साप्ताहिक संवाददाता
विकेन्डबाहेक अरू बेला साँझ १०–११ बजे नै सुनसान भैसक्छ—दरबारमार्ग । त्यहाँका केही नाइट क्लब, लाउन्ज, डान्सबार तथा दोहोरीहरूले मात्र रात्रिजीवनको छनक दिइरहेका हुन्छन् । अझ राति सवारी जाम त विरलै हुन्छ । यद्यपि गत आइतबार दरबारमार्ग र ठमेल बिहानैसम्म जाग्राम थिए । राति अबेरसम्मै त्यो क्षेत्रमा ट्याक्सी र बाइकले सवारी जाम गराए ।
२०१७ को अन्तिम दिन अर्थात् ३१ डिसेम्बर २०१७ । न्यू इयर २०१८ लाई स्वागत गर्न दरबारमार्ग र ठमेलमा न्यू इयर सेलिब्रेसनका लागि ठूलो भिड ओइरियो । न्यू इयर इभको अवसर पारेर ठमेलमा आयोजित स्ट्रिट कन्सर्टमा हजारौं युवायुवती पसिना छुट्ने गरी उफ्रिए र चर्को गरी बजेको संगीतमा मस्ती गरे । टाउकोमा रंगीचंगी बत्ती बल्ने हेडबिन लाइट लगाएर सेल्फीमा रमाइरहेका तन्नेरीहरूलाई न त मध्य पुसको कठ्याङ्ग्रिँदो जाडोको वास्ता थियो, न त निन्द्रा र थकानको नै । बस केवल मस्ती लुट्नु थियो, उनीहरूले त्यही गरे ।
ठमेलको स्ट्रिट कन्सर्टमा मात्र होइन, झुन्ड–झुन्ड बनाएर रमाइरहेका युवाहरूका रोचक दृश्य ठमेलका भित्री गल्ली, चोकदेखि दरबारमार्ग र त्यहाँका रेस्टुराँ तथा नाइट क्लबहरूमा पनि उत्तिकै देखिन्थ्यो । कोही मायालुको अँगालोमा, कतै साथीभाइको ग्याङमा त कहीं परिवारका सदस्यहरू नै मिलेर न्यू इयर इभलाई इन्जोय गरिरहेका थिए ।
ड्रिंक्स, डान्स र संगीतका पारखीहरूजति नाइट क्लब, डान्सबार र क्लबहरूमा ओइरिएका थिए भने कोही स्ट्रिट कन्सर्टमै भरपुर आनन्द उठाइरहेका थिए । यस्तै पारखीहरूका लागि केही रेस्टुराँले समेत सांगीतिक कार्यक्रमको आयोजना गरेका थिए । दरबारमार्गको शेर्पा मलस्थित ओपिम रेस्टुरेन्ट एन्ड बारले सिर्जना ब्यान्ड ल्याएर सांगीतिक कार्यक्रम गरेको थियो । यस्तै ठमेल, दरबारमार्ग मात्र होइन, लाजिम्पाट, गौशाला, पंकनाजोल, नयाँ बसपार्क, त्रिपुरेश्वर, बानेश्वर आदि क्षेत्रका लाउन्ज तथा रेस्टुराँहरूले समेत न्यू इयर इभका विभिन्न पार्टी तथा सांगीतिक कन्सर्टहरू राखेर ग्राहकहरूलाई आकर्षित गर्ने प्रयासमा थिए ।
त्रिपुरेश्वरको कर्मा लाउन्जमा एमएस इन्टरटेनमेन्टले लाइभ ब्यान्ड र डिजेसहितको सांगीतिक कार्यक्रम चलाएको थियो । उक्त सांगीतिक वातावरणको स्वाद लिन १५ सयभन्दा बढी मानिस ओइरिएको कर्माका बार इन्चार्ज गोपाल गुरुङले बताए । लाजिम्पाटस्थित त्रिसराले गार्डेनमा लाइभ म्युजिक र बाहिर डिजेसहितको कन्सर्टको आयोजित गरेको थियो । त्रिसराका म्यानेजर क्षितिज लामिछानेका अनुसार त्यहाँ डिजे एजेन, डिजे रेडमस, डिजे आशिष आदिले प्रस्तुति दिएका थिए भने ८ सयभन्दा बढी सहभागी त्यहाँ भेला भएका थिए ।
केही समयअघि प्रशासनले दरबारमार्ग र ठमेललाई चौबीसै घण्टा खुला राख्ने निर्णय गरेको थियो, जसको भरपुर फाइदा नाइट लाइफमा रमाउनेहरूले उठाए । ‘न्यू इयर इभजस्तो महत्वपूर्ण अवसरमा दरबारमार्ग र ठमेलजस्ता हब चौबीसै घण्टा खोल्ने निर्णय गर्नु सकारात्मक कुरा हो,’ दरबारमार्गस्थित क्लासिक बर्मन क्लबमा ड्रिंक्ससँगै नृत्यको मस्ती लिइरहेकी बुटवलकी २३ वर्षीय तन्नेरी सुवाना भट्टराईले भनिन्, ‘प्रहरीको चुस्त सुरक्षा व्यवस्थाले हामीलाई खुल्ला हुन र रमाइलो गर्न सहज बनाएको छ ।’
