साप्ताहिक संवाददाता
निर्वाचन अवधिमा देशभरका केही निर्वाचन क्षेत्रहरू ठूलो चर्चामा थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रतिस्पर्धामा उत्रिएको चितवन–३ होस् वा शेरबहादुर देउवाको चुनाव क्षेत्र डडेल्धुरा नै किन नहोस् । त्यहाँको रोचक प्रतिस्पर्धालाई लिएर चौतर्फी बहसहरू भैरहेका थिए, तर यी दुवै ठाउँमा दाहाल र देउवाले भारी मतान्तरमा विजय हासिल गरे ।
निर्वाचन अवधिभर कम चर्चामा रहेका क्षेत्र हुन् बर्दिया–१ र तनहुँ–१ । जहाँबाट क्रमश: एमाले उपाध्यक्ष वामदेव गौतम र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धामा थिए । उनीहरूका पक्षमा देखिएको भनिएको जनमत र चुनावी विश्लेषणले गौतम र पौडेलले सहजै जित हासिल गर्ने अनुमान गरिएको थियो । अझ बर्दियामा वाम जनमत ठूलो भएका कारण वाम एकताका सूत्रधार गौतमले हार्ने कल्पना कसैले गरेका थिएन् ।
तर वामदेव नेपाली कांग्रेसका नेता तथा सिँचाइमन्त्री सञ्जयकुमार गौतमसँग पराजित भए । त्यो पनि ७ सय ५८ को झिनो मतान्तरले । वामदेवले ४४ हजार ७६ मत पाए भने सञ्जयले ४४ हजार ८ सय ३४ मत प्राप्त गरेका थिए । वामदेवको हारलाई कतिपयले बर्दियाको विकासमा उनको निष्क्रिय भूमिकालाई कारण मानेका छन् भने केहीले केपी ओली निकट एक पूर्व सांसदको अन्तर्घातका कारण हारेको बताइरहेका छन् । वामदेव स्वयंले भने आफूलाई हराउन ठूलो षड्यन्त्र भएको दाबी गरेका छन् ।
सदाबहार विजेताको छवि बनाएका रामचन्द्र पौडेलको हारलाई कसैले पचाउन सकेका छैनन् । २०४८ यताका सबै पाँचवटा निर्वाचन जितेर डबल ह्याट्रिकको दाउमा रहेका पौडेल नेकपा एमालेका जिल्लास्तरीय नेता कृष्णकुमार श्रेष्ठसँग पराजित भए । श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याउँदा पौडेलले २७ हजार ६ सय ७५ मत मात्र पाए । जबकि उनले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा चुनावी प्रचारमा अगाडि सारेका थिए, तर पौडेलको उक्त प्रचारले आम मतदाताको मत जित्न सकेन् ।
कोइराला परिवारको विरासत भएको भूमि मानिन्छ— मोरङ । शेखर कोइराला कांग्रेसकी कुनै समयकी चर्चित नेतृ नोना कोइरालाका छोरा हुन् । विराटनगरको महेन्द्र मोरङ क्याम्पस पढ्दादेखि नै राजनीतिमा सक्रिय शेखर ०६४ सालको संविधानसभा उपनिर्वाचनमा मोरङ–७ बाट विजयी भएका थिए भने उनी ०७० मा पनि सोही क्षेत्रबाट निर्वाचित भए ।
कोइराला परिवारको लिगेसी, दुई पटक सोही क्षेत्रबाट निर्वाचन जितेको र राष्ट्रिय राजनीतिमा प्रभावशाली छवि भएका कारण शेखर कोइराला यस पटक पनि मोरङ–६ बाट जितका प्रबल दाबेदार थिए, तर यी हेभीवेट उम्मेदवार पनि पराजित हुन पुगे । कोइरालालाई नेकपा एमालेका लालबाबु पण्डितले ६ सय ७५ मतान्तरले पराजित गरे । पण्डितले ३३ हजार ९ सय ४१ मत पाउँदा कोइरालाले ३३ हजार २ सय ६६ मत मात्र पाए ।
