सेन्सर बोर्डको तथ्यांकअनुसार २०७४ मा १ सय २२ वटा चलचित्रले प्रदर्शनको अनुमति पाए । तीमध्ये ८० वटा चलचित्र प्रदर्शनमा आए । यो वर्ष सातामा चारवटासम्म चलचित्र प्रदर्शन भए । तीमध्ये झन्डै एक दर्जन चलचित्रले मात्र लगानी सुरक्षित गरे । प्रविधि, कलाकारको अभिनय, विषयवस्तु आदि कारणले केही चलचित्र उत्कृष्ट रहे भने केही औसत अनि केही फ्लप ।
जसलाई भाग्यले साथ दियो
दसैंको छेको पारेर प्रदर्शन भएको छक्कापन्जा–२ यो वर्षकै सबैभन्दा राम्रो व्यवसाय गर्ने चलचित्र बन्यो । दीपाश्री निरौला यही चलचित्रबाट स्थापित निर्देशकमा दरिइन् । चलचित्र शत्रुगतेको सफलतापछि निर्देशक प्रदीप भट्टराईले एकपटक फेरि आफूलाई प्रमाणित गरे । यसअघि विज्ञापन निर्माणमा सक्रिय दाजु भाइ आसिफ शाह तथा असिम शाहलाई चलचित्र दुई रुपैयाँको सफलताले स्थापित ‘फिल्ममेकर’ बनायो । अभिनेत्री श्वेता खड्काले यसै वर्ष चलचित्र ‘कान्छी’ मार्फत पुनरागमन गरिन् ।
झन्डै एक दशकपछि रजतपटमा फर्किएका अभिनेता रमेश उप्रेतीले निर्माण गरेको चलचित्र ‘ऐश्वर्य’ व्यवसायिक रूपमा सफल भएपछि त्यसको फाइदा निर्देशक दिवाकर भट्टराईसहित अभिनेत्री दीपिका प्रसाईं तथा प्रशान्त ताम्राकारलाई समेत भयो । प्रदीप खड्कालाई प्रेमगीत–२ ले भाग्यशाली बनायो । चलचित्र ‘कृ’ बाट अभिनेत्री अदिति बुढाथोकीले चलचित्र क्षेत्रमा सफल पदार्पण गरिन् । गोपीकृष्ण मुभिजकी अध्यक्ष निकिता पौडेल यही वर्ष चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भइन् ।
जसको सुध्रियो सम्बन्ध
लामो समयदेखि पानी बाराबारको स्थितिमा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री रेखा थापाबीच यही वर्ष बोलचाल भयो । त्यस्तै केही वर्षदेखि बोलचालसम्म बन्द भएका अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्माबीचको सम्बन्ध पनि सुध्रियो ।
जीवन साथीको साथ
अभिनेत्री अशिस्मा नकर्मीले अमेरिका बस्दै आएका नवीन प्रधानसँग विवाह गरिन् । अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरले पनि यही वर्ष विवाह गरें । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका अभिनेता राजबल्लभ कोइरालाले प्रेमिका प्रतिमा विमलीसँग विवाह गरे । चलचित्र रिदमबाट उदाएकी अभिनेत्री निश्मा घिमिरे तथा नृत्य निर्देशक एवं अभिनेता गम्भीर विष्ट पनि यही वर्ष वैवाहिक जीवनमा बाँधिए । कलाकार हरिवंश आचार्यका छोरा मोहित वंश आचार्य पनि यही वर्ष वैवाहिक जीवनमा प्रवेश गरे ।
चलचित्रकर्मी जेल गएको वर्ष
चर्चित द्वन्द्व निर्देशक तथा कलाकार राजेन्द्र खड्गी मानव बेचबिखनको आरोपमा जेलमा कोचिए । जिल्ला अदालत काठमाडौंका न्यायाधीश टेकनारायण पौडेलको इजलासले खड्गीलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो ।
सलमान आउने हल्ला
भारतीय चलचित्रका अभिनेता सलमान खान काठमाडौं आउने खबरले उत्साहित नेपाली प्रशंसकहरू पछि जिल्ल परे । उनी २०७४ मै आउने भनिए पनि अब २०७५ सालको जेठमा मात्र आउने भएका छन् । सलमान खानको नेपाल भ्रमण माओवादीको विप्लव समूहको धम्कीका कारण सारिएको अपुष्ट समाचार पनि बाहिर आए ।
झन्डै ५० करोड स्वाहा
