साप्ताहिक संवाददाता
देश निर्वाचनमय भएको छ । मंसिर १० तथा २१ गते दुई चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि निर्वाचन हुने भएपछि सम्पूर्ण मुलुक नै यतिबेला निर्वाचनमा होमिएको छ । यही सेरोफेरोमा साप्ताहिकले केही कलाकारसँग उनीहरूलाई मन पर्ने नेताहरूका बारेमा जिज्ञासा राखेको थियो ।
रंगमञ्चबाट चलचित्रमा आएका अभिनेता रवीन्द्र झालाई दिवंगत नेता मदन भण्डारी तथा महेन्द्रनारायण निधि मन पर्छन् । झालाई भण्डारीको विचार तथा व्यक्तित्वले प्रभावित तुल्याएको छ । ‘महेन्द्रनारायण निधिले गर्नुभएको संघर्षलाई नजिकबाट नियाल्ने मौका पाएको छु, झा भन्छन्— वर्तमान समयमा भने गर्व गर्न लायक नेता कोही पनि छैनन् । ‘स्थानीय निकायको निर्वाचन २० वर्षमा एकपटक गराएर विश्व रेकर्ड राख्ने नेताहरूलाई कुन मनले मन पराउनु ? झा प्रतिप्रश्न गर्छन् । नेताहरूको क्रियाकलापकै कारण आफूमा राजनीतिप्रति वितृष्णा जागेको झाको तर्क छ ।
संगीतकार राजु सिंहका अनुसार मुलुकमा राजनीतिक दल तथा कार्यकर्ताहरू धेरै भए पनि जनता र देशको नेता फेला पर्न सकेका छैनन् । अहिले देशमा जो नेताहरू हुनुहुन्छ, उहाँहरूलाई काम गर्न पनि दिइएको छैन जस्तो लाग्छ । आम नागरिक देश र जनताका लागि काम गर्न सक्ने नेताको खोजीमा छन् । संगीतकार सिंह भन्छन्– युवा नेताहरूमा मलाई गगन थापा तथा योगेश भट्टराई मन पर्छन् । अवसर र मौका पाए भने उनीहरूले देशका लागि केही गर्नेछन् भन्ने लाग्छ ।
गीतकार महेश आचार्यलाई मन पर्ने नेताहरूको सूची लामै छ । आचार्यका अनुसार उनलाई गगन थापा, स्व. मनमोहन अधिकारी, स्व. बीपी कोइराला, स्व. कृष्णप्रसाद भट्टराई, डा. बाबुराम भट्टराई, लालबाबु पण्डित तथा रवीन्द्र मिश्र मन पर्छन् । ‘गगन थापाको जनताप्रतिको उत्तरदायी भावना, काम गर्ने शैली तथा जोस अनि स्पष्टसँग आफ्ना कुरा व्यक्त गर्ने बानी मन पर्छ, गीतकार आचार्य भन्छन्– ‘मनमोहन अधिकारीले प्रारम्भ गर्नुभएको आफ्नो गाउँ आफैं बनाउँ, सामाजिक सुरक्षा भत्ता तथा जनताप्रति समर्पित हुने भावना मन परेको थियो ।’
बीपी कोइरालाको अध्ययनशीलता, विनोदप्रियता, बौद्धिकता तथा उहाँले प्रतिपादन गरेको समाजवाद मनपर्ने बताउने गीतकार आचार्यलाई डा. बाबुराम भट्टराईको बौद्धिकता तथा उहाँले प्रधानमन्त्री हुँदा बौद्धिक सम्पत्तिको हकलाई नेपालको संविधानमा मौलिक हकअन्तर्गत राख्न गर्नुभएको पहलले प्रभावित तुल्याएको छ । कृष्णप्रसाद भट्टराईको निष्कलंक व्यक्तित्व तथा जस्तोसुकै तनावमा पनि हाँसी–हाँसी जिम्मेवारी लिने र त्यसलाई पूरा गर्ने बानी गीतकार आचार्यलाई निकै मन पर्छ । लालबाबु पण्डितको सरल जीवनशैलीबाट प्रभावित गीतकार आचार्य रवीन्द्र मिश्रको सरल एवं बौद्धिक व्यक्तित्व तथा युवाहरूप्रतिको सम्मानजनक व्यवहारबाट प्रभावित छन् ।
चलचित्र निर्देशक रमेश कोइराला दिवंगत नेताहरूमा बीपी कोइराला तथा कृष्णप्रसाद भट्टराईलाई मन पराउँछन् । बीपीले भूराजनीति तथा नेपाली जनता सुहाउँदो समाजवादको परिकल्पना गर्नुभयो । किसुनजीका दूरगामी प्रभाव पार्ने योजनाबाट प्रभावित निर्देशक कोइरालालाई अहिलेका नेताहरूमध्ये भने कोहही मन पर्दैनन् ।
शिक्षाविद् तथा गीतकार दीपिका रिमाल थापालाई पनि दिवंगत नेताहरू बीपी कोइराला, मदन भण्डारी तथा कृष्णप्रसाद भट्टराई मन पर्छन् । बीपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद, मदन भण्डारीको कम्युनिस्ट पार्टीलाई नौलो जनवादका नाममा लोकतान्त्रिक पार्टीमा रूपान्तरण गरेको कुरा मन परेको छ । बीपीको सिद्धान्तमै रहेका कृष्णप्रसाद भट्टराई तत्कालीन पञ्चायती व्यवस्थामा सर्वस्वहरण समेत भएका व्यक्तिका रूपमा मात्र होइन सुराही, छाता, गुन्द्री तथा एउटा बाकसको भरमा जीवन बिताउने आदर्श नेताका रूपमा समेत मन पर्छन् रिमाललाई ।
