प्र.देश नम्बर ४ मा पहिलो चरणमा ६ तथा दोस्रो चरणमा ५ जिल्लामा निर्वाचन हुँदैछ । पहिलो चरण मंसिर १० मा मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, लमजुङ र गोरखा तथा दोस्रो चरण मंसिर २१ मा कास्की, स्याङ्जा, पर्वत, तनहुँ र नवलपरासी (सुस्ता पूर्व) मा निर्वाचन हुने भएको छ । ४ नम्बर प्रदेशका ११ जिल्लामा १० जना तेस्रो लिंगीसहित १५ लाख ६८ हजार ९ सय २४ मतदाता छन् । पहिलो चरणमा ५ लाख ६३ हजार २४ एवं दोस्रो चरणका लागि १० लाख ५ हजार ९ सय मतदाता निर्वाचनमा सहभागी हँुदैछन् । पहिलो चरणमा प्रदेश अन्तर्गत गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र बागलुङमा ८ प्रतिनिधिसभा तथा १६ प्रदेशसभाको निर्वाचन हुँदैछ । यी जिल्लामा ५ सय ७६ मतदानस्थल अनि २ सय ४१ मतदान केन्द्र छन् । यसैगरी दोस्रो चरणमा पर्वत, कास्की, स्याङजा, तनहुँ र नवलपरासी (सुस्ता पूर्व) मा १० प्रतिनिधि तथा २० प्रदेशसभाको सिटका लागि निर्वाचन हुँदैछ । प्रदेशमा कुल ६ सय ७१ मतदानस्थल तोकिएका छन् ।
निर्वाचन क्षेत्र पुनर्संरचनाका कारण यो प्रदेशमा पनि निर्वाचन क्षेत्र घटेका छन् । पहिलो चरणमा ६ जिल्लाबाट ८ र दोस्रो चरणमा १० जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन् । यसका लागि वाम तथा लोकतान्त्रिक गठबन्धनकै उम्मेदवार हावी हुने अवस्था छ । पहिलो चरणमा निर्वाचन हुने प्रदेशसभाका ३६ सिटका लागि हुने निर्वाचनको पहिलो चरणमा ६ जिल्लाबाट १६ सिटका लागि करिब तीन दर्जनको उम्मेदवारी परेको छ । तीन दलका दुई अलग गठबन्धनसँगै विभिन्न दलले उम्मेदवारी दिएका छन् । एमाले–माओवादीको बाम गठबन्धन तथा कांग्रेससँग अन्य पार्टीको लोकतान्त्रिक गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने अवस्थाबाट ४ नम्बर प्रदेश पनि फरक छैन ।
गोरखाको २ नम्बर निर्वाचन क्षेत्रमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई कांग्रेसले सघाएको छ भने बाम गठबन्धनबाट माओवादीका नारायणकाजी श्रेष्ठ उम्मेदवार छन्, जसलाई मुलुकभर नै चासोका साथ हेरिएको छ ।
मुस्ताङमा कांग्रेसका रोमी गौचन थकालीले २०७० सालको संबिधानसभा चुनावमा आफ्नै पार्टीका बागी उम्मेदवार प्रेम तुलाचनलाई हराएका थिए । त्यतिबेला एमाले तेस्रो स्थानमा थियो । प्रदेशसभाका लागि कांग्रेसले निक्युर गुरुङ तथा छिरिङ धारा गुरुङलाई उम्मेदवार बनाएको छ । राप्रपा प्रजातान्त्रिकबाट प्रदेशसभाका लागि प्रवीणकुमार शेरचन तथा राप्रपाबाट नरबहादुर हिराचनको नाम दर्ता भएको छ । सबै दलबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि ९ जनाको उम्मेदवारी परेको मुस्ताङमा ५ वटा गाउँपालिका छन् जसमा मतदाता संख्या ९ हजार ४ सय २७ छ ।
