टाउँकोमा रातो क्याप, आँखामा सानो साइजको चश्मा, मुखमा नीलो माक्स अनि हातमा हतकडी लगाएर बाक्लो सुरक्षा घेराबीच जिल्ला अदालत मोरङको ६ नम्बर इजालसमा उपस्थित हुँदा अन्य दिनको तुलनामा थुनछेकको आदेश आउने दिन चूडामणि उप्रेती ‘गोरे’ को स्वरुप भिन्न देखिन्थ्यो । लगातार चार दिन मोरङ जिल्ला अदालतमा उपस्थित गराइएका साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरे आइतबार थुनछेकको आदेश आउने दिन निकै भावुक देखिन्थे ।
चार दिन लगाएर न्यायाधीश नारायणप्रसाद शर्माको बन्द इजलासमा ३७ पानामा लिपिबद्ध बयान बुझाइएपछि उनीविरुद्ध सोही दिन थुनछेक बहस सुरु भयो । बहस चलिरहँदा अन्तिम समयसम्म गोरे अन्तिम सिटको कुनामा सुरक्षाकर्मीहरूका साथमा थिए । आइतबार दिउँसो २ बजे बहस सुरु भयो । बादीका तर्फबाट सरकारी वकिलको कार्यालयका जिल्ला न्यायधिवक्ता पूण्यप्रसाद पाठक तथा सहायक न्यायाधिवक्ता रोहित पोखरेलले बहस गरे । सरकारी वकिलले बहस गर्दा गोरे छिनमा गम्भीर मुडमा देखिन्थे भने केही बेरमै एकहोरो हुन्थे । वादीका तर्फबाट बहस सकिएपछि गोरेका तर्फबाट कानुन व्यवसायी अधिवक्ता यामबहादुर मगरले ४१ मिनेट बचाउपूर्ण बहस गरे । अधिवक्ता मगरले प्रतिरक्षा गर्दा गोरेको मनोबल बढेको उनको अनुहारबाट प्रस्ट देखिन्थो । आफ्ना तर्फबाट कानुन व्यवसायीले बहस गर्दा गोरे घरी गालामा हात लगाउँथे त घरी ध्यानपूर्वक बहस सुन्थे । प्रतिवादीका तर्फबाट बहस सकिएपछि आइतबार साँझ ६ बजे आदेश आयो ।
न्यायाधीश नारायणप्रसाद शर्माको इजालसले आदेशमा संगठित अपराध निवारण ऐन, २०७० को दफा ४१ तथा मुलुकी ऐन अ.ब. ११८ देहाय २ बमोजिम पुर्पक्षका लागि थुनामा राख्न अनुमति दिएको मोरङ जिल्ला अदालतका निमित्त श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए । सुन तस्करी, भरियामाथि यातना र हत्या, लास दबाउने काममा सक्रियता, अपराधिक समूह स्थापना एवं सञ्चालनमा संलग्नताजस्ता आरोपमा श्रव्य दृश्य एवं मिसिल संलग्न प्रमाणका आधारमा उनी कसुरदार देखिएको अदालतको ठम्याइ छ । अदेशपछि गोरेलाई आइतबार साँझ नै प्रहरीले कडा सुरक्षा दिएर जिल्ला कारागार मोरङ पुर्यायो ।
गोरे गत ८ जेठमा काठमाडौंमा पक्राउ परेका थिए । पक्राउ परेको दिन उनलाई हवाईमार्गबाट विराटनगर ल्याएर सोही दिन अबेर जिल्ला अदालत मोरङमा पेस गरिएको थियो । यसअघि पक्राउ परेका ३० जना अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने, एक जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा छाड्ने आदेश अदालतले गरेको थियो । प्रहरीको एक महिना लामो अनुसन्धानपछि गत वैशाख २६ गते जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित ३० जनालाई पक्राउ गरी आरोपपत्रसँगै अदालतमा पेस गरेको थियो । उनीहरूविरुद्ध संगठित अपराधअन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी एवं निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको थियो ।
साढे ३३ किलो सुनका मालिक भारतीय
माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएर बीच बाटोबाटै हराएको साढे ३३ किलो सुनका मालिक भारतीय भएको गोरेको बयानमा उल्लेख छ । सुनमा लगानी गर्ने व्यक्ति भारतको दिल्लीमा बस्ने बताए पनि गोरेले निजको नाम भने खुलाएका छैन ।
