साप्ताहिक संवाददाता
मोरङको रङ्गेली–४ मा एक युवाको रहस्यमय तरिकाले गरिएको हत्या सम्पत्ति हडप्ने योजनाका साथ भएको प्रहरीले खुलासा गरेको छ । रङ्गेली–८ घर भएका १८ वर्षीय उपेन्द्रकुमार साहको हत्या नातामा भिनाजु पर्ने व्यक्तिले अन्य तीन जना सहयोगीका साथ ०६७ चैत ८ मा गरेका थिए । त्यतिबेला साहको हत्या गरी शौचालयको ट्याङ्कीभित्र शव फालिएको थियो । हत्या भएको तीन वर्षपछि साहको कंकाल तथा उनले लगाएको भेस्ट र ज्याकेट हत्यामा संलग्न इन्द्रलाल मण्डलको शौचालयबाहिर ०७१ कात्तिक १४ मा फेला परेको थियो । उपेन्द्रले लगाएको ज्याकेट र भेस्ट फेला परेपछि प्रहरीलाई हत्यारा पक्राउ गर्न सजिलो भयो ।
हत्यारा पत्ता लगाउन सक्रिय मोरङ प्रहरीले विशेष प्रहरी टोली परिचालन गरी हत्याका मुख्य योजनाकार रङ्गेली– ३ का शम्भुप्रसाद साहलाई रङ्गेली बजारबाट पक्राउ गरेको हो । हत्यामा संलग्न सोही ठाउँका अभियुक्त इन्द्रलाल मण्डल तथा ठेङ्वा भनिने रमेश मण्डल अझैसम्म फरार रहेको मोरङ प्रहरीले जनाएको छ ।
मृतक उपेन्द्र र अभियुक्त शम्भु नातामा साला–भिनाजु हुन् । जग्गा खरिद गर्दा अभियुक्त शम्भुका ससुरा अमरलाल साहसँग मनमुटाव रहेको प्रहरीले जनाएको छ । सम्पत्ति हडप्ने दाउमा शम्भुले आफ्नै सालाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
यसरी भएको थियो हत्या
शम्भुले सालाको हत्या गर्ने योजना पहिलेदेखि नै बनाएका थिए । उनले सालाको हत्या गर्न सहयोगी परमेश्वर भनिने बिजुल मण्डल तथा कृष भनिने जयकृष्ण मण्डललाई १ लाख रुपैयाँ दिने सहमति गरेका थिए । शम्भुले उनीहरूलाई ५० हजार रुपैयाँ एडभान्स दिए र काम सकिएपछि बाँकी पैसा दिने कुरा बताए । हत्या गर्न जयकृष्णले मृतक उपेन्द्रलाई घरबाट बोलाएर उनले मार्ने योजना बनाएको ठाउँमा पुर्याए । जयकृष्णले मोबाइलमा गीत बजाउँदै उपेन्द्रलाई भुलाइरहेका थिए ।
उक्त ठाउँमा शम्भु र ठेङ्वा भनिने रमेश पनि पुगे । त्यतिबेला रातको ११ बजेको थियो । उनीहरूले गाउँटोल सुनसान भएपछि उपेन्द्रलाई मार्ने योजना बनाएका थिए । परमेश्वर भनिने बिजुलले मृतक उपेन्द्रको खुट्टा पक्रिए, शम्भुले हात समाते अनि कृष भनिने जयकृष्णले घाँटी थिचेर उनको हत्या गरे । हत्यापछि उनीहरूलाई शव लुकाउन समस्या भयो । उनीहरूमध्ये जयकृष्णले शव लुकाउने जुक्ति निकाले । जयकृष्णले शौचालयभित्रको रिङमा मृतकको शव हाले कसैले थाहा नपाउने बताए ।
जयकृष्णले निकालेको जुक्तिमा उनीहरू सहमत भए । राति नै उनीहरूले साथी इन्द्रलाल मण्डललाई बोलाए । उपेन्द्रको हत्या गरेको विषयमा इन्द्रलाललाई जानकारी गराउँदै उनीहरूले हत्या गरेको कुरा कसैलाई भनिस् भने परिवारलाई सखाप पारिदिने धम्की दिएका थिए । ज्यान मार्ने धम्की पाएपछि इन्द्रलाल चुपचाप बसे । हत्याराहरूले उनकै शौचालयको रिङभित्र उपेन्द्रको शव हाले र माथिबाट ढक्कन लगाइदिए ।
यसरी पक्राउ परे शम्भु
उपेन्द्रको हत्याको आरोपमा पक्राउ परे पनि जिल्ला अदालतबाट सफाइ पाएर कैद मुक्त भएका साह उच्च अदालतले जन्मकैदको सजाय सुनाएपछि फरार भएका थिए । गाउँघरमा खुलेआम हिँड्ने शम्भुलाई पक्राउ गर्न मोरङ प्रहरीले सादा पोसाकका प्रहरी परिचालन गरेको थियो । मोरङ प्रहरीले अभियुक्त साहलाई १३ पुस २०७४ मा रङ्गेली बजारबाट पक्राउ गरी जिल्ला अदालत, मोरङमा बुझाउँदै विराटनगर कारागार चलान गरेको छ ।
जिल्लाबाट सफाइ पाएका अभियुक्तलाई उच्च
अदालतबाट कैद
जिल्ला अदालत मोरङबाट सफाइ पाएका शम्भुले उच्च अदालतबाट २० वर्ष कैद सजाय पाएका छन् । अभियुक्त शाहलाई २८ वैशाख २०७३ मा मोरङ जिल्ला अदालतले हत्याको आरोपमा सफाइ दिएको थियो, तर उक्त फैसला रीतपूर्वक नभएको भन्दै सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेपछि ३० जेठ २०७४ मा उच्च अदालत विराटनगरले जिल्ला अदालतको फैसला उल्ट्याएर अभियुक्त शाहलाई जन्म कैद (२० वर्ष) को सजाय सुनाएको थियो ।
लामो समयपछि न्याय पाइयो
जिल्ला अदालत मोरङबाट सफाइ पाएका मुख्य अभियुक्त शम्भु साहलाई उच्च अदालतबाट २० वर्ष कैद सजाय तोकिएपछि प्रहरीले उनलाई पक्राउ गरी जेल चलान गरेको घटनाबाट पीडित परिवारले न्याय पाएको अनुभूति गरेको प्रतिक्रिया दिएको छ । साप्ताहिकसँगको फोन सम्पर्कमा मृतकका बुवा अमरलाल साहले भने— ‘ढिलै भए पनि अदालत र प्रहरीबाट न्याय पाएका छौं । हत्यामा संलग्न केही अभियुक्त अझै फरार छन् । उनीहरू पनि पक्राउ परे छोराको आत्माले शान्ति पाउने थियो ।’