तपाईं आफू कुन स्तरको मानिस हो भनेर थाहा पाउन मन लाग्छ भने आफूले नियमित संगत गर्ने चारजना मानिसलाई हेर्नुपर्छ । स्तर भन्नाले सामाजिक, आर्थिक, शैक्षिक, बौद्धिक जे पनि हुन सक्छ । आक्कल–झुक्कल जसले जो जसलाई पनि भेटघाट र सम्पर्क गर्ला तर अक्सर कामकाज र उठबस गरिरहने मानिसहरूका सोच र कार्यशैली मिल्दाजुल्दा नै हुन्छन् ।
कसैले कसैसँग त्यसै संगत गर्दैन । हामी भन्छौं नि, यो त मेरो बच्चैदेखि संगत गरेको साथी । यसको आन्द्राभुँडी थाहा छ । यसले मेरो हानि गर्दैन । हामी बच्चाबच्चीलाई पनि सिकाउँछौं— गतिलाको संगत गर् है गतिलाको, नत्र बाटो बिराउलास् । को गतिलो को अगतिलो ? छुट्याउन गाह्रो छ । कुन मानिसले कस्को संगत गर्छ भन्ने कुरा उसको स्वभाव, चरित्र, चालचलन, हुर्काइ, चेतना आदि अनेक कुरामा निर्भर हुन्छ । हामी आफ्नो वरपर हेर्यौं भने पनि देख्छौं नि, चोरको साथी चोर नै हुन्छ, विद्वान्को साथी विद्वान् नै हुन्छ । मानिसलाई बानी र संगत फेर्न गाह्रो हुन्छ । कहिलेकाहीं लहैलहैमा लागेर असलले पनि खराबको संगत गर्न सक्छ, फटाहाले सज्जनको संगत गर्न पनि सक्छ । संगतले सकारात्मक वा नकारात्मक असर पार्न थाल्छ ।
चोर–चोर मिले भने चोर्ने योजना बनाउन थाल्छन्, सज्जन मिले भने कसरी राम्रो काम गर्ने भन्ने सल्लाह गर्छन् । जँड्याहाका साथी जँड्याहा, जुवाडेका साथी जुवाडे, नेताका साथी नेता, अभिनेताका साथी अभिनेता । मानिसले आफूले गर्ने पेसाका आधारमा पनि संगत गर्नैपर्ने हुन्छ, तर त्यसमा पनि आफ्नो हैसियत अनुसारकोसँग मात्र संगत र हेलमेल बढाउँछ । हरेक पेसामा विभिन्न तह र तप्काका मानिस हुन्छन् । चोरका पनि तह हुन्छन् । कोही घर फोर्ने योजना बनाउँछन्, कोही देशकै ढुकुटी फोर्ने योजना बनाउँछन् । गल्लीको चियापसलमा बसेर गफ र तानाबाना बुन्नेदेखि लिएर तारे होटलमा बसेर तिकडम गर्नेहरू पनि उत्तिकै हुन्छन् ।
यहाँ हरेक चोक–चोकमा नियमित संगत गर्ने पाँच–सात जनाको झुन्ड हुन्छ । कामअनुसार फरक–फरक समयमा संगत गर्ने अलग–अलग समूह पनि हुन सक्छ । कुनै बिहान मर्निङ वाक वा क्लबमा मात्र भेट्ने समूह हुन्छ, कुनै कार्यालयमा खाजा खान वा घुम्न जाने समूह हुन्छ । कुनैचाहिँ हरेक साँझ काम सकिएपछि चिया वा रक्सी खाने समूह हुन्छ । नियमित भेट्ने समूहलाई यस्तो एउटा भ्रम हुन्छ कि हाम्रो जस्तो समूह त कसैको छैन, हामीले पायौं भने देशकै कायापलट गरिदिन्थ्यौं । यस्तो गर्नुपर्ने उस्तो गर्नुपर्ने, यो भएन त्यो