एउटा जुत्तासहितको रातो पालिस लगाएको खुट्टा केटी मानिसको थियो, अर्को जुत्तासहितको खुट्टा केटा मानिसको थियो । खुट्टाहरू सँगैको पृष्ठभूमिमा पोखरीजस्तो वा खोलाको किनारजस्तो दृश्य पनि थियो । ती खुट्टा जसका पनि हुन सक्थे । कुनै प्रेमिल जोडीका पनि हुन सक्थे, कुनै दाजु–बहिनीका, दिदी–भाइका वा श्रीमान्–श्रीमतीका अथवा हुन सक्थे लामो समयपछि भेटिएका दुई साथीका अनि कुनै साइनो वा चिनजान नै नभएका पनि हुन सक्थे ती खुट्टा ।
ती खुट्टा देखेपछि मानिसहरूले अनुमानको खेती रोक्न सकेनन् । धेरैले प्रेमी–प्रेमीकाकै खुट्टा भनेर बधाई दिए । कतिले हुनेवाला श्रीमतीका खुट्टा होलान् भनेर पनि बधाई दिए । कतिले खुट्टावाली युवतीको नाम जान्न चाहे, कतिले अनुहार हेर्न चाहे तर कसैले पनि ती खुट्टाबीच खास नाता–सम्बन्ध थियो कि थिएन भनेर जान्न चाहेनन् वा खोजेनन् ।
जिन्दगीको निर्ममता तब हुन्छ जब कसैले न सत्यलाई पत्याइदिन्छ न झूटलाई पत्याइदिन्छ न त अर्धसत्य वा अर्धझूटलाई नै ! ती दुवै खुट्टा मैले समेत कहिल्यै नदेखेका पनि हुन सक्थें, तर मानिसहरूले यति निर्धक्क भएर त्यसलाई सामान्यीकरण गरे कि सँगै भएका खुट्टाहरू प्रेमिल जोडीका यौनिक खुट्टाबाहेक अरू कसैका हुनै सक्दैनन् ।
सबै कुराचाहिं बुझियो तर ती खुट्टा देखिसकेपछि सधैं सामान्य तरिकाले बोल्ने, जिस्कने धेरै अनुहारचाहिं किन बोल्नै छोडे वा कम बोल्न थाले बुझ्न सकिएन । कतिचाहिं अब त हामीसँग बोल्नु हुन्न होला है भन्दै छेडसमेत हान्न थाले । कतिको गुनासोचाहिं उनीहरूलाई कुनै सुइँकोसमेत नदिई अचानक कसरी ती खुट्टा सार्वजनिक भए भन्ने पनि रह्यो । मानौं त्यहाँ अरू कसैका खुट्टा नभएर उनीहरूको चाहिं हुनुपथ्र्यो । कतिचाहिं ती खुट्टा देखेर औधी खुसी पनि भए किनभने त्यस्ता खुट्टा पहिले तिनले कहिल्यै देख्न पाएका थिएनन् । खुट्टा देखिसकेपछि बिस्तारै शरीर र अनुहार पनि देख्न पाइएला भन्ने आश पनि हुँदो हो ।
कहिलेकांही अरू पनि बेग्लै हुन छोडेर आफूजस्तै हुन आयो भने मानिसलाई औधी खुसी मिल्छ । अरूको गोप्य कुरा थाहा पाएर वा भेउ पाएजस्तो गरेर त्यो कुरा अरूलाई सुनाउँदाको जस्तो मज्जा मानिसलाई अरू बेला सितिमिति आउँदैन ।
अझ अरूको रहस्य थाहा पाएर चुपचाप बसी रहस्यको पर्दाफास गर्न सक्ने क्षमता बटुलेर सौदाबाजी गर्दा जस्तो शक्तिशाली महसुुस मानिसले बारबार गर्न पाउँदैन । कहिलेकांही आफूले आश गरेको मान्छे अरूसँग हिंडेको, बोलेको वा हाँसेको देख्दा जस्तो आरिस मानिसलाई अरूबेला विरलै लाग्छ । कहिलेकाहीं आफूलाई मन परेको मानिस आफ्नो हुन नसके अरूको पनि हुन नसकोस् भन्ने लाग्छ, तर आफूले कम आँकेको मानिससँग आफूले विशेष मानेको मानिस सँगै देखिँदा जस्तो अहंमा ठेस जिन्दगीमा कहिल्यै लाग्दैन । आफूले जति मेहनत गर्दा पनि नपाएको मानिस अरूले कसरी सजिलै प्राप्त गर्छन् भन्ने रहस्य मानिसले कहिल्यै बुझ्न सक्दैनन् ।
आफूले चिनेको कुनै युवक कुनै नचिनेकी युवतीसँग वा चिनेकी कुनै युवती नचिनेको कुनै पुरुषसँग कतै सिनेमा हलमा, कतै रेस्टुराँमा वा कतै बाटोमा हिंडेको देखियो भने के ती शतप्रतिशत प्रेमिल जोडी मात्र हुन सक्छन् ? कुनै केटा मान्छे र केटी मान्छे चक्कर चलेपछि मात्र सँगै हुन्छन् कि ठक्कर खाएपछि पनि सँगै हुन सक्छन् ? सारा चीज छोपेर यदि कुनै पुरुष वा स्त्रीका खुट्टा मात्र सँगै देखिए भने के ती खुट्टा भर्खरै प्रेममा परेका प्रेमीका मात्र हुन सक्लान् र ? कि ती खुट्टा भोलिपल्ट अर्कैको हुन लागेका तर अन्तिम पटक भेटेर अब कहिल्यै नभेट्ने कसम खाइरहेका पुराना प्रेमी–प्रेमिकाका पनि हुन सक्लान् ? के ती खुट्टामध्ये एक खुट्टा एकछिनपछि बिदेसिन लागेको अर्कैको लोग्ने वा श्रीमतीको हुन सक्दैन ? के ती खुट्टा अत्यन्तै आदरभाव राख्ने गुरु–चेलीका हुन सक्दैनन् ? के ती खुट्टा आत्तिरहेकी नवजवान छोरी र सम्झाइरहेको अधबैंसे बाबुको हुन सक्दैन ? कसले भन्न सक्छ खुट्टाधारीहरू कतिबेर अँगालोमा रोए वा एक–अर्कालाई कहिल्यै छोएनन् ? कसले भन्न सक्छ ती खुट्टाले जिन्दगीका कति कोस पार गरे वा जिन्दगीको कत्रो भार थामे ?
सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका ‘रहस्यमय खुट्टाहरू’ आखिर कसका हुन सक्छन् ? ती खुट्टा अझै सँगै हिंड्दै होलान् कि छुट्टिएर कोसौं टाढा पुगे होलान् ? मान्नुस् वा नमान्नुस्, तपाईंले जतिसुकै अनुमान लगाए पनि जिन्दगीका केही रहस्य कहिल्यै सुल्झँदैनन्, सुल बनेर मुटुमा गाडिइरहन्छन् ।
Facebook.com/abeeralthapa / Twitter@abeeralthapa