दुई वर्षअघि बुद्धनगर, काठमाडौंको एउटा स्टुडियोमा चलचित्र ‘धनवान्’ को ‘मेरो मनको मझेरीमा...’ गीत रेकर्ड भैरहेको थियो । गायक रञ्जित कुमार तथा गायिका मेलिना राईको उक्त युगल गीतलाई संगीतबद्ध गरेका थिए— संगीतकार विकास चौधरीले । स्टुडियोभित्र गीत रेकर्ड भैरहेको बाहिरबाटै सुनेपछि आफ्नो एउटा चलचित्रको गीत रेकर्ड गराउन उक्त स्टुडियो पुगेका चलचित्र निर्माता दिलकुमार प्यासीले संगीतकार चौधरीसँग जिज्ञासा राखे– ‘मुम्बईबाट गायक उदितनारायण झा काठमाडौं आएको थाहै थिएन, यहाँ गीत पो रेकर्ड गराइरहनुभएको रहेछ ।’ निर्माता प्यासीको कुरा सुनेर संगीतकार चौधरी मज्जाले हाँसे । स्टुडियोभित्रबाट गायक रञ्जित कुमारलाई बाहिर बोलाएर निर्मातासँग चिनाउँदै चौधरीले भने– ‘यी नयाँ गायक हुन् रञ्जित कुमार, स्वरको फ्लेवर उदितनारायणसँग ठ्याक्कै मिल्छ । तपाईं पनि झुक्किनुभयो ।’
रञ्जित कुमारको स्वर सुनेर निर्माता प्यासी मात्र झुक्किएका होइनन् । उनको स्वरबाट प्रभावित भएर निर्देशक उदय सुब्बा त उनलाई ‘उदित भाइ’ नै भनेर बोलाउँछन् भने निर्देशक ऋषि न्यौपानेले उनको नाम नेपाली उदित राखिदिएका छन् । संगीतकार विकास चौधरी तथा निर्देशक शंकर अधिकारी घायल पनि उनलाई उदित भाइ भनेर सम्बोधन गर्छन् । ‘आफूभन्दा अग्रजले माया गरेर त्यस्तो सम्बोधन गर्दा खुसी लाग्छ, रञ्जित कुमार भन्छन्– ‘उदित नारायण झाको जस्तो फ्लेवर आउनु प्राकृतिक कुरा हो, यद्यपि म आफ्नै नामले चिनिन चाहन्छु ।’
२५ वर्षीय गायक रञ्जित कुमारको पूरा नाम रञ्जित कुमार सहनी हो । सांगीतिक क्षेत्रमा सक्रिय भएपछि उनले आफ्नो नामलाई दुई पटक परिमार्जन गरे । पहिलो पटक उनले आफ्नो नाम रञ्जित के सहनी राखे भने दोस्रो पटक संगीतकार चौधरीकै सल्लाहअनुसार रञ्जित कुमारका रूपमा मात्र प्रस्तुत भए । ‘अब रञ्जित कुमारको नामबाटै अघि बढ्ने निर्णय गरेको छु, साप्ताहिकसँगको भेटमा रञ्जितले भने– ‘सांगीतिक नाम राखौं भन्ने सल्लाह भएपछि थर हटाएको हुँ ।’
रौतहट जिल्लाको गरुडा नगरपालिकास्थित गेडही गुठीमा तिहारको लक्ष्मीपूजाका दिन जन्मिएका रञ्जित कुमार सानै उमेरदेखि संगीतप्रति हुरुक्क थिए । २०६२ सालमा एसएलसी उत्तीर्ण भएपछि उच्च शिक्षाका लागि काठमाडौं आएका रञ्जित आईएस्सीमा भर्ना भए भने संगीतको विद्यार्थीका रूपमा प्रशिक्षणसमेत लिए । त्यसक्रममा उनले नरहरी प्रेमी, चण्डीप्रसाद काफ्ले, विकास चौधरी तथा गुरुदेव कामतजस्ता संगीतकर्मीसँग प्रशिक्षण लिन थाले । प्रशिक्षणको क्रम आजसम्म पनि जारी नै रहेको उनी बताउँछन् ।
