साप्ताहिक संवाददाता
०७४ मा अपराधकर्मले पनि नेपाली समाजलाई तरंगित गरिरह्यो । देशका विभिन्न भागमा ठूला र आततायी अपराधका घटनाहरू घटे । यस्ता अपराधका घटनामा संलग्न धेरैलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रियासमेत अगाडि बढायो तर केही अपराध कर्ममा सक्रियहरू भने फरार छन् । प्रहरीले हाइप्रोफाइल हत्यामा संलग्नदेखि ठूलो बैंकिङ क्राइमसम्मको पर्दा उघारेको छ । मोष्ट वान्टेडको सूचीमा रहेर विदेशमा लुकी बसेका केही अपराधीलाई समेत स्वदेश फर्काउन प्रहरीलाई सफलता प्राप्त भयो ।
हाइप्रोफाइल हत्या
२३ असोजमा दिनदहाडै काठमाडौंको बलियो सुरक्षा कवचलाई चुनौती दिँदै व्यवसायी शरदकुमार गौचनको शान्तिनगरको खरिबोटमा हत्या भयो । डाँफे कन्स्ट्रक्सनका मालिक गौचन दिउँसो पौने तीन बजेतिर बा १३ च ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडीमा घरबाट निस्किएको केही मिनेटमै मारिए । उक्त हाइप्रोफाइल हत्याकाण्डको गहन अनुसन्धानपछि प्रहरीले अहिले त्यसका मुख्य योजनाकार समीरमान सिंह बस्नेतसहित अधिकांशलाई प्रहरीले पक्राउ गरिसकेको छ । समीरमानले आफूलाई २ करोड फिरौती नदिएपछि गौचनको हत्या गराएको प्रहरीसमक्ष स्वीकार गरिसकेका छन् । यो हाइप्रोफाइल हत्याकाण्ड गत वर्षको सर्वाधिक ठूलो हत्याकाण्ड हो ।
दाङमा हनी ट्रयाप शैलीको सिकार हुँदै हाइप्रोफाइल व्यवसायी मारिए । तुलसीपुरका ५३ वर्षीय व्यवसायी राजकुमार श्रेष्ठ प्रेमिका भनिएकी १८ वर्षीया पुजा घर्तीको हनी ट्रयापमा परेर सल्यान पुर्याइए । त्यहीं उनको हत्या भयो । उक्त घटनाको योजना पूजाका मामा मानबहादुर भण्डारी, बुवा टीकाराम घर्ती तथा भूपेन्द्र भण्डारीले बनाएका थिए । घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले १० जनालाई पक्राउ गर्यो । उक्त घटनामा अपहरणकारीले २८ वर्षीय रणबहादुर घर्तीको पनि हत्या गरेका थिए ।
अर्का व्यवसायी बलु पौडेलको हत्या २१ पुसमा रुपन्देहीको देवदह नगरपालिकाको ढेकारमा भयो । ४० वर्षीय पौडेलमाथि ढेकावरमा सञ्चालित आफ्नै समिलमा श्रीमतीसँग बसेर आगो तापिरहेका बेला बिहान १० बजेतिर गोली प्रहार भएको थियो । छाती र टाउकोमा गोली लागेका पौडेलको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको थियो । यो हत्याको जिम्मेवारी गुण्डा नाइके मनोज पुनले लिएका थिए ।
दुई इन्काउन्टर
