ओली सरकारले ऐतिहासिक सय दिन पार गर्यो । यसबीच थुप्रै सकारात्मक समाचारहरू आए भने थोरै नराम्रा खबरलाई जनताले पचाए । निर्माण सामग्रीको बजारभाउ बढे पनि कोही चुइँक्क बोलेनन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको गनगन सुनिँदा ओलीले ‘म सानो छँदा सुन ९० रुपैया तोला थियो’ भन्दिए, चरो–मुसो विरोधमा उत्रिएनन् । विश्वासको मतका आधारमा नेपालको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली प्रधानमन्त्री कहलिएका ओलीको सरकारले अवश्य केही गर्नेछ भन्ने आशाले कसैले केहीमा विरोध गर्न चाहेनन् । राम्रो समाचारै सुन्न नपाएका हामी नेपालीको भाग्य बदलिने पो हो कि भन्ने महसुस पनि भयो, किनभने यो सय दिनमा यति धेरै महत्वाकांक्षी योजनाका कार्ड
फ्याँकिएको छ कि भलै ती योजना कार्यान्वयनमा नजाउन्, तर जनमानसमा त्यसले बेग्लै ऊर्जा सञ्चार गरेको छ । योजनाका मोडलहरू यसरी ब्याप्त भएपछि विकासका तरङ्गहरू ज्वारभाटामा परिणत हुन समय लाग्दैन । माओवादी केन्द्रसँगको एकीकरणले त झन् ओलीलाई अझ ओजिलो बनाएको छ । ओलीले भाषणका डल्ला पनि फ्याँकेका फ्याँक्यै छन् । ओली बा अखबारका हेडलाइनमा वा सोसल साइटमा दिनहँुजस्तो चम्क्या चम्कै पनि छन् । नेपालीले मौका पाएपछि गर्छन्, उनी पनि नेपाली हुन् ।
मौका पाएपछि घतपूर्ण उखान र टुक्का सुनाउन किञ्चित पछि पर्दैनन् ओली । कुनै बेला ‘आर यु केपी ओलिङ मी रु’ भन्ने वाक्यांश खुब चल्तीमा थियो । त्यतिबेला केपी ओलिङ भन्ने शब्दले गफ मात्र गर्ने, काम भने सिन्को नभाँच्ने भन्ने अर्थ राख्थ्यो । गफ त उनले दैनिक दिइरहेकै हुन्छन् तैपनि उनको उचाइ यति बढ्यो कि हिजोआज त्यो शब्द हराएर गयो शायद भाषण मात्र होइन, केही काम पनि गर्लान् भन्ने आशा जागेर त होला ।
वर्तमान मन्त्रीमण्डलमा माननीयहरूको गज्जबकै संयोजन पाइन्छ । उनीहरूप्रति जनताको अपेक्षा बढी भएर हो कि के हो उनीहरू पब्लिसिटी स्टन्टमा म्याराथुन धावन गरिरहेका पाइन्छन् । यस्तै एउटा पब्लिसिटी स्टन्टले रातारात चर्चामा आएका ओली सरकारका मनानीय हुन्– जगतबहादुर सुनार ९विश्वकर्मा० । खेलकुद मन्त्री भएर पनि उनी आफूलाई बहुआयामिक साबित गर्दै भैंसीगोठ उद्घाटन गर्न सफल भएका छन् । अब सुनारलाई एक्कासि भाइरल बनाउने त्यही भैंसीगोठको रिबनले उब्जाएका केहि प्रश्नहरूमाथि मन्थन गरौं ।