४ नम्बर प्रदेशबाट प्रतिनिधिसभा सदस्यका दाबेदारहरूमा प्रमुख दलका चर्चित अनुहारहरूसमेत छन् । मुस्ताङमा कांग्रेसका रोमी गौचन थकाली, लमजुङमा माओवादीका देव गुरुङ, एमालेका दिलबहादुर घर्ती, गोरखामा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, बागलुङमा चम्पा खड्का तथा माओवादीका देवेन्द्र पौडेल राजनीतिक वृत्तमा पहिचान बनाएका अनुहार हुन् । तनहुँबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, सुस्ता पूर्वको नवलपरासीबाट कांग्रेस महामन्त्री शशांक कोइराला, ह्दयेश त्रिपाठी, कास्कीमा एमालेका रवीन्द्र अधिकारी तथा कांग्रेसका यज्ञबहादुर थापा आदि जनमानसमा चिनिएका अनुहार हुन् ।
एमाले र माओवादीले बाम गठबन्धन बनाएपछि उम्मेदवार छनोटसँगै जिल्ला तहमा संयुक्त भेला थालिकसकेका छन् । धेरै ठाउँमा कांग्रेस, एमाले र माओवादीबीच प्रतिष्पर्धा हुँदै आएका अघिल्ला निर्वाचनको नतिजाले यसपटक दुई गठबन्धनबीच मात्र प्रतिपस्र्धा हुने प्रस्ट पारिसकेको छ । निर्वाचनको परिणाममा यही निर्णायक हुने संकेत देखिएको छ । बाम गठबन्धनलाई चुनौति दिन कांग्रेसले अन्य दलसँग बनाएको लोकतान्त्रिक गठबन्धन कति प्रभावशाली हुन्छ, हेर्न बाँकी नै छ ।
गठबन्धनले एकातिर दलका केही आकांक्षीको अवसर खोसेर सघाउन आएका पार्टीलाई पनि उम्मेदवारी दिनुपर्ने हुँदा कतिपय पुराना कार्यकर्ता निराश पनि हुन सक्छन् भने अर्कातिर आफ्नो जमात बृद्धिले कार्यकर्ताको मनोबल बढ्न पनि सक्ने देखिन्छ । स्थानीय तहको निर्वाचनले जगाएको चासो जनतामा प्रतिनिधि र प्रदेशसभाप्रति पनि उत्तिकै छ । प्रदेशसभा निर्वाचनपछि प्रादेशिक विधानसभा कस्तो होला, प्रदेश सरकार कसरी चल्छ भन्ने चासो सबैतिर उत्तिकै छ ।
ह्याविभेट कम्पिटिसन
मंसिर २१ मा हुने दोस्रो चरणका ५ जिल्लाको निर्वाचनका लागि मनोनयन दर्ता भएपछि ४ नम्बरका कहलिएका नेताहरूको क्षेत्र प्रस्ट हुनेछ । यद्यपि पहिलो चरणमा मनोनयन दर्ता गरेर प्रचारमा होमिएमध्ये धेरैको ध्यान यतिबेला गोरखा–२ का प्रतिस्पर्धी बाबुराम भट्टराई तथा नारायणकाजी श्रेष्ठले खिचेका छन् । तनहुँमा रामचन्द्र पौडेल, नवलपरासीमा शशांक कोइराला, ह्दयेश त्रिपाठी, कास्कीमा रवीन्द्र अधिकारी यो प्रदेशका लागि सम्भावना बोकेका नेता हुन् । लमजुङको प्रदेश नम्बर २ बाट उम्मेदवारी दिएका एमालेका पृथ्वी सुब्बा गुरुङ चर्चामा आएका मुख्यमन्त्रीका दाबेदार हुन् ।
सात प्रतिस्पर्धी प्रतिनिधिसभाका लागि
लमजुङमा देव गुरूङ (माके) विरुद्ध दिलबहादुर घर्ती (कांग्रेस), म्याग्दीमा खमबहादुर गर्बुजा (नेका) विरुद्ध भूपेन्द्र थापा (बाम गठबन्धन), मुस्ताङमा रोमी गौचन थकाली (नेका) विरुद्ध प्रेमप्रसाद तुलाचन (एमाले), गोरखा १ मा चीनकाजी श्रेष्ठ (नेका) विरुद्ध हरि अधिकारी (माके), २ मा बाबुराम भट्टराई (नयाँ शक्ति) विरुद्ध नारायणकाजी श्रेष्ठ (माके), मनाङमा टेकबहादुर गुरुङ (नेका) विरुद्ध पोल्देन छोपाङ गुरुङ (एमाले), बागलुङ १ मा चम्पा खड्का (नेका) विरूद्ध सूर्य पाठक (एमाले) तथा २ मा निरज पुन (नेका) विरुद्ध देवेन्द्र पौडेल (माके) ।