गत जेठ १९ गते राति काठमाडौंको अन्नपूर्ण होटलमा मिस नेपाल वल्र्ड–२०१७ को उपाधि जित्नुअघि उर्लाबारी, मोरङकी निकिता चाण्डक आफ्नै सामान्य जीवनमा रमाइरहेकी थिइन् । भारतमा अध्ययन तथा मोडलिङको प्रारम्भिक चरणमा रहेकै बेला उनले काठमाडौं आएर मिस नेपाल–२०१७ मा प्रतिस्पर्धा गरेकी थिइन् । डेढ महिना लामो प्रशिक्षण, कठोर मेहनत तथा आत्मविश्वासका कारण उनले मिस नेपालका अन्य १८ जना उत्तिकै प्रतिभाशाली प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपाल वल्र्ड–२०१७ को उपाधि जितेकी थिइन् ।
सोमबार बिहान कुपन्डोलस्थित हिडन ट्ेरजरको कार्यालयमा साप्ताहिकसँग कुराकानीको सुरुवातमै निकिताले भनिन्– ‘कति छिटो यो दस महिना बितेछ । हिजोजस्तो लाग्दैछ मेरो शिरमा मिस नेपालको क्राउन सजिएको, अबको दुई सातापछि यो क्राउन मिस नेपाल वल्र्ड–२०१८ को शिरमा हुनेछ ।’ यो कुरा भन्दा निकिताको आँखामा बेग्लै प्रकारको चमक देखिन्थ्यो । ‘मिस नेपालको उपाधि जित्नुअघि र उपाधि जितेपछिकी निकितामा धेरै नै परिवर्तन आइसकेको छ, एउटा जिज्ञासामा निकिताले भनिन्– ‘म अहिले जिम्मेवार नागरिक मात्र होइन, आफ्नो देशलाई प्रतिनिधित्व गर्दै मिस वल्र्डमा प्रभावकारी सहभागिता जनाउने चेलीसमेत हुँ ।’
मिस नेपाल भएपछि आफूमा सकारात्मक सोचको विकास हुन थालेको अनुभव गरेकी निकिताका अनुसार त्यसअघि उनी स–साना कुरामा पनि चिढिने स्वभावकी थिइन् । ‘उपाधिले मलाई मानसिक तथा शारीरिक रूपमा सकारात्मक बनाइदियो, निकिता भन्छिन्– ‘मिस नेपालको क्राउन मेरा लागि हरेक अँध्यारो दिनपछि उज्यालो बिहानी आउँछ भनेजस्तै भैदियो ।’ उपाधिले आफूलाई नम्र हुन सिकाएको कुरा बताउने निकिता त्यही नम्रताका कारण आफूले धेरै मानिसको मन जित्न सकेको दाबी गर्छिन् ।
निकिताले पछिल्लो एक वर्षको अवधिलाई एउटा सम्पूर्ण जीवनसँग तुलना गरेकी छिन् । ‘यो दस महिनाबीच मैले एउटा नयाँ जीवन पाएको अनुभव गरेकी छु, निकिता भन्छिन्— ‘जसरी जीवनमा थुप्रै उतार–चढाव आउँछन्, उपाधिपछि मैले पनि त्यस्तै अनुभव गरें । मिस नेपालको उपाधि मेरा लागि उपलब्धि थियो भने मिस वल्र्डमा कुनै उपाधि जित्न नसक्नु मेरो असफलता थियो । मिस नेपाल बन्नेबित्तिकै कतिपय मानिसले गरेको आलोचनाले मलाई केही कमजोरसमेत बनाएको थियो । यद्यपि म ती सबै अप्ठ्यारा परिस्थितिको सामना गर्दै यहाँ सम्म आइपुग्न सफल भएकी छु ।’
निकिताले मिस वल्र्ड–२०१७ का लागि आफूले तयार पारेको परिचयात्मक भिडियोले चौतर्फी प्रसंसा पाएकोमा खुसी व्यक्त गरिन् । ‘उक्त भिडियोमा मैले नेपाललाई नै चित्रण गरेकी थिएँ, निकिता भन्छिन्– ‘उक्त भिडियो मिस वल्र्डका प्रतिस्पर्धीहरूले तयार पारेका भिडियोहरूमध्ये सबैभन्दा धेरै हेरिएको, लाइक गरिएको तथा प्रशंसा पाएको भिडियो बन्न सफल भएकोमा म गौरवान्वित छु ।’
