डिसेम्बर ११, २०१४ मा संयुक्त राष्ट्रसंघले योगलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा २१ जूनमा मनाउने घोषणा गरेअनुसार २१ जून, २०१५ बाट पहिलो अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु भयो । हाल हामी चौथो अन्तर्राष्ट्रिय योग दिवस आज मनाउन गइरहेका छौं ।
योगलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन भारतले खेलेको भूमिकामा पहिलो समर्थन गर्न नेपाल उभिएको थियो । भलै भारतले योगको प्रचारप्रसारमा आफ्नो भूमिकालाई व्यापक बनाउँदै लगे पनि योगको जन्मभूमि प्राचीन नेपालको भू–भागमा भएका कारण हामीहरूले यसको श्रेय लिन र यसलाई बजारीकरण गर्न पछि हट्नु हुँदैन ।
योगको सुरुवात भगवान शिवले गर्नुभएको कुरालाई सबैले स्वीकार गरेको छ । शास्त्रअनुसार भगवान् शिवको बासस्थान पनि नेपालको हिमालय पर्वत क्षेत्रमा रहेको बताइन्छ । भगवान् शिवबाट प्रतिपादित योगलाई हाम्रा ऋषिमुनिहरू गोरक्षनाथ, महर्षि कपिल, भगवान गौतम बुद्ध आदिले थप अगाडि बढाउँदै लगे ।
योगको मर्म र यसले दिने फाइदा अहिले विश्वमा कुनै पनि कुराले नदिने कुरामा पश्चिमेलीहरू धेरै नै विश्वस्त भैसकेका छन् । योगका माध्यमबाट धेरै जटिल किसिमका रोगहरूको समस्या समाधान भएकादेखि योगले बताएको खानपिन र जीवनशैली अंगीकार गरेर आफ्नो अव्यवस्थित जीवनशैलीमा व्यापक परिवर्तन गरेका उदाहरणहरू उनीहरूकै सामुन्ने हजारौं छन् । यही कुरालाई बुझेरै संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गरेको हो ।
पश्चिमी समाजले योगको महत्व बुझिसकेका छन् भने हामीले आफ्नै भूमिमा जन्मिएको योगको महत्वलाई अझै पनि बुझाउन सकिरहेका छैनौं । हाम्रा ऋषिमुनिहरूले व्याख्या गरेको योगलाई अझै पनि बाँकी रहेको विश्वलाई बुझाउन सकेनौ भने योगको महत्व केवल हाम्रा धर्मग्रन्थहरूमै सीमित हुने देखिन्छ । हामीले हीनताबोध नराखी भन्नुपर्दा अहिले योगप्रतिको जागरण हाम्रो मुलुकमा पश्चिमी मुलुका व्यक्तिहरू यसतर्फ आकर्षित भएको देखेरै यसभित्र धेरै राम्रा कुरा लुकेको रहेछ भनेर भएको हो भन्दा पनि हुन्छ । योगको हजारौं वर्षको इतिहासमा हामीले योगलाई व्यापक बनाउने प्रयास नै गरेनौं । हाम्रो समाज विलासितातर्फ उन्मुख भएका कारण हामीलाई प्राचीन ग्रन्थले दिने ज्ञानभन्दा पश्चिमी समाजले निकाल्ने मनोरञ्जनका साधनहरू नै बढी प्रिय लाग्न थाले, जसका कारण हामीले योग गरेर आफ्नो जीवनलाई मर्यादित, व्यवस्थित र सात्विक बनाउनुभन्दा पश्चिमी मुलुकले नै आफूहरूले अँगालेको जीवनशैली गलत रहेको छ है भन्दा पनि हामीले अँगाल्न थाल्यौं ।
