साप्ताहिक संवाददाता
नेपालले विश्वकप फुटबल खेलेको सपना देख्न पाउँछ कि पाउँदैन ? खेलकुदमा सबै प्रकारका सम्भावना खुला हुन्छन्, तर नेपालले साँच्चै यस्तो सपना देख्ने हो भने पनि लामो र सुदृढ योजना चाहिन्छ । विश्वकप छनौट यात्रा आफैंमा कठिन, जटिल र लामो हुन्छ । फुटबलको विश्वकप छनौट यात्राका सन्दर्भमा भनाइ छ– विश्वकप जित्नुभन्दा विश्वकपमा छनौट हुन गार्हो छ । नेपालले विश्वकपको अन्तिम चरण कहिले खेल्ने हो, त्यो अहिलेका लागि अनुमान मात्र हुनेछ ।
सन् २०२२ को विश्वकप कतारमा हुनेछ र त्यति बेला विश्वकपमा सहभागी हुने देशको संख्या बढेर ४८ पुग्ने सम्भावना छ, तर अन्तिम निर्णय हुन भने बाँकी नै छ । त्यो स्थितिमा एसियाको पनि विश्वकपको अन्तिम चरणमा खेल्ने कोटा बढ्ने निश्चित छ । त्यस्तो स्थितिमा अर्को प्रश्न नेपालले विश्वकप कप खेलेको सपना किन नबुन्ने त ? त्यसका लागि आजैदेखि तयारी किन नगर्ने ? विश्वकप–२०१८ रुसमा सुरु भैसकेको पृष्ठभूमिमा नेपालले अहिलेसम्म खेलेका विश्वकप छनौट खेलमा नजर लगाउनु ठीक हुनेछ ।
सन् १९८६ को विश्वकप नेपालका लागि त्यस्तो विश्वकप सावित भयो, जसमा नेपालले पहिलो पटक छनौट खेलेको थियो । यस अर्थमा त्यति बेलाको विश्वकप छनौट ऐतिहासिक सावित भयो । त्यही संस्करणको विश्वकपदेखि नै नेपाली दर्शकले टिभीमार्फत औपचारिक रूपमा विश्वकप हेर्न थालेका हुन् । त्यति बेला नेपाल छनौटको समूह तीन ‘ए’ मा थियो र नेपालका प्रतिद्वन्द्वी थिए, दक्षिण कोरिया र मलेसिया । जसमध्ये नेपालले कुनै खेल जितेन, मलेसियासँगको एक खेल भने बराबरीमा टुंगिएको थियो ।
नेपालले दोस्रो पटक सन् १९९० को विश्वकप छनौट खेल्यो । नेपाल फेरि एकपटक दक्षिण कोरिया, मलेसिया र सिंगापुरको समूहमा पर्यो । भारत पनि यही समूहमा थियो तर पछि उसले आफ्नो नाम फिर्ता लियो । नेपालका लागि त्यो बिर्सनलायक छनौट रह्यो, नेपालले कुनै खेल जितेन नै, कुनै गोल पनि गर्न सकेन, बरु उल्टै २८ गोल खायो । त्यही कारणले नेपालले सन् १९९४ को विश्वकप छनौट नै खेलेन् । त्यसपछि नेपालले एक पटक फेरि सन् १९९८ को विश्वकपका लागि छनौट खेल खेल्यो ।
यसमा भने नेपालको प्रदर्शन केही सुधारिएको देखियो, भलै नेपाल चार टिममध्ये अन्तिम स्थानमै रह्यो । नेपालको समूहमा जापान, ओमान र मकाउ थिए । नेपालले मकाउलाई पनि उछिन्न सकेन । नेपालले मकाउसँग सुरुमा १–१ को बराबरी खेल्यो । अन्तिम खेलमा मकाउसँग २–१ ले पराजित भयो । त्यति बेला गोल गर्ने खेलाडी थिए, हरि खड्का र दीपक अमात्य । यस्तोमा हरि नेपालका लागि विश्वकप छनौटमा गोल गर्ने पहिलो खेलाडी भए ।
सन् २००२ को विश्वकप छनौट धेरै अर्थमा ऐतिहासिक रह्यो । नेपालले यसपटक गोल मात्र गरेन्, जित हात पार्न पनि सफल भयो । त्यति बेला नेपालको समूहमा इराक, काजाकिस्तान र मकाउ थिए । नेपाल मकाउलाई उछिनेर तेस्रो स्थानमा आयो । नेपालले मकाउविरुद्धका दुवै खेल जितेको थियो । उक्त जित विश्वकप छनौटमा नेपालको पहिलो सफलता थियो । पूरा छनौट चरणमा निराजन रायमाझीले सात गोल गरे ।
यसमा पहिलो गोल इराकविरुद्ध थियो भने अरू सबै गोल मकाउविरुद्ध थियो । मकाउविरुद्धको अन्तिम खेलमा निराजनले ह्याट्रिक समेत गरे । यही छनौटमा वसन्त थापा र हरिले दुई/दुई गोल गरे । बालगोपाल महर्जन र दीपक लामाको नाममा एक/एक गोल रह्यो । एसियाकप छनौटमा खराव प्रदर्शनका कारण नेपालले फेरि एकपटक २००६ को विश्वकप छनौट खेलेन । सन् २०१० को छनौटमा नेपालको एक मात्र प्रतिद्वन्द्वी ओमान थियो र दुवै लेगको खेल नेपालले गुमाएको थियो ।
सन् २०१४ को विश्वकप छनौटमा नेपाल पहिलो पटक दोस्रो चरणसम्म पुग्न सफल भयो । त्यति बेला एसियाली फुटबल महासंघले छनौट प्रक्रियामा परिवर्तन गरेको थियो । पहिलो चरणमा नेपालले इस्ट टिमोरलाई हराएको थियो । दुई लेगको खेलमा नेपाल ७–१ ले अगाडि रह्यो । पहिलो खेल २–१ ले जित्दा अनिल गुरुङ र जुमनु राईले गोल गरेका थिए । दोस्रो खेल ५–० ले जित्दा नेपालका तर्फबाट अनिल गुरुङ, भोला सिलवाल, जुमानु, जगजित श्रेष्ठ तथा सुजल श्रेष्ठले गोल गरेका थिए ।
छनौटको दोस्रो चरणमा नेपालको प्रतिद्वन्द्वी ओमान थियो । ओमानविरुद्ध नेपालको पहिलो खेल ९–० को हारसँगै बिर्सनलायक रह्यो । दोस्रो खेल भने १–१ को बराबरीमा रोकियो । त्यसमा एक मात्र ऐतिहासिक गोल गर्ने खेलाडी भरत खवास थिए । अब नेपालको नजर आउने एसियाली विश्वकप छनौटको संरचना कस्तो हुनेछ भन्ने मै केन्द्रित हुनेछ । नेपाल जस्ता देशले विश्वकपमा एसियाली प्रतिनिधित्व बढेकोबाट फाइदा लिन सक्नेछन् । यद्यपि त्यसका लागि दरै र लामै तयारी पनि चाहिन्छ ।