मिस नेपाल भएपछि आफू सामाजिक कार्य तथा सचेतनामूलक अभियानमा सक्रिय रूपले सहभागि भैरहेको जनाउँदै निकिता यही चैत २८ गते सम्पन्न हुने मिस नेपाल–२०१८ को ग्रान्ड फिनालेसँगै आफू पूर्व मिस नेपाल हुने तथा त्यसपछिको यात्राका बारेमा अहिले नै कुनै योजना बनाइनसकेको कुरा बताउँछिन् । ‘पहिले आफ्नो अध्ययन पूरा गर्छु, निकिताले भनिन्– ‘त्यसबाहेक चलचित्र क्षेत्रमा करियर बनाउन सक्रिय हुनेछु । नेपाली चलचित्रबाट प्रारम्भ हुने मेरो यात्रा बलिउडसम्म पुग्यो भने अचम्म नमाने हुन्छ ।’
मिस अर्थ नेपाल–२०१७ को उपाधि विजेता रोजिना श्रेष्ठलाई पनि यो दस महिनाको अवधि अति नै छिटो बिते जस्तो लागेको छ । फिलिपिन्समा सम्पन्न मिस अर्थ–२०१७ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी रोजिनाले उक्त अवसरमा नेपाललाई चिनाउन पाउनुलाई गौरवमय क्षणका रूपमा अथ्र्याइन् ।
‘मिस नेपालमा भाग लिनुअघि ममा केही कमी–कमजोरी थिए, रोजिना भन्छिन्– ‘प्रशिक्षणले ती सबै कमी–कमजोरी हटाउन सहयोग पुर्यायो । मिस नेपाल अर्थको उपाधिले चाहिं ममा नयाँ आत्मविश्वास पैदा गर्यो ।’ मिस अर्थको सहभागितालाई आफ्नो जीवनकै ठूलो उपलब्धिका रूपमा बुझेकी रोजिनाले उक्त अवधिमा विश्वका हरेक देशबाट आएका प्रतिस्पर्धीसँगको भेटघाट, विभिन्न प्रतिस्पर्धा तथा सेमिनार आदिले विश्वभरिकै वातावरणीय प्रभाव बुझ्ने अवसर प्रदान गरेको जानकारी दिइन् ।
मिस नेपाल प्रतियोगिता नेपाली युवतीहरूका लागि उत्कृष्ट प्लेटफर्म भएको दाबी गर्दै रोजिना भन्छिन्— यो प्रतियोगिताका महत्वपूर्ण चार–पाँचवटा उपाधि विजेताको जीवनमा आमूल परिवर्तन आउँछ । ‘यो उपाधिले हामीलाई जिम्मेवार हुन सिकाएको छ, समाजप्रति उत्तरदायी हुन सिकाएको छ,’ रोजिनाका अनुसार प्रतियोगितामा सहभागिता जनाएको भोलिपल्टदेखि नै हामीले त्यस्ता धेरै कुरा सिक्ने मौका पायौं, जुन जीवनोपयोगी छ । पोखरा विश्वविद्यालयबाट सूचना–प्रविधिमा स्नातक गरेकी रोजिना भविष्यमा आफूले अध्ययन गरेकै क्षेत्रमै करियर बनाउन इच्छुक छिन् ।
मिस नेपाल एशिया प्यासिफिक इन्टरनेसनल–२०१७ को उपाधि जित्न सफल सहारा बस्नेतले उपाधि जितेपछि मिस एसिया प्यासिफिक इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरिन् । फिलिपिन्समा सम्पन्न उक्त प्रतियोगिताको मुख्य नारा महिला शसक्तिकरण भएकाले आफ्नो सहभागिता उक्त विषयका सम्बन्धमा ज्ञान हासिल गर्ने राम्रो माध्यम भएको बस्नेत बताउँछिन् । ‘मिस नेपालमा प्राप्त उपलब्धिले आफ्नो जीवनमै परिवर्तन ल्याएको अनुभव गर्दैछु, सहारा भन्छिन्– ‘मुख्य कुरा अनुभव हासिल गर्न पाइयो अनि आत्मविश्वास बढाउन सकियो ।’
