मोरङ प्रहरीले दुई महिनाको अवधिमा विराटनगरबाट हुन्डीको कारोबार गर्ने मुख्य नाइकेसहित १० जनालाई पक्राउ गरेपछि त्यस्ता व्यक्तिहरू चाँडै पैसा कमाउने उद्देश्यअनुरूप उक्त धन्दामा लाग्ने गरेको प्रहरीले खुलासा गरेको छ ।
पैसाको स्रोत खुलाउन नपर्ने र भनेका बेला एजेन्टमार्फत अन्तर्राष्ट्रियस्तरमा सजिलै पैसा पठाउन सकिने भएकाले अवैध रुपमा हुन्डी धन्दामा लाग्ने गरेको प्रहरीको अनुसन्धानमा देखिएको हो । जिल्ला प्रहरी कार्यालय, मोरङले सादा पोसाकमा विशेष प्रहरी परिचालन गरी गत बिहीबार विराटनगरको केशलिया मार्गबाट ३६ लाख रुपैयाँसहित ४ जना हुन्डी कारोबारीलाई फक्राउ गरेको थियो । यसअघि हुन्डीको कारोबार गर्ने मुख्य अभियुक्त अनुपचन्द सेठियासहित ६ जनालाई विराटनगरबाटै ८६ लाख रुपैयाँसहित पक्राउ गरेपछि मोरङ प्रहरीले हुन्डीका कारोबारीहरू विरुद्ध आफ्नो सक्रियता बढाएको हो ।
पक्राउ पर्नेहरूमा विराटनगर–७ का १९ वर्षीय सुदर्शन साह, विराटनगर–११ का २४ वर्षीय निरन्जन कुमार साह, सोराभाग–८ घर भै हाल विराटनगर–६ बस्ने ४१ वर्षीय सन्तोषकुमार रौनियार तथा विराटनगर–१७ का २८ वर्षीय साकिब आलम छन् । पक्राउ परेकामध्ये रौनियार गिरोहका नाइके हुन् । उनीहरूबाट प्रहरीले ३६ लाख १८ हजार २ सय ५० रुपैयाँ, एयरटेल कम्पनीको भारतीय सिमकार्ड १ थान तथा विभिन्न कागजातसमेत बरामद गरेको छ ।
पक्राउ परेका अभियुक्तहरूलाई सम्पत्ति शुद्धीकरणअन्तर्गत मुद्दा चलाइने मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए । ‘अवैध हुन्डीका कारोबारी र ठूलो परिणाममा नगद फेला परेको छ,’ मोरङका एसपी विसीले भने, ‘अहिलेसम्म उक्त सम्पत्तिको स्रोत खुलेको छैन ।’ एसपी बिसीका अनुसार यो गिरोह भारतका विभिन्न ठाउँमा हुन्डीमार्फत पैसा पठाउन सक्रिय थियो । भारतमा पैसा पठाउन यो गिरोहले यहाँ नगद संकलन गर्ने र सम्बन्धित ठाउँमा पुर्याउने काम गरेको देखिन्छ ।
विराटनगर क्षेत्रमा ठूलै संख्यामा अवैध रुपमा हुन्डीको कारोबार भैरहेको प्रहरीले बताएको छ । ‘छोटो समय अवधिमा फरक –फरक मितिमा हुन्डीको मुख्य गिरोहसहित कारोबारीहरू पक्राउ परेका छन्,’ एसपी बिसी भन्छन्, ‘विराटनगर क्षेत्रमा हुन्डीको कारोबार गर्ने गिरोह भित्री रूपमा अझै सक्रिय हुन सक्ने अनुसन्धानले देखाएको छ ।’
प्रहरीले गत १ मंसिरमा हुन्डीको कारोबार गर्ने विराटनगरको एउटा अर्को ठूलो गिरोह सार्वजनिक गरेको थियो । उक्त गिरोहमा विराटनगरका व्यापारी अनुपचन्द सेठिया संलग्न थिए । सेठिया हाल विराटनगर कारागारमा छन् ।
यसरी पक्राउ परे कारोबारी
हुन्डीको कारोबार गर्ने व्यापारी अनुपचन्द सेठियालाई प्रहरीले पक्राउ गरेपछि विराटनगरमा अझै अवैध रुपमा हुन्डीको कारोबार भैरहेको मोरङ प्रहरीलाई भरपर्दो सूचना प्राप्त भयो । प्रहरीले तत्काल हुन्डी कारोबारीहरूलाई पक्राउ गर्ने योजना बनायो । अवैध हुन्डी कारोबारीलाई नियन्त्रणमा लिन मोरङ प्रहरीले प्रहरी निरीक्षक सुवास भट्टराईको नेतृत्वमा सादा पोसाकका प्रहरी परिचालन गर्यो ।
हुन्डी कारोबारीहरूले सन्तोष कुमार रौनियारले भाडामा लिएको घरको कोठामा कार्यालय राखेर अवैध रूपमा कारोबार गरिरहेका थिए । उक्त घरमा निगरानी राख्दै प्रहरीले घेराबन्दी गर्यो । प्रहरीले मुख्य अभियुक्त रौनियारलाई पैसा मिलाइरहेको अवस्थामा र सुदर्शन साह तथा साकिब आलमलाई पैसा लिएर उक्त घरबाट बाहिर निस्किरहेको अवस्थामा विराटनगर– ११ केशलिया मार्गस्थित कन्हैया गुप्ताको घरको गेटबाट पक्राउ गरेको थियो ।