साप्ताहिक संवाददाता
यसलाई कसरी हेर्ने भन्ने कुरा हो (समय सन्दर्भ : भैंसीगोठको रिबन) । सकारात्मक रूपमा हेर्ने हो भने त्यति नकारात्मक टिप्पणी गरिरहनु जरुरी छैन । यो पनि अन्य पेसाजस्तै सम्मानजनक काम हो ।
चिरन बस्नेत
फरक देशका फरक खेलाडीहरूका बारेमा पढ्न पाउँदा रमाइलो लाग्यो (हेर्न लायक १० खेलाडी) । नेपाली खेलाडीहरूका बारेमा पनि पढ्न पाइयोस् ।
गणेश मण्डल
यति धेरै रंगशाला † (विश्वकप–२०१८— विश्वकप हुने १२ रंगशाला) । रूसका विश्वकप रंगशालासम्बन्धी सामग्री पढेपछि आश्चर्य लाग्यो । एउटा खेलका लागि कति ठूलो तयारी गरेको रहेछ रूसले ?
अमृत न्यौपाने
नेपालका विकट ठाउँहरूलाई चलचित्रको पर्दामा देखाइनु सकारात्मक कुरा हो (जाजरकोटमा मालिका) । अभिनेत्री रेखा थापाले त्यो प्रयास गरेकी छिन् । अन्य कलाकार तथा चलचित्र निर्माताहरूले पनि यतातिर ध्यान पुर्याउनुपर्यो ।
अनन्त जोशी
मिस नेवा: २०१८ को उपाधि हात पार्नुभएकोमा रिजु मानन्धरलाई बधाई (रिजु भइन् मिस नेवा: २०१८) । अन्य प्रतिस्पर्धामा पनि सफलता मिलोस्— शुभकामना ।
कमल मानन्धर
सुन तस्करीमा राजनीतिक संलग्नताको आरोप लगाइसकेपछि गोरेले अब वास्तविकता खोल्नुपर्यो (अपराध : अदालतमा गोरेको बयान) । पटक–पटक बयान फेर्दा अन्यौल थपिन्छ र आफैं फटाहा सावित भइन्छ । जनतासामु सत्यतथ्य अ्बताउनुपर्यो ।
नारायण पौडेल
निपा भाइरससम्बन्धी सामग्री जानकारीमूलक छ (जोगिउँ निपा भाइरसबाट) । साप्ताहिकमा समसामयिक विषयका यस्तै लेख पढ्न पाइयोस् ।
गौतम बाँस्कोटा
प्रेम, यौन, गर्भधारण तथा प्रजनन स्वास्थ्यसँगै सबै अधिकार महिलामा आएपछि पक्कै धेरैलाई खुसी बनाएको होला । (फ्रन्टपेज : ब्याचलर मम्) यद्यपि यो कुराले कतै समस्या सिर्जना नहोस्, द्वन्द्व नबढोस् ।
पार्वती श्रेष्ठ
मनोज गजुरेलको हाँसोको मुहान खोज्दै जाँदा लेखले मन छोयो (हाँसोको मुहान खोज्दै जाँदा– ५) । कता–कता मन पनि कटक्क खायो । पैसाले सुख दिए पनि खुसी भने दिँदैन । तैपनि त्यसका लागि ज्यान फालेर बिरानो देशमा काम गर्नु पर्ने नियति छ । नेपालमै काम गर्ने अवसर धेरैका लागि खुसीको विषय हुने थियो ।
सुशील भण्डारी
यति धेरै भाषा, धर्म, संस्कृति भएको देशमा हामी नेपालीहरू मिलेर बसेका छौं (बदलिँदो समाज र परिवर्तित नेपाली जीवनशैली) । यद्यपि राजनीतिका नाममा फाटो ल्याउने काम बेठीक छ । यस विषयमा नेपालीहरू आफंै सचेत हुनु जरुरी छ ।
सञ्जीव लामिछाने
नेतृत्वले ठूला सपनाहरू देखाइरहँदा साना कुरामा पनि ध्यान दिनुपर्यो (यात्रा सन्दर्भ : रेलको खेल) । बाटोघाटो फराकिलो हुनुपर्यो । खाल्डाखुल्डी हुनु भएन । कसैले खानेपानीको समस्या भोग्नु नपरोस् । यस्ता कुरा सबैभन्दा पहिले सम्बोधन हुन जरुरी छ ।
हिमाल खड्का
कीर्तिमानी आरोही कामीरिता शेर्पालाई बधाई छ (अन्तरवार्ता : सगरमाथालाई तीन पटक ढोगेर माफी माग्छु) । तपार्इंको अथक प्रयास खेर जाने छैन ।
संयोग लिम्बू, नेत्र काफ्ले
यो स्मार्ट स्टिक सर्वसुलभ बनाइयोस् (साइन्स एन्ड टेक्नो : दृष्टिविहीनका लागि स्मार्ट स्टिक) । दृष्टिविहीनहरूले सहजै उपयोग गर्न सकून् ।
प्रेम भण्डारी