त्यो दिन अरू दिनको तुलनामा क्लबहरूले दोब्बरभन्दा बढी ग्राहकलाई स्वागत गरे । शेर्पा मलको ओपिम रेस्टुरेन्ट एन्ड बारका सञ्चालक उद्धव ढकाल अरू दिनको तुलनामा दोब्बर बढी ग्राहकलाई आफूहरूले स्वागत गरेको बताउँछन् । ‘अरू दिनको तुलनामा हिजो दोब्बर बढी ग्राहकलाई स्वागत गर्ने मौका पायौं,’ उनले साप्ताहिकसँग भने, ‘अरू दिन १० बजे नै रेस्टुराँ बन्द गथ्र्यौं, हिजो १ बजेसम्मै खुल्ला राख्यौं ।’
रोचक त के भने दरबारमार्गको चल्तीको क्लब भिक्ट्रीले ग्राहकहरूको भार थेग्नै सकेन । एब्रिटरीले भिक्ट्रीलगायतका तिरसरा, अन्नपूर्ण आदि पाँच ठाउँमा कार्यक्रम गरेको थियो । ‘अघिल्लो वर्षको तुलनामा यो वर्ष न्यू इयर इभ मनाउन निकै ठूलो भीड उर्लिएको देखे,’ भिक्ट्रीका सञ्चालक सुरज कार्की भन्छन्, ‘हाम्रो क्लबलाई भिड थेग्नै हम्मे–हम्मे भयो ।’
ठमेलस्थित चल्तीको क्लब इबिजाका सञ्चालक मन्चिन शाक्य पनि अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष दोब्बरभन्दा बढी मानिस इभ मनाउन ठमेल आएको बताउँछन् । ‘पहिलेको तुलनामा निकै धेरै मान्छे आए । पहिले नेपाली न्यू इयरमा सबैभन्दा धेरै मानिस आउने रेकर्ड थियो । यस पटक अंग्रेजी न्यू इयर इभमा त्योभन्दा पनि धेरै मानिस आए,’ शाक्यले भने ।
दरबारमार्गको भन्दा ठूलो भिड ठमेलमा उर्लिएको थियो । ठमेलको मुख्य प्रवेशद्वार सञ्चय कोषअगाडिको सडकको स्ट्रिट कन्सर्टमा उपस्थित भिडलाई छिचोल्दै ठमेल पस्न हम्मे–हम्मे पथ्र्याे । ठमेल पर्यटन विकास परिषद्का सचिव दावाङ लामाले साढे ३ लाख बढी मानिस न्यू इयर इभमा ठमेलमा ओइरिएको बताए । ‘पहिलेको भन्दा झन्डै दोब्बर मानिस आए । एकदमै राम्रो भयो, झगडा पनि भएन्,’ उनले भने, ‘तीन किलोमिटर बाटो पूरै प्याक थियो ।’ ठमेलको स्ट्रिट कन्सर्टमा बिहानैसम्म नाच्नेहरूको भीड देखिन्थ्यो । दरबारमार्गको पश्चिम जयनेपाल लाइन र पकनाजोलमा सयौं ट्याक्सी ग्राहक पर्खिरहेको दृश्य अझ रोचक थियो ।
अनुशासित मनोरञ्जन
इभ मनाउन दरबारमार्ग ओइरिएका अधिकांश युवायुवती अनुशासित देखिन्थे । पिउनेहरू बार, क्लब र रेस्टुराँहरूमा पिइरहेका थिए । सडकमा पियक्कडहरूको होहल्ला र विवाद पनि उतिसारो सुनिएन ।
केही क्लबमा कुनामा बसेर किस गर्ने दृश्य सामान्य भए पनि सडकमै त्यस प्रकारका गतिविधि देखिएनन्, बरु रोचक दृश्य त के भने क्लासिक क्लबको गेटमा एक युवक आफ्नी श्रीमतीलाई आफूलाई कुनै जानकारी नदिई क्लबमा आएको भन्दै भकुरिहेका थिए । पछि उनलाई त्यहाँ उपस्थित अन्य मानिसहरूले रोकेर सम्झाउँदै शान्त बनाए ।
त्यसबाहेक सिट्ठी फुक्ने र होहल्ला गर्ने दृश्यहरू देखिए पनि भीडमा कसैले विवाद र झगडा गरेका दृश्य उति देखिएन । मानिसहरू मदिरा सेवन गरेर सडकमा पल्टिएका पनि देखिएनन्, बरु समूहमा रमाइलो गर्नेहरू नै बढी देखिए । रमाइलो त के भने न्यू इयर इभको वातावरणमा युवतीहरू पनि उन्मुक्त रूपमा मस्ती गरिरहेका देखिन्थे ।
बम्पर ब्यापार
