युवतीहरूका लागि परम्परागत पहिरन साडी, कुर्ता तथा लेहेंगाको माग बढी हुन्छ भने युवतीहरू जिन्स, टि–सर्ट, टप्सजस्ता पहिरन बढी रुचाउँछन् । अहिले बजारमा सबै वर्गका महिलाका लागि विभिन्न आकार–प्रकार एवं रंगका वान पिसहरू उपलब्ध छन् ।
साडी, कुर्ता तथा लेहेंगाको सामान्य मूल्य २ हजार रुपैयाँसम्म पर्छ भने वान पिस, टि–सर्ट, टप्स आदि ८ सय रुपैयाँदेखि ३ हजार रुपैयाँसम्ममा उपलब्ध हुन्छन् । पहिरनबाहेक महिलाका लागि बजारमा विभिन्न डिजाइनका जुत्ता तथा ब्याग पनि उपलब्ध छन् । त्यस्ता जुत्ता तथा ब्यागहरू १ हजार ५ सय रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ ।