माघ २६, २०७४
कम्बोडिया प्रहरीले त्यहाँ घुम्न पुगेका १० जना पर्यटकलाई यौन आशन झल्कने खेल खेलेको अभियोगमा पक्राउ गरेको छ । विभिन्न देशबाट आएका पर्यटकहरूले कम्बोडियाको लोकप्रिय गन्तव्य अंकोरभाट मन्दिर नजिकको एक पबमा त्यस्तो हर्कत देखाएको बताइन्छ ।
अश्लील हाउभाउ देखिने किसिमको डान्स गरेको तस्बिरलाई उनीहरूले नै सामाजिक सञ्जालमा अपलोड गरेपछि प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको हो । पक्राउ पर्नेमा अधिकांश बेलायती नागरिक छन् । पक्राउ परेकाहरूले उक्त पार्टीमा १ सयभन्दा बढी व्यक्ति सहभागी भएको जनाएका छन् ।
प्रहरीले धार्मिक आस्थाको केन्द्र मन्दिर वरिपरि अश्लील क्रियाकलापलाई बढावा दिएका कारण ती पर्यटकलाई पक्राउ गरिएको कुरा बताएको छ ।