संयुक्त राष्ट्रसंघले विश्व योग दिवस मनाउन थालेपछि तुलनात्मक रूपमा योगले धेरै पक्षबाट मान्यता पाएको छ । यस्तो अवस्थामा अब हामीले पनि योग विद्याको प्रारम्भ हाम्रो मुलुकवाट भएको हो भन्नलाई कुनै किसिमको हिचकिचाहट राख्नु हँुदैन । पृथ्वीभित्र रहेको ऊर्जा स्खलन हुँदा पहाड र हिमालहरूको उत्पति भएको कुरालाई पछिल्लो पटक विज्ञानले पनि प्रमाणित गरेको छ, तर हाम्रो प्राचीन समयमै ऋषिमुनिहरूले यो ज्ञान थाहा पाएरै आफ्नो तपस्या र साधनाको क्षेत्र यही भूमिलाई नै बनाए । प्रकृतिको बढी ऊर्जा भएकै क्षेत्रमा त्यो बेलाका ऋषिमुनिहरूको बास भयो । उनीहरूले साधनाबाट पाएको सफलताले उनीहरूलाई भगवान्को दर्जा दिलायो । जस्तै भगवान् शिवका विभिन्न रुपहरूमध्ये मुक्तिनाथ, बद्रीनाथ, केदारनाथ, पशुपतिनाथ तथा मानसरोवर (कैलाश) आदि स्थान यसै हिमाली खण्डमा पर्छ ।
प्राचीन समयमै ऋषिमुनिहरूले बुझेको नेपालजस्तो योगभूमिमा एक दिन मनाउने योग दिवसलाई हाम्रो हो भन्ने अनि बाँकी रहेका दिन चुप लाग्ने प्रवृत्तिलाई हामीले त्याग्नैपर्छ । एक दिन मनाइने योग दिवसलाई वर्षैभरि विभिन्न गतिविधि गरेर मनाउनुपर्छ । अहिले नेपालका केही विद्यालयहरूले योग अभ्यासलाई आफ्नो अतिरिक्त क्रियाकलापमा राख्ने गरेका छन् । अब यसलाई प्राथमिक तहदेखि उच्च शिक्षासम्म अध्यापनकै विषय बनाउनुपर्छ । योबाहेक प्रत्येक स्वास्थ्य केन्द्रमा, निजामती सेवामा, सामाजिक संघसंस्थाहरूमा, व्यापारिक क्षेत्रमा, पर्यटन क्षेत्रमा यसलाई समय सापेक्ष लागू गर्नुपर्ने हुन्छ ।
योग साधनका लागि प्राचीन समयदेखि नै ऊर्जावान क्षेत्रका रूपमा रहेको नेपाललाई योगमार्फत व्यापक बनाउन अझै सकेका छैनौं । समय अझै पनि ढल्केको छैन । हामीले आज मनाइने विश्व योग दिवसबाटै नेपाललाई योगको तपोभूमि नेपालको भन्ने कुरालाई घोषणा गर्दै सोहीअनुसार प्रचारप्रसार र तयारी पनि गर्नु राम्रो हुने देखिन्छ । एक तथ्यांकअनुसार अमेरिकामा सन् २०१५ मा ३ करोड ६७ लाख व्यक्ति योग गर्छन् भन्ने देखिएको थियो । यो संख्या सन् २०२० सम्ममा बढेर ५ करोड ५० लाख पुग्छ भनिएको छ । यो त भयो अमेरिकाको मात्र तथ्यांक अझ युरोप र अन्य अमेरिकी महाद्वीपदेखि अस्ट्रेलियन महाद्वीपमा योग गर्नेहरूको संख्या जोड्यो भने सयौं करोड पुग्न सक्छ । यस्तो अवस्थामा नेपालले योग पर्यटनलाई पनि प्राथमिकतामा राख्ने हो भने करोडौं विदेशी नेपालमा योग गर्नकै लागि लामो समय आउन सक्छन् ।