९ फागुनमा प्रहरीले वन्डरवल्र्ड शैलीमा क्राइम र्याकेट चलाइरहेका गुण्डा नाइके मनोज पुनको इकाउन्टर गर्यो । रुपन्देहीको देवदह नगरपालिका—४ भवानीपुरमा पुनको इन्काउन्टर उनकै दायाँ हात मानिने सोम आलेसँगै भएको थियो । मनोजले विदेशमा बसेर ठूला व्यवसायीहरूबाट रकम असुल्ने फिरौती र्याकेट नै चलाएका थिए । उनले गत वर्ष मारिएका युवासंघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारी तथा ब्यवसायी बलु पौडेलको हत्याको जिम्मेवारी लिएका थिए । मनोज वाइसिएल हुँदैं एमालेको युवासंघको विभिन्न पदमा बसेपछि अपराधकर्ममा सक्रिय भएका थिए ।
यस्तै, काठमाडौं उपत्यकाको अर्को एउटा इन्काउन्टर पनि चर्चामा रह्यो । २३ साउनमा महानगरीय अपराध महाशाखाको टोलीसँग भएको इन्काउन्टरमा लागूऔषध कारोबारमा संलग्न प्रवीण खत्रीको मृत्यु भयो ।
४ माघमा डिल्लीबजार कारागारबाट भागेका टिके डाँका चितवनमा भएको प्रहरी इन्काउन्टरमा घाइते भए । त्यसको ९ दिनपछि १३ माघमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चितवनस्थित रामनगरमा पक्राउ गर्ने क्रममा गोली चलाउँदा उनको हात र खुट्टामा गोली लागेर घाइते भएका डीके यतिबेला बाँच्न सफल भएका थिए । पटक—पटक पक्राउ पर्दै आएका पेशेवर लुटेरा टीके २ दर्जनभन्दा बढी अपराधमा संलग्न रहेको प्रहरीको भनाइ छ ।
चर्चित बलात्कार काण्ड
दरबारमार्गको सामूहिक बलात्कारकाण्ड पनि अपराधको संसारमा सर्वाधिक चर्चामा रह्यो । ७ माघमा काठमाडौंको दरबारमार्गको होटल ल्यान्डमार्कमा कैलालीकी २२ वर्षीया युवतीको सामूहिक बलात्कार भयो । उनी प्रेमी शैलेस कार्कीसँग ल्यान्डमार्क होटल पुगेकी थिइन् । उनीहरू कोठा नम्बर ४०५ मा बसेका थिए । राति नौ बजेतिर शैलेस र उनकी प्रेमिका बसेको कोठामा दीपक श्रेष्ठ, विकास गौतम र रवि पौडेल पनि पसे । त्यहाँ उनीहरूले ड्रिक्स गर्ने क्रममा युवतीको वाइनमा ब्ल्याक लेभल मिसाइदिए ।
त्यसपछि शैलेस र उनका तीन जना साथीले युवतीमाथि पालैपालो सामूहिक बलात्कार गरे । भोलिपल्ट बिहान युवती आफूमाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीकहाँ पुगिन् । जसलाई प्रहरी कार्यालय, दरबारमार्गको मुद्दा शाखाका इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरी, सई चन्द्र भण्डारी तथा डिएसपी तिलक भारती समेतको मिलेमतोमा सामसुम पारिएको रहस्य बाहिरिएपछि यसले ठूलै तरंग ल्यायो । उक्त घटनालाई गुपचुप राख्न ३० लाख रुपैयाँ खर्चिएको कुरा सतहमा आएको छ ।
प्रहरीले घटनाको छानबिन गर्न समिति बनायो । उक्त छानबिन समितिले डिएसपी भारतीलाई जिम्मेवारीबाट हटाएर हदैसम्मको कारवाही गर्न र मुद्दा शाखाका इन्स्पेक्टर ठकुरी र सई भण्डारीलाई बर्खास्त गरेर हदैसम्मको कारवाही गर्न सिफारिस गरेको छ ।
यही घटनाकै छेउछाउ इटहरीमा पनि यस्तै प्रकृतिको घटनामा प्रहरी संलग्नता देखियो भने त्यहाँ पनि उच्च प्रहरी अधिकृतहरू निलम्बिन गरिए ।
