साप्ताहिक संवाददाता
मंगलबार दिउँसो कुलेश्वरकी श्यामु थापामगर भृकुटीमण्डपबाट बाहिरिने क्रममा उनका दुवै हात खाली थिएनन् । श्रीमान् मनोहर थापासँगै बाहिरिएकी शिखर सुकी पारखी श्यामुले आफू तथा श्रीमानका लागि त जुत्ता किनिन् नै, त्यसका साथै परिवारका सबै सदस्यलाई पुग्ने गरी पाँच जोर जुत्ता–चप्पल पनि झोलामा हालेर निस्किइन् । देशभरमा ८ सयभन्दा बढी आउटलेट भए पनि शिखर सुको यो मेलामै पुगेर सबैका लागि जुत्ता किन्नुको कारण त्यहाँ पाइने छुट नै श्यामुको उनको तर्क छ । मेलामा ७० प्रतिशतसम्म छुट पाइएपछि आफू लोभिएको उनको भनाइ थियो । बजारमा पाइनेभन्दा कम मूल्यमा ब्रान्डेड जुत्ता पाइएपछि उनले एकैपटक परिवारका सबै सदस्यका लागि जुत्ता किनेकी हुन् ।
त्यसो त ६ गतेदेखि लागेको यो जुत्ता मेलामा तीन पटक आएर ६ जोर जुत्ता किनिसकेका कोटेश्वरका मेघबहादुर कटुवाल मंगलबार पुन अर्को जोर जुत्ता छानिरहेका थिए । ‘म शिखरको जुत्ता नै लगाउँछु,’ उनले भने— ‘यो सेल मेला अरू बेलाको भन्दा सस्तो रहेछ, त्यही भएर आज चौथो पटक आएको, परिवारका सबैका लागि आवश्यक जुत्ता–चप्पल किनिसकें ।’ इमाडोलका विश्वराज अधिकारी नयाँ जुत्ता किन्न यस्तै सेल नै पर्खन्छन् । ‘सेल लागेको थाहा पाउनासाथ आइहाल्छु ।’ हातमा जुत्ता लिएका अधिकारी भन्दै थिए, ‘मलाई नेपाली ब्रान्डको जुत्ता नै मन पर्छ ।’ अधिकारी, कटुवाल र थापा मात्र होइन, अहिले भृकुटीमण्डपमा लागेको शिखर सुजको एकल सेल मेलामा दैनिक ८ सयभन्दा बढीले जुत्ता–चप्पल खरिद गरिरहेका छन् ।
सिखर सुजको स्पोर्ट जुत्ताका पारखी राजु उप्रेतीले पनि परिवारका सबै सदस्यका लागि यही मेलाबाट ७ जोर जुत्ता खरिद गरे । मेलामा सबै साइजका सबै प्रकारका जुत्ता–चप्पल पाइने हुँदा आफू यहाँ आएको उप्रेतीले बताए ।
अचम्म लाग्न सक्ला, १ सय रुपैयाँमा शिखर सुका जुत्ता–चप्पल ? हो, भृकुटीमण्डपमा चलिरहेको उक्त एकल सेल मेलामा पुग्ने हो भने तपाईंले १ सयदेखि ४ हजार रुपैयाँसम्मका जुत्ता–चप्पल छानी–छानी किन्न सक्नुहुन्छ । यहाँ एउटै ब्रान्डका ४ सयभन्दा बढी प्रकारका जुत्ता–चप्पल उपलब्ध छन् । त्यहाँ पुग्ने ग्राहकले छानी–छानी आफूलाई मन परेका आइटम किन्न सक्छन् । मेला आगामी २४ गतेसम्म चल्ने शिखर सुका निर्देशक रामकृष्ण प्रसाईं बताउँछन् ।
प्रसाईं भन्छन्— मेला भन्दैमा जस्तो पायो त्यस्तो जुत्ता राखिएको छैन । हामीले पुराना जुत्ता मात्र नभएर नयाँ आइटम पनि उपलब्ध गराएका छांै । उनका अनुसार ‘पुराना भन्दैमा कामै नलाग्ने जुत्ता राखेर आफ्नो ब्रान्डको बदनामी गर्ने कुरा हुँदैन ।’ नेपाली जुत्ताको प्रवद्र्धन गर्नु यो मेलाको प्रमुख उद्देश्य भएको उनको भनाइ छ ।
ग्राहकलाई सस्तोमा ब्रान्डिङ जुत्ता उपलब्ध गराउने यो मेला उपयोगी सावित हुँदै आएको आयोजकहरूको दाबी छ । निर्देशक प्रसाईंका अनुसार मेलामा जाडोमा लगाइने कपडा तथा स्पोर्ट्स सुमा सबै उमेरका ग्राहकको आकर्षक देखिन्छ । यस क्रममा युवाहरूले क्याजअल सुज पनि बढी मन पराइरहेका छन् ।
रामकृष्ण प्रसाईं, निर्देशक, शिखर सुज
यो मेला केका लागि ?