रिबन कटाइको विषयमा धेरैको चासो कृषि मन्त्रीले गर्ने काम किन खेलकुद मन्त्रीले गरे भन्ने थियो । भैंसीको पोषिलो दुध खाएर ज्यान तगडा बनाएपछि पो गतिलो खेल्न सकिन्छ भन्ने तर्क पनि गरियो, तर वास्तवमै भन्ने हो भने यो मन्त्रीको ओहदामा बसेको कुनै पनि मान्छेले गर्ने काम होइन । यो वडाध्यक्षले पनि गर्ने काम होइन । यो किसान वा व्यवसायी स्वयले गर्ने काम हो ।
एउटा सिङ्गो देशको मन्त्री जस्तो मान्छे नाथे (राष्ट्रिय महत्वको हिसाबले) एउटा भैंसी फार्म उद्घाटनमा सरिक हुनुले के जनाउँछ भने मन्त्रीको अरू कुनै काम हुँदैन । भाषण दिन र रिबन काट्न भनेपछि जहिले पनि र जहाँ पनि जाने निर्लज्ज स्वभाव आखिर कहिले समाप्त होला रु रातो रिबन टाँगेर राखेको कल्पना गर्नासाथ नेताहरू मन थाम्न सक्दैनन् । खबर राम्रो होस् कि नराम्रो, उनीहरू आफ्नो तस्बिर र नाम अखबारका पन्नाहरूमा देख्न चाहन्छन् । आफ्नो स्तरले कुन कार्यक्रममा जान हुने हो कुनमा नहुने हो उनीहरू भेउ पाउँदैनन् । सहकारीदेखि शौचालयसम्म उद्घाटन गर्न हिंड्ने मन्त्रीहरूको नानीदेखि लाग्या बानी सुधार्न कानुनी व्यवस्था नै गर्नुपर्ने देखिन्छ । वडा, गाउँ, नगर, क्षेत्र, प्रदेश र राष्ट्रिय महत्व राख्ने कार्यक्रममा कुन मर्यादाको व्यक्ति जान पाउने र गए बढीमा कति समय खर्चिन सक्ने भन्ने न्युनतम समझदारी बन्यो भने गाउँ वा टोल स्तरको कार्यक्रममा बहालवाला मन्त्रीहरू जाँदैनथे ।
दोष नेताको मात्र छैन । जनता पनि जुनसुकै कार्यक्रममा मन्त्रीलाई बोलाउन पाए हुन्थ्यो भनेर मरिमेट्छन् र आफ्नो पहुँचको गलत प्रयोग गरेर मन्त्रीलाई हरहालतमा कार्यक्रममा उपस्थित् गराउँछन् । मन्त्री देशको धेरै ठूलो जिम्मेवारी पाएको मान्छे हो । भाषण ठोक्ने र रिबन काट्ने सक्दो काम उसले चुनावअघि नै गरिसक्यो अब फेरि उसलाई त्यही पुरानो उपलब्धविहीन काममा अभ्यस्त गराइनु हुँदैन । रिबन काट्न उपाध्यक्ष, उपमेयर वा राज्यमन्त्रीलाई बोलाए हुन्छ । मन्त्रीहरूलाई त एकाग्रचित्तमा काम गर्न दिनुपर्छ । योजना, बहस र अध्ययनमा लीन हुन दिनुपर्छ । घरि भोजमा आइदिनुपर्यो, घरि सरुवा गरिदिनुपर्यो, घरि प्रमुख अतिथि बनिदीनुपर्यो भनेर दिनहुँ जस्तो मन्त्रीहरूलाई ‘डिस्टर्ब’ गरिरहने अनि कार्यकाल सिद्धिएपछि काम नगर्ने यस्तो र उस्तो मन्त्री भनेर उसकै उछित्तो काढ्ने हामी जनता नै हौं । मन्त्री पनि मानिस् हो । जुन कामका लागि ऊ त्यहाँ गएको छ, त्यही काम गर्न दिनुपर्छ । एउटै मानिसबाट धेरै कामको आशा गरिनु हुँदैन ।
पहिले आफ्नो सोच र व्यबहार बदलौं, अनि बादलिन्छन् मन्त्रीहरू, अनि मात्र बदलिन्छ देश ।