यसै पनि पोखरामा फुटबल मन पराउने दर्शक बढी छन्, जुन कुरालाई यहाँ आयोजना हुने फुटबल प्रतियोगितामा पुग्ने दर्शकको भीडले समेत स्पष्ट पार्छ । स्थानीय प्रतियोगिता मात्र होइन, विश्वकप फुटबलको वातावरणले पनि कम छुदैन पोखरालाई । यहाँका फुटबलप्रेमीहरूका विश्वकप फुटबल हेर्ने आ–आफ्नै योजना छन् । कोही साथीभाइ जम्मा पारेर घरमै रमाउँछन् भने कोही पोखरामा रहेका विभिन्न रेस्टुराँमा पुगेर फुटबल हेर्छन् । केही फुटबल क्लबले प्रोजेक्टरको माध्यमबाट खुल्ला आकाशमुनि बसेर फुटबल हेर्ने चाँजोपाँजो मिलाउँछन् । सिनेमा हलमा समेत फुटबल हेर्ने व्यवस्था मिलाइन्छ । विशेष गरी समुह चरणका खेलपश्चात् यसको रौनक अझ बढ्छ ।
आफूलाई मन पर्ने देशको टिसर्ट लगाउनेहरू पनि उत्तिकै हुन्छन् । खेलकुद सामग्री पाइने पसलदेखि फेन्सी पसलसम्ममा विभिन्न देशका टिसर्ट बिक्रीका लागि राखिएको छ । त्यस्ता टिसर्ट किन्दै उक्त टिमप्रति आफ्नो अपनत्व देखाउनेहरू पनि उत्तिकै छन् । उपाधि कसले जित्ला भनेर प्रश्न गर्ने तथा आफूले सर्मथन गरेको टिमले जित्छ भन्नेहरू पनि उत्तिकै हुन्छन् ।
पोखरामा विशेष गरी ब्राजिल, अर्जेन्टिना, स्पेन, फान्स, पोर्चुगल, इंग्ल्यान्ड आदि देशका फ्यान बढी देखिन्छन् र यिनीहरूको खेलको दिन जित–हारको बाजीसमेत राखिन्छ । सुरुवातका खेलमा सामान्य बाजी राखिए पनि फाइनलसम्म पुग्दा बाजीको रेट पनि बढ्दै जान्छ । विशेष गरी साथी–साथीमा रमाइलोका लागि बाजी राख्ने चलन छ ।
पोखरेलीहरू कति फुटबल क्रेजी छन् भन्ने कुरा त विश्वकप–२०१८ का लागि फिफाले बनाएको अफिसियल ट्रेलरमा पोखराका नवीन गुरुङ नेपालको राष्ट्रिय झन्डासहित देखिनुले पनि प्रस्ट पार्छ । त्यो दृश्य पोखरा–१५ का गुरुङ सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप हेर्न जाँदा खिचिएको थियो ।
पोखरामा फुटबल प्रेमी महिला दर्शकको संख्या पनि उत्तिकै छ । चोक, रेस्टुराँ तथा फिल्म हलमा देखाइने फुटबल म्याच हेर्न दर्शकलाई आग्रह गर्दै विभिन्न माध्यमबाट जानकारी गराइन्छ । यहाँ रहेका केही सञ्चारमाध्यमले विश्वकप विशेष कार्यक्रम सञ्चालन गरेर विश्वकप फुटबलको रौनक बढाउँछन् । पोखराको लेकसाइडमा रहेका रेस्टुराँहरूमा आन्तरिक तथा बाह्य पर्यटकसमेत विश्वकप हेर्न पुग्छन् । त्यहाँ दर्शकका लागि विभिन्न प्याकेज समेत उपलब्ध हुन्छ । खाँदै–रम्दै फुटबलको मज्जा लिन पाइन्छ त्यहाँ ।