यो वर्ष ६७ वटा चलचित्र सार्वजनिक प्रदर्शनमा आए । तीमध्ये १० वटा चलचित्रले मात्र लगानी उठाए । ती १० चलचित्रबाहेक बाँकी लगभग सबै चलचित्र असफल भए । नेपाली चलचित्रमा ५० लाख रुपैयाँदेखि २ करोड रुपैयाँसम्म लगानी भएको मान्ने हो भने एउटा चलचित्रमा औसत ८० लाख रुपैयाँ लगानी भएको अनुमान गर्न सकिन्छ । यस आधारमा यो वर्ष नेपाली चलचित्रमा लगानी भएको झन्डै ४५ करोड ६० लाख रुपैयाँ जोखिममा पर्यो ।
डिभोर्सका कुरा
चर्चित हास्य कलाकार मनोज गजुरेलको दाम्पत्य जीवन यसैवर्ष टुट्यो । २०५३ सालमा झापाकी मीना ढकालसँग वैवाहिक सम्बन्धमा बाँधिएका मनोज गजुरेलको जोडी २२ वर्षपछि टुटेको हो । २०७४ साल पुस ११ गते गजुरेल दम्पतीले आपसी सहमतिकै पारपाचुके गरे । गायिका मिलन अमात्य र मेन्सनको वैवाहिक जीवन पनि यही वर्ष टुंगियो । उनीहरूले आपसि समझदारीमै पारपाचुके गरेको बताए पनि मिलनले आफ्नो गायन करियरमा परिवारबाट असहयोग भएकाले पारपाचुके दिएको बताइन् । यसैवर्ष अभिनेत्री रिमा विश्वकर्माको पनि पारपाचुके भयो । विश्वकर्मा करिब २ वर्ष अघि मात्र बेलायतमा रहँदै आएका रोबर्ट बिकसँग वैवाहिक जीवनमा बाँधिएकी थिइन ।
जसले संसार त्यागे
यो वर्ष निर्देशक नीलु डोल्मा शेर्पाको ह्दयाघातका कारण निधन भयो भने अभिनेत्री बिना थापा सडक दुर्घटनामा परेर मृत्युलाई अँगाल्न पुगिन् । कलाकार विष्णुभक्त फुयाँल पनि यही वर्ष बिदा भए । होचा कलाकार दिपेन शाहको पनि यसै वर्ष निधन भयो । कलाकार प्रदीप सिंहले पनि यही वर्ष संसार त्यागे । कलाकार लक्ष्मी रानाको निधन पनि यही वर्ष भएको हो ।
पूर्वमिस नेपाल अस्पतालमा
सौगात मल्लसँग प्रेमसम्बन्धमा रहेकी पूर्वमिस नेपाल एवं अभिनेत्री सृष्टि श्रेष्ठ काटिएको नाडी लिएर नर्भिक अस्पताल पुगेपछि सामाजिक सञ्जालमा चर्चाको केन्द्रमा रहिन् । के कारणले नाडी काटिएको हो भन्ने कुरा स्पष्ट नभए पनि सौगातसँगको सम्बन्धमा केही खटपट भएर सृष्टिले नाडी काटेको आशंका सामाजिक सञ्जालमा गरिएको थियो ।
जसले डेव्यु गरे
अदिति बुढाथोकी | कृ |
आशिरमान देशराज जोशी | ग्याङस्टार ब्लुज |
अश्लेषा ठकुरी | प्रेमगीत–२ |
सलिनमान बानियाँ | ए मेरो हजुर–२ |
ओसिमा बानु | रोमियो |
रोजिशा शाही | ग्याङस्टार ब्लुज |
स्यारोन श्रेष्ठ | सायद–२ |
सन्नी सिंह | डायरी |
अभिनेत्री वर्षा सिवाकोटीले धमाधम चलचित्रमा काम गर्ने भन्दै साइन गरिन र धमाधम चलचित्र छोडिन । यो वर्ष मात्र उनले आधा दर्जन जति चलचित्र छोडेको बताइन्छ । यस्तै अभिनेता प्रशान्त ताम्राकार पनि वर्षा सिवाकोटी जस्तै चलचित्र छोड्ने र इन हुने मामिलामा अग्रणी रहे ।
यी पनि रहे हिट
साम्राज्ञीको वक्षस्थलमा ट्याटु
निशा अधिकारीको गर्भावस्थाको तस्बिर ।
पत्रकार सम्मेलनमा अंगरक्षकसँग प्रदीप ।
प्रियंका कार्की र आयुषमान देशराजको चुम्बन ।
दुईटी विकिनी गर्लसँग विनय श्रेष्ठको इन्ट्री ।
अभिनेत्री ऋचा शर्मामाथि छक्कापन्जाको गेट वेल सुन काण्ड ।
जव पशुपति आर्यघाटमा मदनकृष्ण पत्नीको शवमाथि सोझिएका युट्युवरहरूको क्यामेरा ।
जसको प्रेमसम्बन्ध चर्चामा रह्यो
अभिनेत्री साम्राज्ञी र मयंक प्रेममा रहेको चर्चा यो वर्ष खुबै भयो । यद्यपि साम्राज्ञीले मयंक आफ्नो मिल्ने साथी मात्र भनेर टार्दै आएकी छिन् । उनीहरुले बिताएका पल तथा सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरले उनीहरुको प्रेमलाई लुक्न दिएको छैन ।
