साप्ताहिक संवाददाता
वर्ष २०७४ को नेपाली सांगीतिक क्षेत्रलाई युट्युबले नियन्त्रण गर्यो भन्दा फरक पर्दैन । नेपाली टेलिभिजन च्यानलको संख्या दुई दर्जनभन्दा बढी पुगे पनि दर्शकहरूले यो वर्ष सार्वजनिक भएका नेपाली गीत–संगीतका म्युजिक भिडियो हेर्न कुनै पनि च्यानलको रिमोट परिवर्तन गरेनन्, मोबाइलको स्क्रिनमा औंला दौडाउँदै युट्युब च्यानल खोले अर्थात् आफूलाई अनुकूल पर्ने समयमा युट्युबमा अपलोड गरिएका भिडियोहरू हेरेर मनोरञ्जन प्राप्त गरे । अधिकांश दर्शकले युट्युबबाट आफ्ना गीत–संगीत सुन्न तथा हेर्न थालेपछि स्रष्टाहरूलाई पनि सहज भयो । वर्ष २०७४ को अन्त्यसम्म आइपुग्दा युट्युबमा आफ्नै च्यानल नहुने गायक–गायिकाको संख्या अत्यत्न कम रह्यो । हुन पनि गुगलले जिमेल एकाउन्ट हुने हरेकलाई युट्युब च्यानल खोल्न सक्ने सुविधा दिएपछि आजको मितिमा च्यानल खोल्न सेलिब्रेटी नै हुनु पर्ने अथवा कम्पनी नै आवश्यक पर्ने बाध्यता समेत हट्यो ।
ट्रेन्डिङको चक्कर
नेपाली गीत–संगीतले नेपाली टेलिभिजन च्यानल तथा एफएम रेडियोमा मात्र भर पर्नुपर्ने अवस्था यो वर्षदेखि अन्त्य भयो भन्दा फरक पर्दैन । अझ नेपाली टेलिभिजन तथा रेडियोमा मात्र भर पर्दा आफ्ना सिर्जनाहरू सञ्चारमाध्यमले निर्धारित गरेको समयमा मात्र प्रसारण हुने बाध्यता एकातिर छ भने अर्कातिर रेडियो सुन्न तथा टेलिभिजन हेर्न निश्चित समय छुट्याउनुपर्ने बाध्यता पनि छ । यी दुवै बाध्यतालाई युट्युबले चिरिदियो । नेपाली सांगीतिक क्षेत्रमा युट्युबले लोकप्रियताको मानककै भूमिका खेल्न थाल्यो । युट्युबको ट्ेरन्डिङमा पर्न सफल गीत लोकप्रिय भएको मान्ने ट्रेन्डिङ नै चल्यो । ट्रेन्डिङको नम्बर एकमै पर्न सफल भयो भने त्यसले राष्ट्रिय स्तरको चर्चा पाउन थाल्यो ।
युट्युब ट्रेन्डिङले अर्को एउटा राम्रो काम पनि गरेको छ । स्तरीय तथा आकर्षक म्युजिक भिडियोले मात्र धेरै भन्दा धेरै दर्शक पाउने तथा ट्रेन्डिङमा पर्ने सम्भावना देखिएपछि म्युजिक भिडियोमा लगानी गर्नेहरू सचेत हुन बाध्य भए । म्युजिक भिडियोका लागि अनुभवी निर्देशक, लोकप्रिय कलाकार, राम्रो गीत–संगीत, आकर्षक लोकेशन, डिजाइनर पहिरन आदि कुरामा ध्यान दिन थालियो । फलस्वरुप वर्ष २०७४ मा निर्माण भएको अधिकांश म्युजिक भिडियो गुणस्तरका दृष्टिले उत्कृष्ट रहे ।
रोयल्टीमा विवाद
चैतको तेस्रो साता सरकारले एउटा यस्तो निर्णय गर्यो, जसले सम्पूर्ण संगीतकर्मीको मुहारमा मुस्कान ल्यायो, यद्यपि त्यही निर्णयले अर्को एउटा पक्षलाई भने नमीठो स्वाद चखायो । प्रसंग हो रोयल्टीको । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका–२०६० संशोधन गरी सार्वजनिक यातायातले नेपाली गीत बजाएबापत रोयल्टी बुझाउने पर्ने नियम लागू गर्यो । रुट इजाजत लिँदा नै संगीतसम्बन्धी रोयल्टी चुक्ता गरेको हुनुपर्ने व्यवस्था गरियो । रोयल्टी चुक्ता नभए इजाजत नै नदिइने विभागले जनायो । यातायात व्यवसायीले गीत बजाएबापत रोयल्टी नतिर्ने निर्णय गरे । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको बैठकले सार्वजनिक सवारीमा गीत–संगीत बजाउँदा रोयल्टी तिर्नुपर्ने सरकारको निर्णय नमान्ने जनायो ।