गौतम, पौडेल र कोइरालाजस्तै थुप्रै हेभीवेटले यस पटक हारको स्वाद चाखेका छन्, जसमा सिन्धुपाल्चोक–२ का राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबरादेखि गोरखा–२ का माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसम्म छन् । नाति जर्नेलका रूपमा चर्चित पशुपति सिन्धुपाल्चोकमा एमाले उम्मेदवार शेरबहादुर तामाङसँग ८ हजारभन्दा बढी मतान्तरले पराजित भए । गोरखामा माओवादी केन्द्रका प्रभावशाली नेता श्रेष्ठ नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईसँग ६ हजार ८७४ मतले पराजित भए ।
राष्ट्रिय राजनीतिमा प्रभावशाली छवि भएका राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर–१ मा पराजित भए । उनी एमाले नेता कृष्णप्रसाद दाहालसँग पराजित भएका हुन् । थापाले ३४ हजार ५ सय ५८ मत ल्याउँदा दाहालले ४० हजार ६ सय ३० मत पाए । नेपाली कांग्रेसभित्र तेस्रो धारको अगुवाइ गरिरहेका पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला झापा–३ मा हार बेहोर्न बाध्य भए । उनी वाम गठबन्धनको साथ पाएका राप्रपा नेपालका उम्मेदवार राजेन्द्र लिङ्देनसँग १३ हजारभन्दा बढी मतान्तरले पराजित भए । यस्तै, पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता महेश आचार्य माओवादी नेता अमनलाल मोदीसँग मोरङ–४ मा ६ हजार ७ सय २९ मतले पराजित हुन पुगे ।
नेपाली कांग्रेसमा शेरबहादुर देउवापछि सभापतिका दाबेदार मानिएका विमलेन्द्र निधिले पारिवारिक विरासत रहेकै क्षेत्रमा पराजय भोग्नुपर्यो । धनुषा–३ का उम्मेदवार निधिलाई सर्लाहीबाट चुनाव लड्न धनुषा पुगेका राजपा अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले पराजित गरे । महतोले ३० हजार ७ सय ४२ मत ल्याउँदा निधिले २७ हजार ८ सय २८ मत पाए । नुवाकोट–१ र २ मा क्रममा पटक–पटकका मन्त्री तथा प्रभावशाली कांग्रेस नेताहरू रामशरण महत र अर्जुनरसिंह केसीको हारलाई पनि हेभीवेट हार मानिएको छ । केसीलाई एमाले उम्मेदवार नारायण खतिवडाले १० हजारभन्दा बढी मतले पराजित गरे भने महतलाई माओवादी उम्मेदवार हितबहादुर तामाङले ८ हजारभन्दा बढी मतान्तरले पराजित गरे । लमजुङमा कांग्रेसका प्रभावशाली नेता दिलबहादुर घर्ती माओवादी केन्द्रका नेता देव गुरुङबाट पराजित हुन पुगे । घर्तिले ३१ हजार ६७ मत प्राप्त गर्दा गुरुङको पक्षमा ३९ हजार ४ सय ६८ मत खस्यो ।
सुर्खेत–१ मा कांग्रेसका प्रभावशाली नेता पूर्णबहादुर खड्का र ह्दयराम थानी पराजित हुन पुगे । उनीहरू दुवै एमाले उम्मेदवारहरूबाट पराजित भएका थिए । कञ्चनपुर–३ मा कांग्रेसका अर्का प्रभावशाली नेता रमेश लेखक झिनो मतान्तरले पराजित भए । उनी एमाले उम्मेदवार दीपकप्रकाश भट्टसँग २५८ मतान्तरले पराजित भए ।
पटक–पटक प्रधानमन्त्री बनेका सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा धनकुटामा नराम्रोसँग हार्न पुगे । उनी एमालेका राजेन्द्र राईसँग १० हजारभन्दा बढी मतान्तरले पराजित भए । भक्तपुर–२ मा कांग्रेसका पुराना नेता दमननाथ ढुंगानामाथि एमाले युवा नेता महेश बस्नेत हावी भए । बस्नेतसँग पूर्व सभामुख ढुंगाना दोब्बर बढी मतान्तरले पराजित भएका थिए । ढुंगानाले १८ हजार ६ सय ७५ मत ल्याउँदा विजयी बस्नेतले भने ३६ हजार ४ सय १२ मत पाएका थिए । यस्तै, सोलुखुम्बुमा कांग्रेस उम्मेदवार तथा पूर्वमन्त्री बलबहादुर केसी, काठमाडौं–८ मा पूर्वमन्त्री नवीन्द्रराज जोशी तथा प्युठानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सिइओ गोविन्दराज पोखरेल पराजित भए ।