यसैगरी बलात्कारका अनेकौं घटनाले मुलुकलाई दिनहुँजसो तरंगित गरिरह्यो । बालिका तथा वृद्धासम्मका बलात्कारका घटनाका वीभत्स घटनाका कारण बलात्कारविरुद्ध मृत्युदण्डको मागसम्म हुन थाल्यो नेपालमा ।
ठगीको जालो
अपराधकै सिलसिलाका वैदेशिक रोजगारी, जग्गा किनबेच तथा उपहारका नाममा ठगी गर्ने सयौं घटना सतहमा आए । ०७४ मा ठगीका अनौठा–अनौठा स्वरुप देखा परे । युवतीले प्रेमिका बनेर अपहरण गर्ने र हनी ट्रयाप शैलीमा ठगी गरेका केही घटनामा संलग्नहरूलाई पनि प्रहरीले पक्राउ गर्यो ।
वैदेशिक रोजगारीका नाममा ठूलो रकम ठगी गर्नेहरूका विरुद्ध सयौं उजुरी प्रहरीसम्म पुगेका छन् । रोचक त के छ भने प्रेमिका बनाएर ठगी गर्नेदेखि महँगो उपहार पाउने लोभमा सजिलै विश्वास परेर लाखौं रुपैयाँ गुमाएका घटना वर्षभरि नै चर्चामा रहे । महानगरीय अपराध महाशाखाका एक प्रहरी अधिकारीकाअनुसार यसरी अर्बौ रकम ठगिएको देखिन्छ ।
भिआईपी चोरदेखि लुटेरासम्म सक्रिय
काठमाडौं उपत्यकाको जीवनशैलीलाई चोर तथा लुटेराहरूको समूहले पनि प्रताडित गर्दै आएको छ । ०७४ मा प्रहरीले गाडी चोरदेखि पाकेटमारसम्मलाई पक्राउ गरेर सार्वजनिक गर्यो नै लुटेराका केही समूह पनि प्रहरी कारबाहीमा परे ।
गत जेठमा महानगरीय अपराध महाशाखाको टोलीले म्हैपीबाट ३२ लाख लुट्ने समूहलाई पक्राउ गर्यो । पक्राउ पर्नेमा धादिङका अन्जान थापा, सरोज श्रेष्ठ, गोरखाका सिजन अधिकारी, सन्तोष बोहरा, गुल्मीका ज्ञानबहादुर पुरी तथा बाग्लुङका तारा बोहरा थिए । उनीहरू म्हैपीमा दुई जना महिलाबाट ३२ लाख रुपैयाँ लुटेर फरार भएका थिए । १० माघको राति भक्तपुरको सुर्यबिनायक—८, मा डेरा गरी बस्ने रामबहादुर तामाङको घरबाट १६ लाखभन्दा बढी लुटपाट गर्ने पेशेवर लुटेराहरूको समूहका केहीलाई महानगरी अपराध महाशाखाले १६ माघमा प्रहरीले पक्राउ गरेका थियो । यी त केही प्रतिनिधि घटना मात्र हुन् । भनिन्छ, अहिले काठमाडौंमा दर्जनौं लुटेरा सक्रिय छन् ।
१३ चैतमा काभ्रे प्रहरीले कार चढ्ने दुई जना चोरलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । २३ वर्षीय लक्षु कार्की र ३३ वर्षीय गणेश तामाङ भिआइपी चोर भएको जनाएका छन् । उनीहरूले चोरीमा प्रयोग गर्ने हुन्डाई कम्पनीको बा७च ४२ नम्बरको आइटेन कार पनि बरामद भएको छ । यस्तै, पाकेटमारीबाटै करोडौको सम्पत्ति जोडेका विवेक लामा पनि प्रहरी फन्दामा परेका छन् । भक्तपुर र ललितपुरमा पनि लाखौं रुपैयाँ चोरी भएका घटनाहरू सतहमा आए ।
अचम्म लाग्दो कुरा के भने विदेशी चोरहरूको समूह पनि काठमाडौंमा सक्रिय रहेको तथ्य फेला पर्यो । ठमेलको बैशाली होटलमा एक महिनादेखि ५ वटा कोठा बुक गरेर चोरीमा सक्रिय इरानी गिरोह पक्राउ पर्यो । १२ जनाको समूहमा नेपाल छिरेका ती इरानीहरूले आफूलाई भिआईपी पर्यटकका रूपमा प्रस्तुत गर्थे, तर उनीहरू चोर थिए ।
