जेठमा आठवटा नेपाली चलचित्र प्रदर्शन भए । वैशाखमा १० वटा चलचित्र प्रदर्शनमा आएका थिए, तर जेठमा भने त्यसको तुलनामा केही कम चलचित्र दर्शकले हेर्न पाए । वैशाखमा लिलिबिली र केही सातादेखि चल्दै आएको शत्रुगतेले धमकेदार व्यापार गरे । जेठमा भने दर्शकको मन जित्ने र व्यापार गर्ने खासै चलचित्र फेला पार्न सकिएन । यो महिना हैरान, कोसेली, सुनकेशरी, हरी, बेबी आई लभ यु, अमेरिका ब्वाइज, चंगा तथा मट्टी मालाले गरेको नाफा–घाटा एवं दर्शकहरूको प्रतिक्रियाको समीक्षा गर्ने हो भने केही बढी मन पराइएको चलचित्र हरि हो, तर उक्त चलचित्रले पनि लगानी उठाउन सकेन । यो हिसाबमा भन्ने हो भने जेठका सबै चलचित्र फ्लप भएका छन् । कुनै पनि चलचित्रले लगानी उठाउन सकेका छैनन् ।
जेठ ४ मा एकल प्रदर्शनमा आयो— हैरान । एकैपटकमा चार–पाँचवटासम्म चलचित्र जुधिरहेको नेपाली चलचित्रको बजारमा हैरानले एक्लै प्रदर्शनको अवसर पाउनु चानचुने कुरा थिएन, तर यो चलचित्रलाई दर्शकले पत्याएनन् । चलचित्र समीक्षकहरूले हैरान हेरेर खासै सकारात्मक प्रतिक्रिया दिएनन् । सरोज खनाल, गजित विष्ट, बुद्धि तामाङ, सत्यराज आचार्य, निष्मा घिमिरे आदि कलाकारद्वारा अभिनीत यो चलचित्र हास्यव्यङ्ग्यमा आधारित थियो, तर दर्शकले यो चलचित्रलाई विषयवस्तुमा केन्द्रित हुन नसकेको कच्चा चलचित्रका रूपमा परिभाषित गरे ।
अभिनेत्री ऋचा शर्माले निर्माण गरेको चलचित्र सुनकेशरीले प्रदर्शनको एक हप्ता नपुग्दै १ करोड रुपैयाँको केक काट्यो । झन्डै डेढ करोड रुपैयाँमा निर्माण भएको उक्त चलचित्र पहिलो हप्तापछि हलमा खासै देखिएन । चलचित्रले १ करोड रुपैयाँ कमाए पनि निर्माताको हातमा पर्ने भनेको ३० लाख रुपैयाँ मात्र हो । यो हिसाबले पनि सुनकेशरी फ्लप चलचित्रको सूचीमा पर्छ । चलचित्रको प्रदर्शनपछि दर्शकले अभिनेता तथा निर्देशक अर्पण थापालाई अभिनय मात्र गर्न सुझाव दिए । ऋचा शर्मा, सन्नी ढकाल, रवीन्द्र झा आदि कलाकारद्वारा अभिनीत चलचित्र सुनकेशरीमा समावेश कालीप्रसाद बाँस्कोटा तथा विजय अधिकारीको संगीत कता हरायो, पत्तो भएन । अधिकांश दृश्य अस्ट्ेरलियामा खिचिएको सुनकेशरीलाई हरर चलचित्र भनिए पनि दर्शकले चलचित्रका कुनै पनि दृश्य डर लाग्ने खालको नभएको प्रतिक्रिया दिए ।
जेठ ११ मै सुनकेशरीसँग जुधेको चलचित्र कोसेली हलबाट कतिबेला उत्रियो कसैले पत्तो पाएनन् । मनोज खत्रीको निर्देशन रहेको यो चलचित्रले पहिलो शोदेखि नै दर्शक पाएन । मनोज खत्री, दिनेश शर्मा, जेएन घिमिरे, रचना लामा, तेजा ऐर आदि नयाँ कलाकारहरूद्वारा अभिनीत यो चलचित्र झन्डै एक वर्ष लगाएर निर्माण गरिएको थियो । प्रेम, द्वन्द्व, विछोड आदि विषय समेटिएको चलचित्र कोसेली निर्माण गर्न झन्डै ४० लाख रुपैयाँ लगानी गरिएको निर्देशक मनोज खत्रीले बताएका थिए ।
जेठ १८ मा एकै दिन तिन चलचित्र प्रदर्शनमा आए— हरि, बेबी आई लभ यू तथा अमेरिका ब्वाइज, तर यी तीनवटै चलचित्रले लगानी उठाउन सकेनन् ।