डिजिटल बजार विस्तार
‘दुई दिनपछि एल्बम सार्वजनिक हुँदैछ, तपाईंले मेरा यी दसवटा गीतलाई आजै आइट्युनमा अपलोड गरिदिनुपर्यो, अमेरिकाबाट गजल एल्बम ‘तिमी साथ भएपछि’ सार्वजनिक गर्न काठमाडौं आएका गजलकार सुरेश वाग्ले भिडियो निर्देशक शान थापासँग आग्रह गरिरहेका थिए । वाग्लेको बुझाइमा नेपाली गीत–संगीतको डिजिटल बजार खोज्ने बेला आइसकेको छ । युट्युबमा म्युजिक भिडियो राखेर आम्दानी गर्नु सामान्य कुरा हो, अब आइट्युनसहितका संगीत बिक्री हुने डिजिटल बजारमा नेपाली गीत–संगीतलाई अनिवार्य रूपमा सहभागि गराउन गजलकार वाग्लेले सम्पूर्ण संगीतकर्मीहरूलाई सुझाव समेत दिएका छन् ।
गीत चोरीको प्रसंग
चलचित्र सम्झनाको उकालीमा अघिअघि गीत बिनाअनुमति चलचित्र ‘कृ’ मा राखिएको भन्दै निर्देशक शम्भु प्रधानले प्रहरीमा जाहेरी दिए । उनको जाहेरीका आधारमा ‘कृ’ का निर्माता सुवास गिरीलाई प्रहरीले अनुसन्धानका लागि १७ घण्टा हिरासतमा राख्यो । अन्तमा शम्भु प्रधानलाई ११ लाख रुपैयाँ क्षतिपूर्ति र युट्युबबाट गीत हटाइने सहमतिपश्चात् निर्माता गिरी प्रहरी हिरासतबाट मुक्त भए । चलचित्रका संगीतकार अल्मोडा रानालाई यसअघि छक्कापञ्जा–२ को ए दाजु नसमाऊ नाडीमा गीतको संगीत पनि चोरी गरेको आरोप लागेको थियो । छक्कापञ्जा–२ मा रानाले कान्छा मगर नेपालीको गीतको केही शब्द प्रयोग गरेका थिए ।
राजनराजको कीर्तिमान
गायक, गीतकार तथा संगीतकारका रूपमा राजनराज शिवाकोटी यो वर्षभरि छाइरहे । युट्युबमा सबैभन्दा धेरै पटक हेरिएका उत्कृष्ट पाँच गीतका सजर्क बन्ने दुर्लभ कीर्तिमान उनैले कायम गरे । कुटुमा कुटुसहित उनका पाँचवटा सिर्जना अहिले पनि युट्युबमा सबैभन्दा बढी हेरिएका नेपाली गीतको सूचीमा छन् ।
आस्था र ज्योतिबीच भनाभन
चर्चित गायिका आस्था राउत एवं ज्योति मगरबीच सामाजिक सञ्जालमा भनाभन नै भयो । गायिका आस्थाले आफ्नो फेसबुकमार्फत महोत्सवमा अश्लिलता फैलाउनेहरूविरुद्ध आवाज उठाएकी थिइन् । त्यसले प्रत्यक्ष रूपमा ज्योति मगरलाई छोएछ । उनले आस्थालाई कडा जवाफ फर्काइन् । ज्योति मगर यो वर्ष सबैभन्दा विवादित गायिका सावित भइन् । यही वर्ष देश तथा विदेशका कार्यक्रममा सरस्वती लामाले तहल्का मच्चाइन्, ज्योतिले जस्तै । उनी कोहलपुर महोत्सवबाट त लखेटिइन् नै ।
शंकर विसीको धम्की