चलचित्र ‘ऐश्वर्य’ हिट भएसँगै अभिनेत्री दीपिका प्रसार्इं तथा निर्देशक दिवाकर भट्टराईको प्रेमको चर्चा पनि चल्यो तर, पछि निर्देशक भट्टराईले उक्त खवरमा सत्यता नरहेको बताए । यद्यपि हल्ला गर्नेहरूलाई कसले रोक्नसक्छ– दीपिकाको प्रेममा परेकै कारण निर्देशक भट्टराईले आफूले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘क्याप्टेन’ मा दीपिकाको नाम सिफारिस गरेको खबर पनि आयो ।
चलचित्र ‘ए मेरो हजुर २’ बाट यही वर्ष सिने नगरीमा भित्रिएका अभिनेता सलिनमान बानियाको प्रेमले पनि यो वर्ष चर्चा पायो । सलिन अस्प्रिना श्रेष्ठको प्रेममा छन् । सलिनको जन्मदिनमा अस्प्रिनाले र अस्प्रिनाको जन्मदिनमा सलिनले एकअर्कालाई सरप्राइज मात्र दिएनन्, सामाजिक सञ्जालमा एक अर्काले माया भन्दै धन्यवादसमेत दिए । सलिनकी प्रेमिका अस्प्रिना प्रोफेसनल मेकअप आर्टिस्ट हुन् ।
निराशामा परिणत भएको आशा
सत्यराज आचार्य कुशल गायक हुन् । आचार्यले यो वर्ष चलचित्र अभिनेताका रूपमा प्रयोग गरे चलचित्र साढे सातमा फोटो पत्रकारको भूमिकामा प्रस्तुत हुँदै । यो चलचित्र सिनेमा हलमा टिक्न सकेन, दुई दिन नबित्दै उत्रियो । साम्तेन भुटियाजस्ता खारिएका निर्देशकले के सोचेर यो चलचित्र निर्देशन गरेका होलान् भन्ने जिज्ञासा चलचित्र समीक्षकहरूले गरिरहे । सुनिल रावलको सायद–२ पनि फ्लप चलचित्रको सूचीमा दरियो । सायदको सफलताबाट हौसिएका रावलले सायद–२ का लागि खासै मेहनत गरेको पाइएन, चलचित्रलाई दर्शकले रुचाएनन् ।
चलचित्र पञ्चायत पनि व्यवसायिक रूपमा असफल भयो । यो चलचित्रले राजनीतिक दलका नेताहरूको चित्त बुझाए पनि आमदर्शकलाई सिनेमा हलसम्म तान्न सकेन । रेखा थापाले पहिलो पटक खलपात्रको भूमिका निर्वाह गरेको छुल्ठिम गुरुङको चलचित्र डायरीबाट धेरै अपेक्षा गरिएको थियो तर त्यो अपेक्षा पूरा भएन । अराज केशवको चलचित्र जालो एकै सटमा छायांकन गरिएको चलचित्र हो । यो चलचित्रको प्रचार–प्रसार त्यहीअनुसार गरिए पनि त्यसले व्यवसायिक सफलता भने प्राप्त गर्न सकेन ।
निर्देशक सुरज सुब्बा नाल्बोको चलचित्र रातो घरले पनि आशा गरिए जस्तो व्यवसाय गर्न सकेन । वर्षा शिवाकोटी र सुशील श्रेष्ठको जोडीले अभियन गरेको चलचित्र कारखाना तथा पल शाह र आँचल शर्माको चलचित्र जोनी जेन्टलम्यान असफल होला भन्ने कमैले सोचेका थिए । रोज राणाको चलचित्र मेरो पैसा खैको अवस्था पनि त्यस्तै भयो । हसन खानले चलचित्र रोमियोबाट ठूलै चोट बेहोर्नुपर्यो । निशा अधिकारीको झ्यानाकुटीले पनि दर्शकलाई निराश बनायो ।
राम्रै प्रचार–प्रसार गरिएको केकी अधिकारी र नाजिर हुसैनको तराईको समस्यामा आधारित राज्जा रानीले पहाडमा त के, तराईमै समेत सफलता पाएन । सौगात मल्ल र बिपिन कार्कीको चलचित्र लालपुर्जा, निखिल उप्रेतीको रुद्र तथा पिँजडा ब्याक अगेनले पनि पर्याप्त दर्शक तान्न सकेनन् । विपिन कार्कीकै चलचित्र नाका समेत असफल चलचित्रको सूचीमा दरियो । हुर्रे, ब्लाइन्ड रक्स, गाँजा बाजा आदि चलचित्रलाई समेत लगानी सुरक्षित गर्न धौ–धौ पर्यो ।