हरिका कलाकार विपिन कार्कीको अभिनयको चौतर्फी प्रशंसा भए पनि चलचित्र व्यवसायिक रूपमा असफल भयो । सफल केसी तथा प्रतीक गुरुङको निर्देशनमा तयार भएको चलचित्र हरि पूर्वनिर्धारित मितिबाट सरेर जेठ १८ मा प्रदर्शनमा आएको थियो । चलचित्र समीक्षक, पत्रकार तथा केही बुद्धिजीवीले सकारात्मक प्रतिक्रिया दिए पनि हरि असफल सावित हुन पुग्यो । समीक्षकहरू भन्छन्– धेरै चलचित्रसँग जुध्नु नै हरिको दुर्भाग्य हो । उनीहरूका अनुसार जेठ ४ मा हैरानसँगै प्रदर्शन भएको भए हरिले लगानी उठाउन सक्ने सम्भावना थियो । ‘हरि’ मा अभिनेता विपिन कार्की एकदमै फरक लुक्समा देखिएका थिए ।
जनक पाण्डेले निर्देशन गरेको चलचित्र बेबी आई लभ यू केही दिनमै हलबाट उत्रियो । सरोज खनाल, सन्तोष खड्की, पुजा तिवारी, निर्मल शर्मा आदिले अभिनय गरेको यो चलचित्र पूर्ण रूपमा प्रेमकथामा आधारित थियो, तर बलियो कथाको अभाव एवं अधिकांश कलाकार नयाँ भएकाले यसलाई दर्शकले पत्याएनन् ।
पटक–पटक प्रदर्शन मिति सरेर १८ जेठमा सार्वजनिक चलचित्र अमेरिका ब्वाइज फ्लप चलचित्रको सूचीबाट उम्कन सकेन । २ करोड रुपैयाँमा निर्माण भएको यो चलचित्र प्रवेश पौडेलले निर्देशन गरेका थिए । यो चलचित्र वैदेशिक रोजगारीमा केन्द्रित थियो । अर्पण थापा, सृष्टि कार्की, सन्दीप क्षेत्री, कामेश्वर चौरासिया, सुनिल थापा, हरिहर शर्मा, मनिष राउत, रुवी राना आदि कलाकारले अभिनय गरेको अमेरिका ब्वाइज हलमा एक साता पनि टिक्न सकेन ।
जेठको अन्तिम शुक्रबार प्रदर्शनमा आए चलचित्र– चंगा र मट्टी माला । किशोर भण्डारीले निर्देशन गरेको चलचित्र चंगामा बुद्धि तामाङ, कमलमणि नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमल्सिना आदि कलाकार मुख्य भूमिकामा थिए, तर अन्य चलचित्रको अवस्था जस्तै भयो चंगाको पनि । राजनराज शिवाकोटी तथा कमल खत्रीको संगीतलाई पनि दर्शकले नोटिस गरेनन् । गाउँघरको मौलिक कथा उठान गरिएको चलचित्र चंगा बाल–मनोविज्ञानमा आधारित थियो । चंगासँगै प्रदर्शनमा आएको चलचित्र मट्टी मालाको अवस्था पनि उस्तै देखियो ।
टेके पौरखी राईद्वारा निर्देशित चलचित्र मट्टी मालामा प्रियंका कार्की, बुद्धि तामाङ, रजनी गुरुङ आदि कलाकारले अभिनय गरेका थिए । माटोभित्र पाइने बहुमूल्य धातु मट्टी मालाको विषयमा केन्द्रित यो चलचित्रमा प्रेम, एक्सन, कमेडी तथा रोमान्ससमेत प्रस्तुत गरिएको थियो । साहूको ऋण तिर्न नसकेपछि विदेश पुगेका युवाको कथामा यसअघि थुप्रै चलचित्र बनिसकेका छन्, यो चलचित्रले पनि उनीहरूकै केही दृश्य र कथा सापट लिएजस्तो मात्र देखियो ।
भाँडाकुटी खेल्ने ठाउँ होइन
जेठमा प्रदर्शनमा आएका चलचित्रमध्ये कुनै पनि चलचित्रलाई दर्शकले रुचाएनन् । पछिल्लो समय करोड क्लब, दुई करोड क्लबमा प्रवेश गरेको हावादारी गफ सुनेर चलचित्र बनाउन आएकाहरू नै यसको बढी मारमा परेको देखिन्छ । अर्को कुरा, जेठमा अधिकांश चलचित्र फ्लप हुनुमा सबै चलचित्रको कथा कमजोर हुनु नै प्रमुख कारण हो । दर्शकको अपेक्षा के छ, उनीहरू कस्तो चलचित्र चाहन्छन् त्यसमा खासै ध्यान दिइएको पाइँदैन । चलचित्र उद्योग भाँडाकुटी खेल्ने ठाउँ होइन ।
यो हिसाबले भन्ने हो भने जेठमा मात्र होइन, अरू केही महिना पनि फ्लप चलचित्रको ओइरो रोकिनेवाला छैन । नेपालमा जति पनि चलचित्र निर्माता छन्, अधिकांश अरूका हावादारी गफ सुनेर यो क्षेत्रमा आएको पाइन्छ, चलचित्र बनाउनुअघि यो क्षेत्रको साधारण कुरा त बुझ्नुपर्यो नि !
सामीप्यराज तिमल्सिना चलचित्र समीक्षक