धनाढ्य मन्त्रीको छवि भएका राप्रपा प्रजातान्त्रिकका नेता दीपक बोहोराले रुपन्देही–३ मा विजयको झन्डा फहराउन सकेनन् । बहालवाला स्वास्थ्य मन्त्री बोहोरा एमालेका घनश्याम भुसालसँग ५ हजारभन्दा बढी मतले पराजित भए ।
निर्वाचनमा बहालवाला मन्त्रीहरू पनि बढारिए । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक–१ मा माओवादी नेता अग्निप्रसाद सापकोटासँग १० हजारभन्दा बढी मतान्तरले पराजित भए । कास्की–१ मा कानुनमन्त्री यज्ञबहादुर थापा, डोटीमा भौतिक पूर्वाधारमन्त्री वीरबहादुर बलायर, चितवन–३ मा वनमन्त्री विक्रम पाण्डे पराजित भए । यस्तै, बर्दिया–२ मा भूमिसुधार मन्त्री गोपाल दहित पनि
हार्नेहरूको सूचीमा सामेल भए । सहरी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत काठमाडौं–३ मा पराजित भइन् । उनी एमाले उम्मेदवार कृष्ण राईसँग ४ हजार २ सय ७५ मतले पराजित भएकी थिइन् । महिला तथा बालबालिका मन्त्री तथा राप्रपाका विक्रमबहादुर थापा काठमाडौं–७ मा एमाले उम्मेदवार रामवीर मानन्धरसँग पराजित हुन पुगे ।
बारा–३ मा श्रममन्त्री फरमुल्लाह मन्सुर पराजित भए । धनुषा–२ मा कृषिमन्त्री रामकृष्ण यादव पनि पराजित भए । धनुषा–४ मा खानेपानीमन्त्री कांग्रेस उम्मेदवार महेन्द्र यादव एमाले नेता रघुवीर महासेठसँग २ हजार ५ सय ४१ मतान्तरले पराजित भए ।
बहालवाला उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई ५ हजार ५ सयभन्दा बढी मतले पराजित गर्दै स्याङ्जा क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी नेतृ पद्मा अर्याल विजयी भएकी छिन् ।
प्रतिनिधिसभा /१६५ सिट
(प्रत्यक्ष निर्वाचित)
एमाले | ८० |
माओवादी केन्द्र | ३६ |
नेपाली कांग्रेस | २३ |
राजपा | ११ |
संघीय समाजवादी फोरम | १० |
राप्रपा | १ |
राष्ट्रिय जनमोर्चा | १ |
नेमकिपा | १ |
नयाँ शक्ति | १ |
स्वतन्त्र | १ |
प्रदेशसभा/३३० सिट (प्रत्यक्ष निर्वाचित)
प्रदेश नं. १ (५६ स्थान)
एमाले | ३६ |
माओवादी | १० |
कांग्रेस | ८ |
संघीय समाजवादी फोरम | १ |
स्वतन्त्र | १ |
प्रदेश नं. २ (६४ स्थान)
संघीय समाजवादी फोरम | २० |
राजपा | १५ |
एमाले | १४ |
कांग्रेस | ८ |
माओवादी केन्द्र | ६ |
स्वतन्त्र | १ |
प्रदेश नं. ३ (६६ स्थान)
एमाले | ४२ |
माओवादी केन्द्र | १५ |
कांग्रेस | ७ |
नयाँ शक्ति | १ |
नेमकिपा | १ |
प्रदेश नंं. ४ (३६ स्थान)
एमाले | १७ |
मओवादी केन्द्र | ९ |
कांग्रेस | ६ |
राष्ट्रिय जनमोर्चा | २ |
नयाँ शक्ति पार्टी | १ |
स्वतन्त्र | १ |
प्रदेश नं. ५ (५२ स्थान)
एमाले | २८ |
माओवादी केन्द्र | १४ |
कांग्रेस | ७ |
संघीय समाजवादी फोरम नेपाल | ३ |
प्रदेश नं. ६ (२४ स्थान)
एमाले | १४ |
माओवादी केन्द्र | ९ |
कांग्रेस | १ |
प्रदेश नं. ७ (३२ स्थान)
एमाले | १७ |
माओवादी केन्द्र | १० |
कांग्रेस | ४ |
राजपा | १ |