‘मसमेत भै दुबईबाट नेपाल सुन भित्र्याउने गरेको तथ्यमा कुनै विवाद छैन,’ गोरेले बयानमा भनेका छन्, ‘भारतीय व्यापारीले मगाएको साढे ३३ किलो सुन हराएको कुरासमेत यथार्थ हो । हराएको सुन पत्ता लगाउन थाई एयरलाइन्सका कर्मचारीदेखि भुजुङ गुरुङ, छिरिङ गुरुङ तथा मेरा सहयोगीहरूलाई समेत शंकाको घेरामा राखी मैले अनुसन्धान गरेको हुँ । सनम शाक्यलाई कसैले अपहरण गरेको छैन, उनलाई मार्ने उद्देश्यसमेत कसैको थिएन, घटना भवितव्यवश भयो । सनम मेरा मिलनसार र विश्वासिला मित्र थिए, मैले सनमलाई कर्तव्य गरी मारेको होइन ।’
हराएको सुन पत्ता लगाउने क्रममा फागुन १७ गते शाक्यलाई कुटपिट गर्दै अनि फेरि फकाउँदै सोधपुछ गरे पनि मार्ने नियत नभएको उनले बताएका छन् । टेकबहादुर मल्ल र शाक्यबीच मनमुटाव भएकाले उनैले करेन्ट लगाएको दाबी गोरेको छ । शाक्यलाई लाक्पा शेर्पा, टुकबहादुर, सुरेन्द्र र मल्लले कर्तव्य गरी मारेको उनले आफ्नो बयानमा बताएका छन् ।
एसएसपी खत्रीले ५० हजार रुपैयाँ लिन्थे
गोरेले अदालतसमक्ष दिएको बयानमा अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाउन एसएसपी श्याम खत्रीको मूख्य भूमिका रहेको बताएका छन् । भरियामार्फत झोलामा सुन आएपछि भरियालाई प्रहरीले पास उपलब्ध गराउने र चेकजाँच नभै सुन खत्रीको कोठामा पुगेर बाहिरिने गरेको गोरेको बयानमा उल्लेख छ । गोरेका अनुसार खत्रीले आफ्ना ड्राइभर तथा अंगरक्षकलाई प्रयोग गरेर सरकारी गाडीमै सुन बाहिर ल्याउँथे । खत्रीले सुन बाहिर निकाले वापत प्रतिकिलो ५० हजार रुपैयाँ लिने गरेको भन्दै एसएसपी खत्रीकै सहयोगमा ४ सयदेखि ५ सय किलोसम्म सुन आएको गोरेले दाबी गरेका छन् । छानविन समितिको अनुसन्धानका क्रममा बरामद भएको खातामा पनि खत्रीलाई एक करोडभन्दा बढी रकम दिइएको पाइएको थियो । खत्री अहिले फरार छन् । उनलाई प्रहरीले खोजिरहेको छ ।
खत्रीलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गर्ने तयारी छ । उनी तिनै प्रहरी अधिकारी हुन, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए तर, पछि उनलाई अदालतले सफाइ दिएको थियो ।
प्रहरीसँँग २ करोडको डिलपछि भारत भागे गोरे
गोरेले सनम शाक्यको शब लुकाउन प्रहरीसँग ‘डिल’ भएपछि आफू भारत तिर लागेको कुरा बताएका छन् । सनमको हत्यापछि शव व्यवस्थापन गर्न प्रहरीसँग २ करोडको डिल भएको तर, प्रहरीको भर नलागेपछि भागेर विराटनगर हुँदै जोगवनीको बाटोबाट कोलकता पुगेको उनले दिएको बयानमा उल्लेख छ ।
गोरेका अनुसार उनले सुरुमा भारतीय तस्करहरूको समूहले साथीको हत्या गरेको भनी अपराध महाशाखाका प्रहरीलाई बताएका थिए । सहयोग माग्दै चिनजानका सई बालकृष्ण सञ्जेललाई फोन गरेको र उनले अरु हाकिमसँग कुरा गरेपछि शव व्यस्थापन गर्न डीएसपी प्रजित केसीको नेतृत्वमा एउटा टोली पूर्वतर्फ आएको दाबी गरेका छन् ।
बाटोमा डीएसपी केसीले फोन गरेर लास व्यवस्थापन गरिदिएबापत २ करोड रुपैयाँ माग गरेको गोरेले बताएका छन् । ‘घटनाको जिम्मा टेकराज मल्लले लिने, शव जंगलतिर कतै राखेर मृतकको परिवारलाई खबर गर्ने, क्षतिपूर्ति दिने र टेकराजलाई निश्चित रकम दिने सहमति भयो,’ उनले आफ्नो बयानमा भनेका छन्, ‘त्यसवापत प्रहरीलाई २ करोड दिने कुरा भएको थियो ।’
आफूहरू धरान पुग्दा सनमको मृत्यु भएको नरेन्द्र कार्कीमार्फत हल्ला चलेको खबर पाएको उनको बयान छ । ‘त्यसपछि त्यहाँ बस्नु ठीक छैन भन्ने सोचेर निस्किएको थिएँ’, उप्रेतीले भनेका छन्, ‘टेकबहादुरलाई सञ्जेल मामा आउँदै हुनहुन्छ । सबै ठीक हुन्छ भनेर म त्यहाँबाट हिडेको थिएँ ।’
