साप्ताहिक संवाददाता
कलाकारहरु बिस्तारै समाज सेवामा खुलेर लाग्न थालेका छन् । हास्यकलाकार सिताराम कट्टेल तथा कुञ्जना घिमिरेले सन्तपुरमा एक बस्ति पीडितलाई हस्तान्तरण गरेकै दिन काठमाण्डौंमा अर्को बस्ति निर्माणका लागि म्यूजिकल नाइट सम्पन्न भएको छ । सिन्धुपाल्चोकको ‘माझी बस्ती’निर्माण सहयोगार्थ काठमाण्डौको अन्नपूर्ण होटलमा ‘कान्छी म्यूजिकल नाइट २०१८’ सम्पन्न गरिएको हो ।
स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापित ‘श्वेता श्री फाउण्डेशन’ले सिन्धुपाल्चोक जिल्लाको भ्याडीटोलमा निर्माणाधीन माझी बस्तीको लागि सहयोग जुटाउन आयोजना गरको कार्यक्रममा चलचित्र र सांगीतिक क्षेत्रका थुप्रै कलाकारको उपस्थिती रहेको थियो ।
कार्यक्रममा चलचित्रका अभिनेता दयाहाङ राई, अभिनेत्री श्वेता खड्का, निर्देशक आकाश अधिकारी, गायक तथा संगीतकार राजनराज शिवाकोटी, गायक युवराज चौलागाई, गायक धर्मेन्द्र सेवान, अभिनेता बिनोद भण्डारी, अभिनेत्री जेबिका कार्कीले विभिन्न प्रस्तुतीमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरे । समारोहमा जीतु नेपाल, सन्दिप क्षेत्री तथा शैलेन्द्र सिम्खडाले व्यंग्यात्मक प्रस्तुतीमार्फत दर्शकलाई हँसाए ।
समारोहमा चलचित्रको ‘चरी चट्ट परी...’ का सर्जक राजनराज शिवाकोटीलाई बंगलादेशमा बनेको रनर्स बाइक उपहारस्वरुप प्रदान गरियो भने चलचित्र क्षेत्रमा योगदान पुर्याउने नृत्य निर्देशक वसन्त श्रेष्ठ, चरित्र अभिनेत्री बसुन्धरा भुसाललगायतलाई सम्मान समेत गरियो । चलचित्र कान्छि फागुन ४ गतेदेखि प्रदर्शन हुँदैछ ।