भएन, अरूका नानाभाँती चिरफार र आलोचना गर्न पोख्त हुन्छ यस्तो हरेक समूह । यदाकदा यात्रामा जाँदा आफ्नो उमेरभन्दा ठूलोसँग संगत गरेर माथि जान खोज्ने र आफूभन्दा सानोसँग संगत गरेर जवान र ऊर्जाशील हुन खोज्ने मानिसहरू पनि भेटिन्छन् । ठूला नाम कहलिएका मानिससँग संगत गर्न पाए हुन्थ्यो भन्ने सोच प्राय: धेरैको हुन्छ । एक–दुईचोटि भेट्नु र संगत नै गर्न थाल्नु फरक कुरा हो ।
एक–अर्काको स्वार्थ नमिली मानिसले कसैको संगत गर्दैन । स्वार्थ भावनात्मक, आर्थिक, कार्यगत जे पनि हुन सक्छ । संगत गर्न कुरा र सोच मिल्नुपर्छ । चाँडै धनी हुने र ठूलो मानिस बन्ने सपनामा फटाहाको संगत गरेर भड्खालोमा पर्ने सोझा र असल मानिस पनि उत्तिकै हुन्छन् । संगत पनि एक प्रकारको नशा नै हो । सधैं भेटेर एक–अर्काको कुरा सुन्दा,
आफ्नो कुरा राख्न पाउँदा मानिसलाई एक प्रकारको तुष्टि मिल्छ । संगत गरेका साथीभाइसँगै व्यक्तिगत गुनासा, पीर–व्यथा, हाँसोखुसी पनि साटिन्छन् । समान दुख भोगेका, सँगै संघर्ष गरेका, अभावमा भेटिएका, सँगै पढेका, काम गरेका, समान पारिवारिक स्थिति र भूगोलबाट आएका, रहनसहन, लवाइखुवाइ मिल्नेहरू अक्सर एक–अर्काको संगतमा हुन्छन् । आफ्नो समूह छोडेर तुरुन्तै अर्को समूहमा जान गाह्रो हुन्छ, किनभने कसको पृष्ठभूमि के हो र कसले कसरी लिन्छ थाहा पाउन गाह्रो हुन्छ । अर्को समूहमा गएर आफूलाई स्थापित गर्न समय लाग्छ, कतिपय कुरा मन खोलेर भन्न सकिँदैन, त्यसैले जस्तोसुकै भए पनि आफ्नो समूह आफ्नो संगत छोड्न जो–कसैले सक्दैन ।
उदाहरणका लागि यहाँ गीत–संगीतमा लागेकाहरूको आफ्नै समूह छ, चलचित्र बनाउनेहरूको आफ्नै समूह छ, पत्रकारका आ–आफ्ना समूह छन् । आफूलाई महान् खतरा अरूलाई खटारा मान्ने रोग धेरैमा हुन्छ । बाठा र चतुर मानिसहरू अनेक तिकडम लगाएर शक्तिशाली र पहुँचवालाको संगत गर्दै आफ्नो हैसियत बढाउन र स्वार्थ पूरा गर्न सिपालु हुन्छन् । कसको संगत गर्यो भने कहाँ कतिबेला के फाइदा हुन्छ भनेर दिमाग लगाउनेहरू र काम परेका बेला मात्र चिप्लो घस्दै संगत गर्ने स्वार्थका खेलाडीहरू पनि उत्तिकै हुन्छन् ।
खैर जे भए पनि हामी जो जहाँ छौं, एकफेर आजसम्म आफूले घेरा बनाएका मानिसहरू के–कस्ता छन् हेरौं । संगतले आफू बिग्रिरहेको छु कि सप्रिरहेको छु विचार गरौं । संगत गुनाको फल ढिलो चाँडो सबैले पाउँछन्, यत्ति हो कि आफ्नै जिन्दगी आफ्नै घेराबन्दीमा नपरोस् ।
Facebook.com/abeeralthapa
Twitter@abeeralthapa