साप्ताहिक संवाददाता
कैलालीको घोडाघोडी नगरपालिकास्थित देउकलियाकी राधा चौधरीलाई एक झाँक्रीले कुटपिट गरे । गत साता ११ कक्षामा अध्ययनरत राधालाई कुटपिट गरेपछि उक्त घटनाको व्यापक आलोचना भयो । निरन्तर ६ घण्टा राधालाई कुटपिट गरेको भिडियो बाहिरिएपछि उनीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दै विरोधका कार्यक्रमहरू पनि भैरहेका छन् । सामाजिक सञ्जालमा प्राप्त केही प्रतिक्रिया :
पार्वती र झाँक्री त बौलाए, आम रमिते नागरिक र समाजलाई कसरी जवाफदेही बनाउने ? संविधानको धारा १६ बमोजिम हरेक नेपालीले सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकलाई कसरी स्थापित गर्ने ? धार्मिक गुरुहरूसँग सहकार्य गरेर यस्तो अन्धविश्वासलाई सम्बोधन गर्न सामूहिक पहल गर्न जुट्नुपर्छ ।
सरु जोशी श्रेष्ठ
विगत केही दिनदेखि महिला दिवसका नाममा काठमाडौंमा गरिएका महिलामुखी कार्यक्रमका खर्च रकमले घोडाघोडी वरपरका गाउँघरमा बोक्सी भन्नु अन्धविश्वास मात्र हो, यसमा कुनै वैज्ञानिक सत्यता छैन भन्नेबारे सचेतना कार्यक्रम चलाएको भए कमसेकम ती अबोध राधाहरू मरणासन्न हुने गरी कुटिने त थिएनन् ।
मानवी पौडेल
दुई–चार दिन फुर्सद मिलाएर भए पनि कैलालीको घोडाघोडी नगरपालिकाका जनताबीच जनचेतना शिक्षा कार्यक्रम लिएर जाने मन छ । भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नचाहिँ डराएनछन्, तर कुटपिट गर्नेलाई किन रोक्न सकेनन् ?
नीता उप्रेती
कैलाली घोडाघोडी प्रकरणमा प्रधानमन्त्री कार्यालयको अग्रसरता ठीकै छ । राज्यले सुरक्षा दिन नसकेकोमा माफी माग्दै त्यसबापतको क्षतिपूर्ति तिर्नुपर्छ । राज्यले क्षतिपूर्ति तलब खाएर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पिडकको पक्षमा काम गर्ने पुलिस र मेयरबाट लिनुपर्छ । जवाफदेहिता र सामाजिक न्याय पनि यही हो ।
सञ्जय कोइराला
कस्तो अचम्म ! घोडाघोडी काण्डको नेता, प्रहरी, सांसद, अधिकारकर्मी, पत्रकार, फरार अभियुक्त यहाँसम्म कि सरकारले समेत विरोध जनाइसके, तर विडम्बना दोषीलाई कारबाही गर्ने आँट कसैले गर्न सकेन ।
भाष्कर
गजबको रै’छ हाम्रो समाज । हुन त हामी २१ औं शताब्दीमा छौं, तर अझै पनि अन्धविश्वासले हाम्रो समाजमा यस्तो जरा गाडेछ कि हामी धामी–झाँक्रीलाई मान्न बाध्य छौं । अस्ति सारा दुनियाँ नारी दिवस मनाउनमा व्यस्त थियो, तर घोडाघोडी नगरपालिकामा एउटी नारी चरम यातनाको सिकार हुँदा सयौं मानिस दर्शक भएर हेरेर बसे ।
प्रबेज आलम
अंग्रेजीमा एमए गरेका कैलाली घोडाघोडी नगरपालिका एमाले मेयर हुन्, ममताप्रसाद चौधरी जसले बोक्सीको आरोप लगाई १० कक्षाकी छात्रा राधा चौधरीलाई मरणासन्न हुने गरी कुटपिट गर्ने पीडकको बचाउ गर्दै मिलापत्र गराएका थिए । मिलापत्र गराउने प्रहरी कार्यवाहीमा पर्दैछन् । पढेर मात्र बुद्धि नआउने रहेछ ।
चकचके
घोडाघोडी नगरपालिका कैलालीमा ११ कक्षामा अध्यानरत बालिकामाथि बोक्सीको आरोपमा सार्वजनिक स्थानमा मरणासन्न हुने गरी भएको लछारपछार, कुटपिटको घोर भत्सर्ना गरौं । भिडियो हेर्दा जो कसैको मन थामिँदैन, तर ती रमिते दर्शक ?
तुल्सी पराजुली (गुल्मेली)
कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा महिलालाई कुटपिट कता छन् थारुहटका नेता, कता छन् महिला अधिकारकर्मी, त्यो रमिता हेर्दै बसेका नपुंसकहरू, विभिन्न राजनैतिक दलका छेपाराहरू, पुलिसहरू !
जीवन कार्पी
तारे होटलमा ह्विस्की र वाइनसँग लन्च र डिनर खाने मानिसका छोरीलाई कसले बोक्सीको आरोप लगाउन सक्छ । कैलाली घोडाघोडी नगरपालिकाको घटनाको कारण वर्गविभेद हो । गरिबीमा मानवअधिकार र मानवअधिकारवादी थाहा भए पनि थाहा नपाएजस्तो गर्छन् ।
प्रेम खड्का
राज्यको संरचनामा आएको परिवर्तनले सबै सामाजिक विभेद अन्त्य नहुने, त्यसैले पुराना अन्धविश्वासका जड उखेल्न हरेक व्यक्ति र घरपरिवार आफंै जिम्मेवार हुन जरुरी छ ।
रमिला सुनुवार
शर्मनाक घटना । घोडाघोडी नगरपालिका कैलालीमा मानिसहरूको बस्ती रहेनछ । चारैतिर कुर्सीमा बसेकाहरू दानव हुन् । म आफैंले आफैंलाई तुच्छ सम्झिरहेको छु । किनभने त्यहाँ मेरो पनि सरोकार छ । यदि नेपाल कानुनी देश हो भने त्यस घटनामा तमासेहरू र स्वघोषित धामीलाई शीघ्र कारबाही हुनुपर्छ ।
कलेन्द्र शाही