साप्ताहिक संवाददाता
अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली सुन्दर र सुन्दरीहरुको सहभागिताले दुई दशकको समयावधि पार गरिसकेको अवस्था छ । यो परिवेशमा आजसम्म ब्रम्हाण्ड सुन्दरी अर्थात् मिस युनिभर्स प्रतियोगिता नेपालका लागि पहुँचमा रहेको थिएन । तर अब भने नेपाली प्रतिनिधिले पहिलो पटक मिस युनिभर्स प्रतियोगितामा आफ्नो उपस्थिति जनाउने भएकी छिन् । यो संभव भएको छ मिस नेपाल प्रतियोगिताको २३औं वार्षिकोत्सवको अवसरमा । मिस नेपाल प्रतियोगिता आयोजनाको २३ वर्ष पुगेको अवसर पारी गत सेप्टेम्बर २२ तारिखमा राजधानीको दरबारमार्ग स्थित होटल डिला अन्नपूर्णमा आयोजना गरिएको विशेष कार्यक्रमका वीच द हिडेन ट्र्ेजरका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपतिले नगमा श्रेष्ठलाई मिस नेपाल युनिभर्स २०१७ को ताज पहिर्याइ दिएपछि नेपाली सुन्दरीका लागि मिस युनिभर्स प्रतियोगिताका सहभागिताका लागि औपचारिक रुपमा बाटो प्रशस्त भएको हो ।
पाच फिट ११ इन्च उाचाईकी २५ वर्षिया नगमा श्रेष्ठ नेपाली सौन्दर्य प्रतियोगिताको परिवेशमा सफल सुन्दरी मध्येकी एक हुन् । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरुमा सफल सहभागिताको अनुभव संगालिसकेकी नगमा मिस नेपाल युनिभर्स २०१७ का रुपमा चयन भएसंगै उनी मिस युनिभर्स प्रतियोगिताका सहभागि हुने पहिलो नेपाली सुन्दरी बनेकी छिन् । उनले आगामी नोभेम्बर २६ तारिखमा अमेरिका स्थित लास भेगासमा संचालन हुने ६६ औं संस्करणको मिस युनिभर्स २०१७ मा नेपालतर्फबाट सहभागिता जनाउने भएकी छिन् ।
नगमा मिस कलेजेज् २००९ की उपाधि विजेता पनि हुन् । सन् २०१२ मिस नेपाल प्रतियोगिताको यात्रा तय गरेकी नगमा मिस नेपाल अर्थ २०१२ उपाधि विजेता बनेकी थिइन् । सोही वर्ष उनले मिस अर्थ २०१२मा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन् भने उनले सो प्रतियोगिताको अन्तिम आठ सम्मको यात्रा तय गरेकी थिइन् । त्यसपछि उनले २७ जनवरी २०१६मा चीनको बेइजिङमा संचालन भएको २७औं संस्करणको वल्र्ड मिस युनिभर्सिटी २०१६ मा सहभागिता जनाएकी थिइन् । जसमा नगमाले थर्ड रनर अपको ताज पहिरिन सफल भइन् । उनले प्रतियोगितामा थर्ड रनर अप सहित मिस फिटनेसको अवार्ड पनि आफ्नो नाममा सुरक्षित बनाउन सफल भइन् । उनी २७औं वल्र्ड मिस युनिभर्सिटी पिस सर्भिस कर्पस्का लागि शान्ति दूतका रुपमा पनि नियुक्त भएकी थिइन् ।
यस लगत्तै वर्ष २०१६ को मार्च २७ देखि अप्रिल १५ इजिप्टमा संचालन भएको ‘मिस ईको युनिभर्स २०१६’ प्रतियोगितामा नगमाले तेस्रो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइन् । नेपालका तर्फबाट सहभागि भएकी सो स्पर्धामा नगमा श्रेष्ठ वेष्ट टुरिजम भिडियोको अवार्ड जित्न सफल भइन् । ईमेज च्यानल टेलिभिजनमा कार्यक्रम निर्माता तथा प्रस्तोताका रुपमा अनुभव संगालिसकेकी र सेलिब्रेटी मोडलको परिचय बनाइसकेकी उनी चाइल्ड रिच नेपाल र उज्यालो फाउन्डेसनका सद्भावना दूत पनि रहेकी छिन् । उनी ब्रिस्ट क्यान्सरबारे सचेतना जगाउने पिंकाथन नेपाल नामक इभेन्टका लागि एम्बेसडरका रुपमा पनि नियुक्त छिन् ।