अहिले अमेरिकामा सरदर एउटा योग शिक्षकले योगको प्रशिक्षण गराएबापत करिब ३ हजार रुपैयाँ प्रतिघण्टा पारिश्रमिक पाउँछन् । योगको जननी नेपाल क्षेत्र भएका कारण यहाँका व्यक्तिहरूलाई योग शिक्षाको उचित तालिम दिएर विश्व बजारमा योग प्रशिक्षकहरूको आपूर्ति गर्न पनि सकिन्छ, जसका कारण नेपालका अहिलेका युवाहरूले वैदेशिक रोजगारीको नाममा जति जोखिम मोलेर काम गरिरहेका छन् । त्योभन्दा धेरै नै सम्मानजनक पेसा योगबाट पनि पाउन सक्छन् ।
संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति सुरक्षामा जाने सैनिकहरूलाई पनि यो शिक्षाको तालिम दिएर पठाउन सकिएमा र खटिएको स्थानमा उनीहरूले योगको प्रचार–प्रसार गरेमा देशको नाम उच्च हुनुका साथै योग पर्यटनलाई नेपाल भित्र्याउन पनि सकिन्छ । विश्वभरि उच्चशिक्षा र रोजगारीमा गएकाहरूलाई र जानेवालाहरूलाई केही दिनको अनिवार्य योग तालिम गराउन सकेमा उनीहरूले आफू गएको मुलुकबाट नेपालमा पर्यटन भित्र्याउन पनि सक्छन् । यस कार्यमा गैरआवासीय नेपाली (एनआरएन) हरूलाई पनि सहभागी गराउन सकिन्छ ।
पछिल्लो पटक योगमा पश्चिमी मुलकका बासिन्दाहरू आकर्षित भएको कारण यसमार्फत नेपालले आर्थिक समृद्धि प्राप्त गर्न सक्ने धेरै ढोकाहरू खुल्ने देखिएको छ, साथै आफैंले नियमित योग गरेमा शारीरिक र मानसिक अनुशासन पालन गरी शान्तिपूर्ण जीवन प्राप्त गर्न सकिन्छ । योग अभ्यासले चिन्तालाई चिन्तनमा र मानसिक रोगीलाई निरोगी बनाउँछ । शरीरमा लचकता ल्याई मांसपेशीहरूलाई मजबुत र स्वस्थ बनाउँछ । प्राणायामले श्वासप्रश्वासको गति राम्रो बनाउँछ भने आसनहरूले शरीरलाई बलियो र साहसी बनाउँछ । मानिसलाई सात्विक खानपिन गर्न सिकाउँछ । जस्तो अन्न ग्रहण गर्यो त्यस्तै अन्नमय कोशको निर्माण हुन्छ । अन्नमय कोशले प्राणमय कोशको निर्धारण गर्छ । प्राणमयकोशले व्यक्तिको मनको स्थिति तय गर्छ । जस्तो मन भयो त्यस्तै निर्णय क्षमताको निर्माण हुन्छ । जीवनमा जस्तो निर्णय गर्न सक्यो त्यस्तै फल प्राप्त हुन्छ ।
नेपाल सरकारले मनाउँदै आएको माघ १ को योग दिवस र अन्तर्राष्ट्रिय योग दिवस २१ जूनको मुख्य उद्देश्य योगलाई सिमान्त व्यक्तिसम्म पुर्याउनु नै हो । नेपाल सरकारले योगलाई कसरी अगाडि बढाउँदै छ, यस कार्यमा कस कसको सहकार्य आवश्यकता हुन्छ, शिक्षा क्षेत्रमा यसलाई कसरी लग्न सकिन्छ, निजामती सेवामा यसको भूमिका कस्तो हुनुपर्छ, स्वास्थ्य क्षेत्रमा यसलाई कसरी उपयोग गर्न सकिन्छ, सम्पूर्ण नेपालीहरूको स्वास्थ्यका साथै विश्वभरि योगलाई कसरी फैलाउन सकिन्छ, योग गर्नलाई नेपाली भूमि किन उचित छ, पर्यटन क्षेत्रमा योगलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने आदि विषयमा व्यापक छलफल र गृहकार्य गरी भावी कार्यक्रम निर्धारण गर्न आवश्यक छ ।
(आलेले योगमा एमए गर्नुका साथै योग प्रशिक्षण गराउनुहुन्छ ।)