साप्ताहिक संवाददाता
नेपाली गजल लेखनमा अगग्गै छाप पार्न सफल विपीन सलामीको गजलसङ्ग्रह ‘रानीचडा’ बजारमा आएको छ । गत साता सर्वनाम थिएटरमा गजलकामाली ज्ञानुवाकर पौडेल, गजलकार करुण थापा, गजलकार रुपक वनवासी र लेखक विपीन सलामीले संयुक्त रुपमा उक्त गजल संग्रह सार्वजनिक गरेका हुन् ।
संग्रहको विमोचन गर्दै ज्ञानुवाकर पौडेलले विपीन सलामीको गजल नपढेकाहरूलाई एकपटक पढ्न आग्रह गरे । विपीनका गजल पढिसकेपछि गजलका बारेमा बन्ने गरेका कतिपय गजल धारणाहरु हराउने पौडेलको दाबी थियो ।
यस्तै, गजलकार करुण थापाले विपीन सलामीका गजलहरु लामो रेसको घोडा रहेको तर्क पेश गरेका थिए ।
गजलकार रुपक वनवासीले–फरक दृष्टिकोणबाट लेखिएका गजलहरु पाठकको मनमा बस्न सफल हुने हुँदा रानीचडा पाठकको मनमा बस्ने दावी गरे ।
सांग्रिला बुकसले बजारमा ल्याएको गजलसङ्ग्रह ‘रानीचडा’मा ९३ गजल समावेश गरिएको छ ।