साप्ताहिक संवाददाता
सामान्यत: युट्युबको ट्रेन्डिङमा पर्ने गीतलाई सफल मान्ने चलन छ । ट्रेन्डिङको टप टेनमा पर्न सफल गीतलाई लोकप्रिय भएको मानिन्छ । ट्रेन्डिङको पहिलो स्थानमा पुगेर झन्डै एक साता बस्न सफल भयो भने उक्त गीतलाई सफलताको शिखरमा पुगेको मान्नै पर्छ । यतिबेला नेपाली सांगीतिक क्षेत्रमा एउटा गीत त्यसैगरी सफलताको शिखरमा पुगेको छ ।
बाल गायक अशोक दर्जीको स्वरको पहिलो मौलिक गीत ‘मन बिनाको धन ठूलो कि’ एक साता युट्युबको नेपाल ट्रेन्डिङमा पहिलो स्थानमा रह्यो । बी. राज नेपालको शब्द तथा संगीतकार टंक बुढाथोकीको संगीत निर्देशनमा उनकै युट्युब च्यानलमा अपलोड गरिएको उक्त गीतमा गायक दर्जीलाई संगीतकार बुढाथोकीले पनि गायनमा साथ दिएका छन् ।
अपलोड गरिएको दुई सातामै ५८ लाख भन्दा बढि पटक हेरिएको उक्त गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक छ । यतिमात्र होइन अशोक दर्जीसँग सम्बन्धित अन्य भिडियो सामग्रीहरूसमेत ट्रेन्डिङको २ देखि ५० स्थानसम्म रहन सफल छन् ।
मन बिनाको धन ठूलो किको म्यूजिक भिडियो