दोस्रो चरणअन्तर्गत मंसिर २१ गते प्रदेश नम्बर ६ का दैलेख, सुर्खेत र सल्यानमा निर्वाचन हुँदैछ । प्रतिनिधिसभाका लागि सुर्खेत, दैलेखमा दुई/दुई र सल्यानमा एक क्षेत्र छन् । यी जिल्लामा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन र एमाले–माओवादी केन्द्रको वाम गठबन्धन मुख्य प्रतिस्पर्धामा छन् ।
दैलेखमा क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमालेका रवीन्द्रराज शर्मा र लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका दीपककुमार शाहीबीच प्रतिस्पर्धा हुँदैछ । प्रदेशसभामा कबाट वाम गठबन्धनबाट माओवादी केन्द्रका धर्मराज रेग्मी र कांग्रेसबाट कृष्णकुमार बीसी प्रतिस्पर्धामा छन् । त्यस्तै प्रदेश खमा वाम गठबन्धनबाट एमालेका अम्मरबहादुर थापा र कांग्रेसका जगतजंग थापा प्रतिस्पर्धामा छन् । दैलेख क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट एमालेका राजबहादुर बुढा र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका शिवराज जोशी मुख्य प्रतिस्पर्धामा छन् । प्रदेश सभामा कमा गठबन्धनका सुशील थापा र कांग्रेसका मधुरविक्रम खनाल र प्रदेश खमा वाम गठबन्धनका राजबहादुर शाही र कांग्रेसका दिक्पाल शाही प्रतिस्पर्धामा छन् ।
सुर्खेतमा प्रतिनिधिसभातर्फ कांग्रेसबाट क्षेत्र नं १ मा पूर्णबहादुर खड्का, २ बाट हृदयराम थानी मैदानमा छन् भने वाम गठबन्धनबाट क्षेत्र नं १ मा एमालेका धु्रवकुमार शाही, २ बाट एमालेकै नवराज रावतले उम्मेदवारी दिएका छन् । खड्का र थानी दुवै निवर्तमान सांसद हुन् । रावत एमालेका प्रदेश कमिटी सदस्य हुन् । उनी ०५१, ०५६ को संसदीय तथा ०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा एमालेबाट उम्मेदवार थिए ।
प्रदेशसभातर्फ कांग्रेसबाट क्षेत्र नं १ को प्रदेश कमा टेकबहादुर सिंह, खमा झकबहादुर डाँगी, क्षेत्र नं २ को प्रदेश कमा कमलराज रेग्मी खमा तप्तबहादुर विष्ट तथा वाम गठबन्धनबाट क्षेत्र नं १ को प्रदेश कमा माओवादी केन्द्रका ठम्मरबहादुर विष्ट, खमा एमालेका खड्ग खत्री, क्षेत्र नं २ को प्रदेश कमा एमालेका यामलाल कँडेल, खमा माओवादी केन्द्रका विन्दमान विष्टले उम्मेदवारी दिएका छन् । कँडेल एमाले पोलिट्ब्युरो सदस्य तथा प्रदेशका सह–इञ्चार्ज हुन् । उनीसँग कांग्रेसका जिल्ला सभापति कमलराज रेग्मीले प्रतिस्पर्धा गर्दैछन् । क्षेत्र नं २ को प्रदेश खमा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टसँग वाम गठबन्धनको तर्फबाट माओवादीका पूर्वविद्यार्थी नेता विन्दमान विष्टले प्रतिस्पर्धा गर्दैछन् ।
सल्यानमा प्रतिनिधिसभाको एक र प्रदेश सभामा दुई सिट छन् । प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता एवं विनाविभागीय मन्त्री टेकबहादुर बस्नेत, प्रदेशसभामा वाम गठबन्धनको तर्फबाट कबाट एमालेका गुलाबजंग शाह र खबाट प्रकाश ज्वाला छन् भने कबाट कांग्रेसका एकराज डिसी र खबाट कांग्रेसका डिल्लीराज रेग्मी मैदानमा छन् ।