डीएसपी केसीसँग गोरेको फोन सम्पर्क
शव व्यवस्थापन गर्ने जिम्मा टेकबहादुर मल्ल ठकुरीलाई दिएपछि विराटनगर हुँदै जोगवनीबाट भारतर्फ भागेको गोरेले बताएका छन् । ‘प्रहरीले सहयोग गर्ने यकिन थिएन र प्रहरीलाई विश्वास गर्नु राम्रो पनि होइन भन्ने लागेपछि भारत छिरेको बताउने गारेले आफूलाई नै फसाउने शंका लागेको पनि बताएका छन् । आफू भारत पुगेको भोलिपल्ट डीएसपी प्रजित केसीसँग भारतबाटै फोन सम्पर्क भएको उनले दाबी गरेका छन् । डीएसपी केसीले फोन सम्पर्क गरी नेपाल आउन पटक–पटक आग्रह गरेको उनले दिएको बयानमा उल्लेख छ ।
बयानमा गोरेले प्रतिवादीमध्ये महावीरप्रसाद गोल्यान अग्रवाल, प्रमोदकुमार श्रेष्ठ, कपिराज पुरी, हेमन्त गौतम, रोशन भनिने गुप्तलाल भुसाल, गीता श्रेष्ठ, अमरमान डंगोल, विष्णुबहादुर खड्का, अमर भनिने अम्बरबहादुर थापामगर, दिवेश लोहनी तथा प्रजित केसीमध्ये कसैलाई नचिन्ने दाबी गरेका छन् । यस्तै प्रतिवादीहरू चेतनाथ भण्डारी र भोजराज भण्डारी आफ्ना मामा र निरु भनिने नर्वदा खरेल उप्रेती आफ्नी श्रीमती भएको उनले बताएका छन् । उनले अन्य प्रतिवादीहरूलाई दुबई तथा नेपालमा बस्दा चिनेको जवाफ दिएका छन् ।
अदालत समक्ष गोरेको बयान
एसएसपी खत्री र ठूला नेता पक्रिए तस्करीको जरा पत्ता लाग्छ
३८ क्विन्टलले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ले सुन तस्करीका नाइके, प्रहरीका उच्च अधिकारी तथा राजनैतिक दलका ठूला नेताहरू पक्राउ परेका बखत नै सुन तस्करीको असली कुरा पर्दाफास हुने आफ्नो बयानमा बताएका छन् ।
जिल्ला अदालत मोरङको बन्द इजालसमा गोरेले न्यायाधीश नारयणप्रसाद शर्मा समक्ष चार दिन लगाएर दिएको ३७ पृष्ठको बयानमा उक्त कुरा उल्लेख गरेका हुन् । उनले प्रहरीका उच्च तहका अधिकारीदेखि राजनैतिक दलका उच्च ओहोदाका नेताहरूको संलग्नतामा मात्र सुन तस्करी सम्भव हुने बताएका छन् । गोरेले अदालतमा दिएको बयानमा कुन राजनैतिक दलका कुन नेता संलग्न छन् भन्ने चाहिँ खुलाएका छैनन् । उनले सुन तस्करीमा आफू तल्लो लेभलको मान्छे भएको बताएका छन् ।
उप्रेतीले आफ्नो बयानमा भनेका छन्, ‘सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी तथा राजनैतिक पार्टीका ठूला मानिसको मिलेमतोमा हुन्छ । को–को संलग्न छन् यकिन भन्न सक्दिनँ । तस्करीबाट आउने सबै सुन इन्डिया जान्छ । सुन तस्करीका लगानीकर्तासमेत भारतीयहरू नै हुन् ।’
अदालतसमक्ष दिएको बयानमा उनले भनेका छन्, ‘मभन्दा माथिल्लो लेयरका सुन तस्करीका नाइके, प्रहरीका उच्च अधिकारी तथा राजनैतिक दलका ठूला नेता पक्राउ परेका बखत नै सुन तस्करीको असली कुरा पर्दाफास हुन्छ ।’ नेपालमा तस्करीको धन्दा चलाउने छिरिङ वालेङ घले भएको उनले बयानमा पोलेका छन् । आफूले भरियाहरूको सेटिङ मिलाउने काम मात्र गरेको भन्दै गोरेले आफू छिरिङकै लाइनमा बसेर सुन ओसारपसार गर्ने सामान्य मानिस मात्र भएको जिकिर गरेका छन् । उनका अनुसार छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएका थिए । उनले सनम शाक्यको हत्या पनि आफूले नगरेको दाबी गरेका छन् । ‘मृतक सनम शाक्यलाई कसैले अपहरण गरेको छैन । निजलाई मैले करेन्ट लगाएको समेत छैन,’ उनले भनेका छन् ।