ठूलो बैकिङ क्राइम
०७४ मा बैकिङ ठगीका ठूला घटनामाथि पनि प्रहरीले सफलता हात पार्यो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले नेपाल क्रेडिट एण्ड कमर्स बैक लिमिटेड (एनसीसी)को डेढ अर्ब रुपैयाँ घोटाला प्रकरणमा १३ जनालाई पक्राउ गर्यो । २ चैतमा बोर्ड बैठक बसिरहेकै बेला तत्कालीन एपेक्स बैकमा फर्जी कागज बनाएर अर्बौ रुपैया घोटाला गर्ने १३ जनालाई एनसीसी बैकको बोर्ड बैठकबाट गिरफ्तार भए । उच्च तहका कर्मचारीहरू नै संलग्न उक्त घोटालामा तत्कालीन एपेक्स बैकका अध्यक्ष विष्णुप्रसाद धितालसहित १४ जना पक्राउ परेका थिए । त्यसको केही दिनपछि प्रहरीले थप ३ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।
इन्टपोलको सक्रियता
प्रहरीले ८ वटा हत्यामा संलग्न ‘सिरियल किलर’ सकिल हुसैनलाई कतारबाट काठमाडौं ल्यायो । पैसा लेनदेनमा श्रीमती र सासु ससुराको समेत हत्या गर्ने सकिललाई कतार प्रहरीले पक्राउ गरेपछि इन्टपोलमार्फत स्वदेश फर्काइएको हो । यस्तै, ०७३ फागुनमा प्रेमिका राधिका श्रेष्ठको हत्या गरेर दुबई पुगेका भक्तपुरका प्रकाश लामिछानेलाई पनि इन्टपोलको सहयोगमा दुबईमा पक्राउ गरेर गत असोजमा नेपाल ल्याइयो । ०५७ मा झापाकी १९ वर्षीया सन्ध्या राजवंशीको बलात्कारपछि ज्यान गएको घटनामा जोडिएर जन्म कैदको फैसला सुनाइएका लीलाराज गौतम पनि १७ वर्षपछि अमेरिकामा पक्राउ परे । उनलाई नेपाल ल्याउन इन्टरपोलमार्फत पहल भैरहेको छ । यस्तै, कुख्यात वन्यजन्तु तस्कर ग्रीसको एथेन्समा पक्राउ परे पनि उनलाई नेपाल ल्याउने पहल भने सफल भएको छैन ।
सुन तस्करी
वर्षभरि नै सबैभन्दा चर्चामा रहेको अर्को अपराध हो— सुन तस्करी । १९ भदौमा महानगरीय अपराध महाशाखाले क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गर्यो । क्षेत्रपाटीमा पार्किङ गरेर राखिएको बा१७च ६४२६ नम्बरको गाडीबाट प्रहरीले पहिलो पटक यति ठूलो मात्रामा सुन बरामद गरेको हो । उक्त सुन केरुङ हुँदै काठमाडौं भित्रिएको थियो । गत कात्तिकमा लमजुङबाट १७ किलो सुन बरामद भयो भने मंसिरमा बालाजु बाइपासबाट त्यति नै मात्रा अवैध सुन फेला पार्यो । यस्तै, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १४ भदौमा उक्त १५ किलो सुन बरामद गर्यो, प्रहरीले टोखाबाट १४ तथा जनकपुरबाट १ किलो सुन बरामद गरेको थियो । गत असारमा प्रहरीले ९ किलो सुन काठमाडौंबाट बरामद गरेको थियो । सानो परिणाम विभिन्न ठाउँमा सुन तस्करहरू वर्षभरि नै प्रहरी फन्दामा परिरहे ।