अक्सर नजिकका साथीलाई गोप्य कुरा सुनाइन्छ तर अरूलाई जति सुनाए पनि आफ्नो कमजोरीको केही अंश भने जो कसैले लुकाएरै सुनाएको हुन्छ । सहानुभूति खोज्नु मानिसको स्वभाव नै हो । अरूलाई दोषी देखाएर पानीमाथिको ओभानो बन्न गोप्यता कायम गरिन्छ । मानिस आफू तल परेको कुरा देखाउन वा भन्न चाहँदैन । गोप्य कुरा सुनाउन नपाउँदाको सकस बेग्लै हुन्छ ।
कसैलाई नसुनाउनु है भनेर विश्वास गरेर सुनाउने जो कोहीको एउटा न एउटा साथी त भैहाल्छ । उसले पनि उसको त्यस्तै विश्वासिलो पात्रलाई त्यही भनेर सुनाउँछ । यसरी सबै विश्वास पात्रलाई सुनाउँदा–सुनाउँदा गोप्य कुरा एककान मैदान हुँदै गाउँ सहरभरि फैलिसक्छ । ए तैंले थाहापाइस् त्यस्तो भएछ नि, त्यसले त्यस्तो गरेछ नि भनेर जानीजानी थाहा दिने हामी आफैं हुन्छौं । पहिलोपल्ट यौनसम्पर्क राखेको कुरा कोसँग त्यस्तो राखेको भन्ने कुरा वा आफू ठगिएको कुरा अक्सर गोप्य राख्न खोजिन्छ भने पनि संशोधित र आफ्नो कुरा माथि पारेर भनिन्छ । आफूले गरेका उटपटयाङ कामहरू, अरूलाई दोषी ठहराएर आफू जोगिएका कुराहरू मानिसले कहिल्यै सुनाउँदैन । खासै असर नपर्ने खालको छ भने केही समयपछि सुनाउँछ तर गम्भीर प्रकृतिको कुरा जीवनभर आफैंसँग गोप्य रहन्छ ।
सम्बन्धमा प्रेमीलाई वा श्रीमान्–श्रीमतीलाई छल गरेका, ढाँटेका कुरा गोप्य रहन्छन् । कतैबाट कुरा चुहिए पनि आफू चोखो बनेर अरूलाई नै दोषी देखाइन्छ । कतिपय लाजमर्दा कुरा सुनाउनै सकिँदैन । कसै समक्ष प्रेम प्रस्ताव राख्दा अस्वीकार गरेको कुरा, झापड खाएको कुरा कसैले थाहा नपाए हुन्थ्यो जस्तो लाग्छ । आफ्नो कारणले अरूको ज्यान गएको, घरवार बिग्रिएको कुराले मनमा पश्चाताप वा दु:ख लागे पनि मानिस बरु आफैं पिल्सिएर बस्छ तर म दोषी थिएँ सजाए पाऊँ भनेर भन्न सक्दैन ।
कहिलेकाहीँ आफू बच्न अरूलाई फसाइएको हुन्छ । कहिलेकाहीँ साथीहरूको लहैलहैमा लागेर अपराध गरिएको हुन्छ तर सकेसम्म कसैले थाहा नपाओस् भनेर लुकाइएको हुन्छ । कति कुरा साथीहरूलाई मात्र थाहा हुन्छ घरका मानिसलाई थाहा हुँदैन । कति कुरा घरकालाई थाहा हुन्छ साथीहरूलाई हुँदैन ।
यौवनकालमा साथीहरूसँग गरेको रमाइलो र बदमाशीले बुढेसकालसम्मै मानिसलाई रोमाञ्चक बनाउँछ । आफ्नो गोप्य कुरा अरुलाई थाहा हुन्छ अर्काको आफूलाई थाहा हुन्छ । दुवै तैं चुप मैं चुपभएर आ–आफ्नो बचाऊ गर्छन् । कहिलेकाहीँ त्यस्ता साथीको सम्बन्ध बिग्रिएर पोल खोलाखोल भै दुवै जना फसेका पनि कैंयन उदाहरण छन् । कुराहरू मनमा गोप्य त राखिन्छ तर त्यसले भित्रभित्रै खाइरहेको हुन्छ ।
अरूको गोप्य कुरा पत्तालगाएर फसाउन पाए हुन्थ्यो भनेर पछि परेका शत्रु पनि हुन्छन् । व्यक्तिदेखि लिएर एउटा देश अर्को देशको गोप्य सूचना चुहाउन लागि परेको हुन्छ । कसले कति पैसा कमायो के गरेर कमायो, नयाँ के आविष्कार गर्यो, नयाँ रणनीति के बनाउँदैछ थाहा पाउन जो कोही लागि परेकै हुन्छन् । कुन कलाकार वा खेलाडीको कोसँग चक्कर चलिरहेको छ थाहा पाउन पत्रकारहरू पछि परेका हुन्छन् । अर्काको गोप्यता भंग गरेर भड्खालोमा हाल्न खोज्नेहरू र अरूको गोप्यता फुस्किएको थाहा पाएर खुच्चिङ भन्न मानिसहरू पर्खिएर बसेका हुन्छन् । कतिको घूस खाएर पैसा कमाएको कुरा बाहिर आउँछ कतिले कान्छी श्रीमती बाहिर राखेको वा अर्कै केटासँग सम्बन्ध राखेको कुरा फुस्किन्छ । गोप्य कुरा भंग हुँदा अरूलाई रमाइलो होला तर पर्ने मानिसलाई सहन कति गाह्रो हुन्छ त्यो पर्नेलाई मात्र थाहा हुन्छ ।
कहिलेकाहीँ यहाँ त कसले थाहा पाउला र ? कसले नै देख्ला र भनेर घुम्न गयो कसै न कसैले देखेर घरमा कुरा लाउन भ्याइसकेको हुन्छ । तिम्रो छोरा वा छोरी त फलानोसँग फलानो ठाउँमा डुल्दै थियो बेलैमा होस गर्नु है मैले त बेलैमा भन्देको छु क्यारे भनेर कान भर्न भ्याइसकेका हुन्छन् । सानो छँदा घरमा वा स्कुलमा ढाँटेर फिल्म हेर्न खेल्न गएको कुरा कसैले देखेर घरमा कुरा लाइदिँदा कतिले गालीखाई सही बाटो पनि समातेका हुनसक्छन् । सबै गोप्य कुरा भंग भएर हानी मात्र हुँदैन । कहिलेकाहीँ डुब्न लागेको पैसा जोगिन्छ । गोप्य कुरा भंग भएर सम्बन्धविच्छेद हुनेदेखि लिएर बोलचाल बन्दसम्म हुन्छ । आफ्नो गोप्य कुरा भंग नगर भनेर डर धाकधम्की दिएर कतिले शोषण पनि गरिरहेका हुन्छन् । कतिले गोप्यता भंग गर्दिन लाग्दा आवेशमा आएर हत्यासम्म गर्न पुग्छन् । कतिले घरमै बाल यौनशोषण वा कार्यालयमा शोषण गरिरहेका हुन्छन् । अफिसमै त्यस्तो गोप्यता भंग भएर कतिले जागिरबाट हात धुनुपर्छ ।
तपाईं जतिसुकै गोप्य राख्न खोज्नुस् भित्ताका कानले र दुनियाँका हजार आँखाले पछ्याइरहेका हुन्छन् । के तपाईंका पनि गोप्य कुरा छन् जुन कसैलाई कहिल्यै भन्न सक्नुहुन्न वा चाहनुहुन्न ?Facebook.com/abeeralthapa