यसमा गायक शिव परियारको धारणा अलि पृथक् छ । शिव भन्छन्– ‘मैले आफ्नो जीवनकालमा त्यस्तो नेता, जसलाई सम्झँदा गर्वले छाती फुलोस्, भेटेँ भने अवश्य भन्नेछु । अहिलेसम्म मैले त्यस्तो नेता फेला पार्न सकेको छैन ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्यारिकेचर गरेर चर्चामा आएका अभिनेता घनश्याम गौतमलाई मन पर्ने नेता बीपी कोइराला, मदन भण्डारी तथा मनमोहन अधिकारी हुन् । बीपीले प्रजातन्त्रका लागि लडेको लडाइँ, मदन भण्डारीले जनताको बहुदलीय जनवादलाई दिएको जन्म तथा मनमोहन अधिकारीको आफ्नो गाउँm आफंै बनाउँm भन्ने नारा, सामाजिक सुरक्षा भत्ता लगायतका कार्यक्रम तथा नौ महिने लोकप्रिय सरकारका कारण उनलाई यी नेताहरू मन पर्छन् ।
गीतकार अम्बिका गुरुङलाई मन पर्ने नेता बीपी कोइराला हुन् । बीपी नेपालकै प्रथम जननिर्वाचित प्रधानमन्त्री हुनुका साथै नेपाली तथा हिन्दी भाषाका कुशल साहित्यकारका रूपमा पनि गीतकार गुरुङलाई बढी मन परेका हुन् । ‘बीपी एक एक कुशल साहित्यकार समेत हुनुभएको हुँदा उहाँ मलाई सबैभन्दा मनपर्ने नेता हुनुहुन्छ, गीतकार गुरुङ भन्छिन्– ‘बीपीले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व गर्दागर्दै पनि नेपाली भाषा साहित्यमा मनोवैज्ञानिक कथाको नयाँ प्रयोग गर्नुभएको थियो ।’
भिजुअल एडिटर निशान घिमिरेलाई नेपालमा आफ्नो स्वार्थभन्दा माथि उठेका नेताहरू छन् जस्तो लाग्दैन । घिमिरेका अनुसार आदर्शवादी नेताको कुरा गर्ने हो भने बीपी कोइराला उनलाई मन पर्छन्, तर उनले पनि आफ्नो इच्छा अनुसार काम गर्न नपाएकोमा घिमिरेलाई दु:ख लागेको छ ।
कलाकार विशाल भट्टराईका अनुसार आम नेपालीलाई मन पर्ने नेता भनेकै त्यो हुनसक्छ जसले जनताको जीवनयापनलाई सहज एवं सुरक्षित बनाउन चाहिने अग्रगामी सोच राखेर काम गर्छ । मेरो नजरमा त्यस्ता नेता नेपालमा एकदमै कम छन् र त्यस्ता राम्रा नेतामध्ये कतिपयलाई त मारियो भने कतिपयलाई मार्ने प्रयास गरियो । स्व.मदन भण्डारी त्यसकै शिकार हुनुभयो । भट्टराई भन्छन्— गोकर्ण विष्ट, विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र, उज्वल थापा तथा रञ्जु दर्शना मलाई वर्तमानमा मनपर्ने नेता हुन् । गीतकार तथा इभेन्ट म्यानेजर हेमा मानन्धर दिवंगत नेता भीमबहादुर तामाङलाई सबैभन्दा बढी मन पराउँछिन् । तामाङको सादा जीवन तथा उच्च विचारले मानन्धरलाई प्रभाविक तुल्याएको छ ।
गायक तथा संगीतकार धनीराम राईलाई दिवंगत नेता बीपी कोइराला तथा मदन भण्डारी मन पर्छन् । राईका अनुसार कोइराला तथा भण्डारी राष्ट्र र जनताको हकहितका लागि सधैं लडिरहनुभयो । संगीतकर्मी राईलाई आफ्नो सम्पूर्ण जीवन नै बलिदान दिएका यी दुई नेताको विचार सर्वमान्य पनि लाग्छ । गायक आनन्द कार्कीलाई भने नेपालमा मनपर्ने नेता नै कोही छैनन् । ‘ममा राजनीतिप्रति त्यतिसारो लगाव पनि छैन,’ कार्की भन्छन्– ‘सबै नेता उस्तै लाग्छन् ।’
हेयर स्टाइलिस्ट नीलडेभिड कटवाललाई नेपालका नेताहरूमध्ये केपी शर्मा ओली, गगन थापा तथा केशवकुमार बुढाथोकी मन पर्छन् । कटवालले नेता केपी शर्मा ओलीमा निडरता देखेका छन् । हक्की स्वभावका ओलीले मुलुकमा केही नयाँ गर्छु भन्ने भावना उजागर गरेको कटवाल बताउँछन् । युवा नेता गगन थापामा केही नयाँ सम्भावना देखेका छन् उनले । मुलुकलाई जहिले पनि थापाजस्तो नेताको खाँचो हुने कटवालको तर्क छ ।
बीपी कोइराला संगीतकार राम सिटौलालाई सबैभन्दा मनपर्ने नेता हुन् । ‘बीपीको विचार स्पष्ट थियो, माटो सुहाउँदो थियो, संगीतकार सिटौला भन्छन्– ‘देश र जनताको हितमा भएका एकमात्र नेता हुनुहुन्थ्यो बीपी ।’ सबैलाई मिलाउने अद््भुत क्षमताको उदाहरण पनि बीपी नै भएको सिटौलाको तर्क छ । आज मुलुकले बीपीको जस्तै व्यक्तित्व खोजेको छ, सिटौला भन्छन्– ‘तर फेला पर्ने सम्भावना भने न्यून छ ।’