हामीले प्रत्येक वर्ष एकल रूपमा फरक तरिकाले यो मेलाको आयोजना गर्दै आएका छौं । यसमा हाम्रो नयाँ उत्पादनको ब्रान्डिङदेखि पुरानो स्टक क्लियरेनस सम्मको काम हुन्छ । यसबाट एकातिर ग्राहकले सस्तो मूल्यमा ब्रान्डेड जुत्ता प्राप्त गर्न सक्छन् भने अर्कातिर हामी नयाँ प्रोडक्टलाई ब्रान्डिङ गर्न सक्छौं ।
कस्ता जुत्ता खरिद गर्न सकिन्छ ?
मेलामा हाम्रा उत्पादनका झन्डै ४ सय प्रकारका जुत्ता–चप्पल उपलब्ध छन् । ती जुत्ता–चप्पल हामीले ७० प्रतिशतसम्म छुट दिएर १ सय रुपैयाँदेखि ४ हजार रुपैयाँसम्ममा उपलब्ध गराएका छांै ।
बेला–बेलामा फरक–फरक नामले यसरी मेला लगाउनुको उद्देश्य के हो ?
मुख्य कुरा स्वदेशी जुत्ताको प्रबद्र्धन गर्नुनै हो । अर्को कुरा मेलामा सबै प्रकारका, सबै साइजका जुत्ता पाइने हुँदा ग्राहकहरूलाई सहज हुन्छ । देशभरमा हाम्रा करिब ८ सयवटा आउटलेट छन् तर त्यहाँ–यहाँको जस्तो सबै साइज एवं डिजाइनका जुत्ता फेला पार्न सकिँदैन र छुट दिन पनि सम्भव हुँदैन । त्यसैले हामीले यस्तो मेला आयोजना गरी आएका हौं ।
विदेश उत्पादनलाई प्रतिस्थापन गर्न शिखरले कस्तो भूमिका खेल्न सक्छ ?
हामी स्वदेशी ब्रान्डलाई स्थापित गर्न लागिपरेका छौं । नेपालमा एक वर्षमा ८ करोड जोर जुत्ता–चप्पल प्रयोग हुने तथ्यांक छ जसमध्ये नेपाली उद्योगले साढे २ करोड जोर जुत्ता मात्र आपूर्ति गर्न सकेका छन् । अहिले नेपाली जुत्ता उद्योगसँग वर्षिक १३ करोड जोर जुत्ता उत्पादन गर्न सक्ने क्षमता छ, त्यही क्षमता प्रयोग गर्न सकियो भने पनि विदेशी उत्पादन लगभग प्रतिस्थापन हुन्छ भन्ने हाम्रो अध्ययनले देखाएको छ । यसका लागि अब राज्यले नेपाली जुत्त–चप्पल उद्योगलाई प्रश्रय दिने नीति अवलम्बन गर्न थप ढिलाइ गर्न हुँदैन ।