दसैं, न्यू इयर, भ्यालेन्टाइन, क्रिसमसजस्ता अवसरहरूमा मस्तीका लागि जति जानिन्छन्, त्यति नै व्यापारका दृष्टिकोणले पनि बम्पर सावित हुँदै गएका छन् । यी अवसरहरूमा मस्ती चाहनेहरू दिल खोलेर खर्च गर्छन् भने व्यापारीहरू तिनै खर्चालु दिल भएकाहरूलाई वस्तु एवं सेवा उपलब्ध गराएर पैसा कमाउँछन् । न्यू इयर इभको यस पटकको वातावरण पनि दरबारमार्ग, ठमेल आदि क्षेत्रका व्यापारीहरूका लागि पैसा कमाउने वम्पर अवसर बन्यो ।
दरबारमार्गको सडकमा प्राय: विरलै देखिने दृश्य हो— स्टल म:म । मध्यपुसको कठ्याङ्ग्रिँदो चिसोमा आइतबार रातभर त्यहाँ म:मका स्टलहरू देखिए । त्यहाँ झुम्मिएर मम खानेहरूको ठूलै भीड लागेको थियो । यस्तै दृश्य ठमेलमा पनि देखिन्थ्यो ।
भीडको बीच सडकमै ससेज, ममदेखि रोल बेच्ने स्टलहरू थापिएका थिए । कतिसम्म भने ठमेलबाट पकनाजोल निस्कने भित्री गल्लीहरूमा समेत ठाउँ–ठाउँमा म:म पसलदेखि नेवारी परिकारका स्टलहरू खडा गरिएका थिए । यस्ता स्टलहरूमा योमरीदेखि बारासम्म पाक्थे— ग्राहकको मागअनुसार । सडकमा थापिएका खुद्रा पसलहरूमा बियरदेखि चुरोटसम्म उपलब्ध हुन्थे ।
ठमेल तथा दरबारमार्गका कफी सपदेखि केक सपसम्म, रेस्टुराँ, डान्सबारदेखि क्लबसम्मले न्यू इयर इभमा राम्रै व्यापार गरे । यसबाहेक अरू दिन ग्राहक कुरेर बस्ने रात्रिकालीन ट्याक्सी व्यवसायीहरूले समेत प्रशस्त ग्राहक पाए ।
६० जना प्रहरी हिरासतमा
न्यू इयर इभमा प्रहरीले मदिरा सेवन गरी होहल्ला र झगडा गर्ने ६० जनालाई नियन्त्रणमा लिएको छ, जसमध्ये ५९ जना पुरुष र एक जना महिला रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक वसन्त रजौरेले साप्ताहिकलाई बताए । रजौरेका अनुसार सबैभन्दा धेरै २७ जनालाई ठमेलबाट पक्राउ गरिएको हो भने अन्यलाई दरबारमार्ग, लैनचौर, लाजिम्पाट, क्षेत्रपाटी आदि स्थानबाट नियन्त्रणमा लिइएको हो ।
‘न्यू इयर इभ सुरक्षाका दृष्टिकोणले सामान्य नै रह्यो । चुस्त सुरक्षा व्यवस्थाका कारण त्यस्तो कुनै अप्रिय घटना हुन पाएन,’ रजौरेले थपे । प्रहरीले इभलाई लक्षित गरी बढी भीडभाड हुने क्षेत्र ठमेल, दरबारमार्ग, लाजिम्पाट, ललितपुरको झम्सिखेल र भक्तपुर दरबार क्षेत्रमा विशेष सुरक्षा व्यवस्था लागू गरेको थियो, जसका कारण ठूलो भीड ओइरिँदा पनि कुनै अप्रिय घटना हुन पाएन । हुनत कहिलेकाहीं गुन्डाहरूबीच हुने ग्याङफाइट, मादक पदार्थ सेवन गर्नेहरूले निम्त्याउने विवाद, ट्याक्सीले हान्ने डेढी, युवतीहरूमाथि हुने दुव्र्यवहारबाहेक काठमाडौंको नाइट लाइफ अनुशासित नै मानिन्छ । काठमाडौंमा हुने अक्सर यस्ता सेलिब्रेसनमा मदिरा सेवन गर्नेहरूले नै विवाद निम्त्याइरहेका हुन्छन्, जसलाई यस पटक प्रहरीले समयमै नियन्त्रण गरेर इभको आनन्द लिनेहरूका लागि सुखमय वातावरण निर्माण गर्ने प्रयास गर्यो ।
यस्तै, प्रहरीले दरबारमार्गलगायतका क्षेत्रमा मदिरा सेवन गरेर सवारी साधन चलाउनेहरूमाथि पनि कडाइ गरेको थियो, जसका कारण सडक दुर्घटना पनि कमै भए । प्रहरीले दरबारमार्गमै पनि कडा चेकजाँच गर्नुका साथै मादक पदार्थ सेवन गरेकाहरूलाई सवारी साधन चलाउनबाट रोकिरहेको थियो ।