कसको सम्बन्ध कतिखेर जोडिन्छ र कतिखेर तोडिन्छ, कसैले भन्न सक्दैन । सुरुवातमा महजस्तै गुलियो लाग्ने सम्बन्धको अन्त्य तीतो र स्वादविहीन हुन्छ । सम्बन्धमा वाचा–कसम खानेहरू धेरै होलान्, तर त्यसले लालमोहर लगाउन सक्दैन ।
मानिसपिच्छेका चाहना र महत्त्वाकांक्षा फरक हुन्छन् । कसैलाई धन चाहिएको हुन्छ, कसैलाई माया । जोसँग जे छैन ऊ त्यसकै प्राप्तिमा भड्किरहेको हुन्छ । जिन्दगीमा को कतिबेला केमा चुक्छ, कसैले भन्न सक्दैन । कसैलाई सबै थोक भएर पनि आफ्नो जीवनमा केही छैन भनेजस्तो लाग्छ, कसैलाई केही नभएर पनि पुगेकै त छ भन्ने हुन्छ । को कति पाएर खुसी हुन्छ र कति नभएर दु:खी हुन्छ ठ्याक्क नाप्न सकिँदैन । बाहिरबाट अरूले हेर्दा यसलाई के नपुग्दो थियो र यस्तो गरेको होला भन्ने लाग्छ, तर ऊ चाहेको पाउन नसकेर भित्रभित्रै तड्पिइरहेको कसैले देखेको हुँदैन । पैसा हुँदैमा सबैले चाहेको कुरा किनेरै प्राप्त हुन्छ भन्ने पनि छैन । समय र प्रेम पैसाले किन्न सकिने कुरा पनि होइनन् । सुख–सुविधा हुनेहरू प्रेम खोज्दै हिंडेका र प्रेम पाएकाहरू सुख–सुविधा खोज्दै भौंतारिइरहेका भेटिन्छन् । सम्भवत: कुनै न कुनै अभावमा जिउनु मानिसको नियति हो ।
प्रेमी वा जीवनसाथी नामको मानिस हुनु र प्रेम अनि साथ–भरोसा पाउनु फरक कुरा हो । यो समाजमा परिवार र समाजका लागि सँगै बसे पनि भुङ्ग्रोमा परेको माछाजस्तो तड्पिएर बसेका कैयन् जोडी भेटिन्छन् । एक–अर्कासँग असन्तुष्ट भए पनि सम्बन्धविच्छेद पनि गर्न नसक्ने र मिल्न पनि नसक्नेहरू धेरै छन् । घरमा खुसी नभएर बाहिर लुकीछिपी खुसी खोज्दै हिंड्नेहरू पनि उत्तिकै हुन्छन् भने एउटै घरमा बसे पनि एक–अर्काको जानकारीमै अन्य सम्बन्धमा रमाइरहेका समेत उत्तिकै भेटिन्छन् । मानिस असन्तुष्टिको पोको हो । मानिसका अनेक प्रकारका भोक र सौख हुन्छन् । खुलेर कुरा गर्न नसक्नु, एक–अर्काको इच्छा–चाहनाको सम्मान नगर्नु, भौगोलिक रूपमा टाढा रहनु, उचित समय दिन नसक्नु, अनावश्यक महत्वाकांक्षा पाल्नुजस्ता कारणले सम्बन्धमा दरार पैदा हुन्छ । एउटै मानिसमा सबै गुण हुँदैन । आफूले नपाएको कुरा मानिसको मनले खोजिरहेको हुन्छ । मानिसले त्यतिबेलासम्म सम्झौता गर्छ जबसम्म पाउँदैन, पाएपछि उपभोग गर्न अग्रसर भैहाल्छ ।
आजको सूचना–प्रविधि र भौतिकवादी युगमा सामाजिक मूल्य–मान्यताभन्दा पनि मानिसले आफ्नो खुसी र स्वतन्त्रता हेर्छ । कसैसँग नजिक हुने वा सञ्चार कायम गर्ने अनेक माध्यम छन् । केटाकेटी दुवै कामकाजी हुन्छन् र कामकै दौरानमा अनेक मानिस फेला पर्छन् । आजको युगमा सम्बन्ध बनाउन भन्दा पनि एउटै सम्बन्धमा इमान्दार रहन र खुसी भएर बस्न सक्नु हरेक जोडीका लागि ठूलो चुनौती हो ।
प्रेम सम्बन्धमा दरार आउनु र वैवाहिक सम्बन्धमा दरार आउनुमा पनि तात्विक भिन्नता हुन्छ । प्रेम सम्बन्धमा समस्या पैदा भए केवल दुई जनालाई असर पर्छ भने विवाहपछिको सम्बन्ध बिग्रिए दुई व्यक्ति मात्र होइन, दुई परिवार र समाज पनि जोडिन्छ । विवाहपछि सम्बन्ध बिग्रँदा मुख्य रूपमा छोराछोरी छन् भने उनीहरूलाई आघात पर्छ । एकफेर सम्बन्ध बिग्रिएको मानिसलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ । उसले अनेक खालका स्पष्टीकरण दिंदै हिँड्नुपर्ने हुन्छ । बाहिरका मानिसलाई कसको दोष कति थियो, जानकारी हुँदैन । सबैले आफ्नै खालका अनुमान लगाउँछन् । खास यस्तै भएको थियो भनेर अरूलाई भन्दै र बुझाउँदै हिंड्न पनि सकिँदैन । आफूले खाँदै नखाएको विषले पनि असर गर्छ ।
सम्बन्धहरू जुट्छन्, टुट्छन्, यो नियमित प्रक्रिया हो तर मानिसको मन टुट्नु हुँदैन । दोषको मात्रा धेर–थोर हुनसक्छ । सम्बन्धमा सकेसम्म मिलेरै बस्ने हो, मिल्न नसके सकेसम्म झगडा नगर्ने हो तर झगडा नै हुन थाले सहमतिमै अलग हुनु नै समाधानको उत्तम उपाय हो । जुन बिन्दुसम्म मिल्न सकिन्छ वा मिलिएको थियो त्यसलाई सम्मान गर्दै आफ्ना कमी–कमजोरीलाई आत्मसात् गर्न सके जस्तोसुकै असहमतिलाई पनि सहमतिमै निराकरण गर्न सकिन्छ ।
सधंै सँगै रहिरहन नसकिएला, तर भविष्यमा कतै भेट्दा मुन्टो अर्कातिर फर्काएर वा धारे हात लगाएर श्राप दिनुपर्नेसम्बन्ध कसैको नहोस्, बरु विगतको प्रेम सम्झिएर ओठमा मुस्कान आओस् र आफ्नो गल्ती सम्झँदा आत्मज्ञान जागोस् । भेटिनु, छुट्टिनु त के हो र ? नमेटिनु पो ठूलो कुरा हो त !
Facebook.com/abeeralthapa
Twitter@abeeralthapa