सुगम संगीतमा आधारित आधुनिक गीत गाउन थालेका रञ्जित कुमार पछिल्लो समय चलचित्रको पाश्र्व गायनमा समेत सक्रिय छन् । उनले हालसम्म गोरे, फागु, धनवान, नबुझिएको यो मन, सुटर, जञ्जिर, स्काउट, हिरोज, अग्नि, सहारा बेसहारा, जय गढीमाइ, मधेसी पुत्रसहित नेपाली, भोजपुरी तथा मैथिली भाषाका दुई दर्जनभन्दा बढी चलचित्रमा पाश्र्व गायन गरिसकेका छन् ।
चलचित्र गोरेको शीर्षक गीत गोरे गोरे गोरे सबले भन्छन् गोरे...गीत लोकप्रिय भएकोमा दंग परेका यी युवा गायक संगीतकार विकास चौधरीप्रति विशेष आभारी छिन् । गोरेको उक्त लोकप्रिय गीतका सर्जक विकास चौधरी नै हुन् । यतिबेला उनी अंग्रेजी साहित्यमा स्नातकोत्तर गर्दैछन् ।
गायिका जुना प्रसाईंसँगको युगल गीत न्यानो न्यानो अँगालोमा (चलचित्र : नबुझिएको यो मन) तथा मेलिना राईसँगको युगल गीत मेरो मनको मझेरीमा (चलचित्र : धनवान्) लोकप्रिय भएपछि आफूलाई सांगीतिक कार्यक्रमबाट पनि निम्ता आउन थालेकोमा रञ्जित दंग छन् । यसअघि उनले गाएको आधुनिक गीत बादलझैं उड्छु भन्छ्यौ पनि चर्चामा आएको थियो । रञ्जितले हालसम्म विभिन्न विधाका ५० भन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।
उनले पाश्र्व गायन गरेका झन्डै एक दर्जन चलचित्रका गीत सार्वजनिक हुन बाँकी नै छन् । जञ्जिर, सुटर, सहारा बेसाहरा, अग्नि, नबुझिएको यो मन, जय गढीमाई, मधेसी पुत्र, फागु, गोरे आदि चलचित्र प्रदर्शन भए पनि अन्य चलचित्र प्रदर्शनको क्रममा रहेको उनी बताउँछन् । रञ्जित कुमारले स्वर दिएका रफ्तार, हिरोज, स्काउट आदि चलचित्र प्रदर्शन हुन बाँकी छन् ।
सांगीतिक यात्राको आधा दशकसम्म आइपुग्दा रञ्जितले नेपालका स्थापित संगीतकार शम्भुजित बाँसकोटा, वसन्त सापकोटा, विकास चौधरी, टंक बुढाथोकी, प्रह्लाद भक्त, नरहरि प्रेमी आदिका संगीतमा गीत गाउने मौका पाइसकेका छन् । ‘संगीतकार शम्भुजित बासकोटाले मलाई असाध्यै माया गर्नु हुन्छ, रञ्जित भन्छन्– ‘उहाँ जस्तो विशिष्ट संगीतकारसँग गीत गाउन पाउँदा मैले आफूलाई भाग्यमानी मानेको छु ।’
यति हुँदा–हुँदै पनि रञ्जित अहिलेसम्म आफूलाई सुपरहिट गीतको गायक बनाउन सकेका छैनन् । ‘मलाई एउटा सुपरहिट गीतको प्रतीक्षा छ, रञ्जित भन्छन्– ‘मलाई ब्रेक थ्रू चाहिएको छ, आशा छ म यसमा अवश्य सफल हुनेछु ।’