मानिसहरूसँग कस्तो व्यवहार गर्ने, देशलाई कसरी आफूसँगै लिएर अघि बढ्ने जस्ता कुरा समेत सिकेको दाबी गर्ने सहारा मिस एसिया प्यासिफिकमा नेपालले पहिलो पटक सहभागिता जनाएकाले आफू केही असफल भएको कुरा बताउन पनि हिचकिचाउँ दिनन् । ‘तैपनि मैले आफूलाई उत्कृष्ट शैलीमा प्रस्तुत गरेँ, सहाराका अनुसार मिस नेपाल प्रतियोगिताले प्रत्येक प्रतिस्पर्धी युवतीलाई बोल्ड हुन सिकाएको छ । व्यवस्थापन संकायकी छात्रा सहारा आगामी दिनमा आफ्नै व्यवसाय सञ्चालन गर्ने पक्षमा छिन् ।
नेपाली मोडलिङमा एउटा लोकप्रिय नाम हो— नीति शाह । मिस नेपाल–२०१७ की सबैभन्दा सुन्दर प्रतिस्पर्धीको छवि कायम गर्न सफल नीतिले प्रतियोगितामा मिस नेपाल इन्टरनेसनल–२०१७ को उपाधि जितेकी थिइन् । उक्त उपाधिसँगै नीतिले जापानमा सम्पन्न मिस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गरिन् । कला–संस्कृति तथा महिला सशक्तीकरणमा केन्द्रित उक्त प्रतियोगिताले आफूलाई अझ परिपक्व बनाएको नीतिको अनुभव छ । जापानमा बसोबास गर्ने नेपालीहरूले आफूलाई प्रतियोगिता अवधिभर हौसला प्रदान गरेको क्षणलाई अविष्मरणीय बताउने नीति जापानमा आफूलाई सबैले नीतिको साटो नेपाल नामले सम्बोधन गरेको क्षण कहिल्यै बिर्सन नसक्ने जानकारी दिन्छिन् ।
मिस नेपालको सहभागिताले जीवनमा काम लाग्ने धेरै कुरा सिकाएको अनुभव गर्ने नीति उक्त प्रतियोगिताको एउटा महत्वपूर्ण उपाधि विजेताका रूपमा विश्वभरिका युवतीहरूले सहभागिता जनाएको प्रतियोगितामा प्रस्तुत हुन पाउनुलाई ठूलो सफलताका रूपमा लिन्छिन् । पछिल्ला दस महिनामा थुप्रै सामाजिक कार्यमा समेत सक्रिय नीति मिस नेपाल–२०१८ को ग्राण्ड फिनालेपछि पुन: मोडलिङमै सक्रिय हुने योजनामा छिन् । ‘चलचित्रमा रुचि छैन, नीति भन्छिन्– ‘मोडलिङ पनि सिमित मात्र गर्छु, खासगरि ब्रान्ड इन्डोर्समेन्टमा केन्द्रित हुनेछु ।’ त्यसका साथै नीतिले एमबीएको अध्ययन प्रारम्भ गर्ने योजना समेत बनाएकी छिन् ।
नगमा श्रेष्ठ निकै कम भाग्यमानी सुन्दरीहरूमध्ये एक हुन्, जसले एउटा नयाँ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिन् । नेपाली प्रतिस्पर्धीका रूपमा नगमाले पहिलो पटक मिस युनिभर्समा सहभागिता जनाइन् । मिस नेपाल प्रतियोगिता आयोजनाको २३ वर्ष पुगेको अवसरमा हिडन ट्ेरजरले नगमालाई मिस यूनिभर्स–२०१७ मा प्रतिस्पर्धा गर्न पठाएको थियो । त्यसअघि पनि केही अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागिता जनाइसकेकी नगमाले मिस युनिभर्सको सहभागिता अविस्मरणीय रहेको प्रतिक्रिया दिएकी छिन् । नगमाले सन् २०१२ मै मिस नेपाल अर्थको उपाधि जितेकी थिइन् ।