वर्षको अन्त्यमा म्युजिक भिडियो निर्देशक शंकर विसीले एक युट्युबकर्मीलाई पिट्ने धम्की दिए । भृकुटीमण्डपमा भैरहेको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता उद्घाटनका क्रममा शंकरले ती युट्युबकर्मीलाई ‘घुरेर हेर्ने तेरो हैसियत हो ?’ भन्दै थर्काए र भने ‘राम्रो पिटाइ भेट्लास नी ।’ उनले यसरी थर्काएको भिडियो तुरुन्तै यूट्युबकर्मीले यूट्युबमा पोष्ट गरिदिए, जुन तत्कालै भाइरल भयो ।
सुरज तामाङ ‘भिटेन’
भिटेन नामक एक र्यापरले सिमसिमे पानीमा गीत युट्युबमा अपलोड त गरे तर, उक्त गीतमा अश्लील शब्द प्रयोग भएका कारण युट्युबले त्यसलाई आफ्नो च्यानलबाट हटायो । युट्युबले हटाएपछि भिटेनले उक्त गीतलाई परिमार्जित गरी पुन: युट्युबमा अपलोड गरे । उक्त परिमार्जित गीत यतिबेला युट्युबमा भाइरल भैरहेको छ ।
प्रीति र प्रकाशको दोहारी ब्याटल
प्रिती आले र प्रकाश सपुतको दोहोरी ब्याटल पनि युट्युबमा भाइरल भैरहेको छ । पहिलोपटक अपलोड भएर ट्रेन्डिङको ५ नम्बरमा परिसकेको उक्त दोहोरी ब्याटलको चौतर्फी विरोध भएपछि त्यसलाई युट्युबबाट हटाइएको थियो । त्यसपछि उक्त भिडियोलाई परिमार्जित गर्दै पुन: युट्युबमा अपलोड गरियो । दोहोर्याएर युट्युबमा अपलोड भएपछि पनि उक्त भिडियो भाइरल भएको छ ।
डिसलाइक पाउने गायिका
हास्यकलाकार मनोज गजुरेलसँग सम्बन्ध विच्छेदपश्चात् गायन क्षेत्रमा हामफालेकी मीना ढकालले युट्युबमा डिसलाइक पाउने गायिकाको उपाधि नै हासिल गरिन् । युट्युबमा उनको गीत अपलोड भएपछि त्यसको नकारात्मक चर्चा मात्र भएन, उनी केही समयसम्म सामाजिक सञ्जालमा भाइरल नै भइन् ।
नेपाल आइडल
गायनमा आधारित रियालिटी शो नेपाल आइडल पनि लामो समयसम्म सामाजिक सञ्जालको चर्चामा रह्यो । चर्चासँगै विवादमा पनि अगाडि देखिएको नेपाल आइडलले झन्डै कानुनी व्यवधान पनि बेहोरेको थियो भने सामाजिक सञ्जालमै नेपाल आइडलका निर्णायकहरूले थुप्रै नकारात्मक प्रतिक्रिया पाए । थुप्रै अड्चनका बीच सम्पन्न नेपाल आइडलको विजेता ग्रान्ड फिनाले प्राविधिक कारणवश टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुन सकेन, जसका कारण यसका सञ्चालकहरूले सामाजिक सञ्जालमा विरोध खेप्नुपर्यो भने विजेतालाई पुरस्कारबापतको सामग्री हस्तान्तरण नगरेको भनेर यो कार्यक्रम फेरि एकपटक विवादमा आयो ।
डिजे मार्समेलो
काठमाडौंको दरबारमार्गस्थित एक नाइट क्लब डेजा भूका कारण विश्वप्रसिद्ध डिजे ‘मार्समेलो’ नेपालमा एक्कासि चर्चामा आए । हजारौं रुपैयाँ तिरेर किनिएको टिकट लिएर आएका दर्शक तब रिसाए जब उनिहरूले ‘मार्समेलो’ नआउने खबर प्राप्त गरे । त्यसपछि आक्रोशित भिडले क्लब डेजा भूलाई ध्वस्त हुने गरी तोडफोड गर्यो । त्यसपश्च्यात् धेरै नेपालीको नजरमा परेका डिजे मार्समेलो यो वर्ष चर्चामा आइरहे ।