साप्ताहिक संवाददाता
यसपालि पनि जर्मनीले नै विश्वकप जित्छ ?
– भदौमा आँखा फुटेको डिंगोले सधैं हरियो देख्छ रे ।
पाँचपल्टको विजेता ब्राजिलले आधा दर्जन किन पुर्याउँदैन ?
– एकादेशमा एउटा राजा थियो, परन्तु हामी एक्काइसौं शताब्दीको गणतान्त्रिक फुटबलतन्त्रमा छौं ।
पोर्चुगल र विश्वकपबीच के साइनो छ ?
– कागलाई बेल पाक्यो हर्ष न विस्मात ।
विश्वकपको सबैभन्दा खतरनाक टिम कुन हो ?
– उरुग्वे । ऊसँग लुइस स्वारेजजस्तो घातक हतियार छ, जसले दाँते–सट प्रहार गरी कुनै पनि टिमलाई एक्लैले धराशायी पारिदिन सक्छ ।
के बेल्जियमले इतिहास रच्ला ?
– दही छैन, चिउरा भए दही–चिउरा खान्थें भन्दै डुक्रिने बुज्रुकहरूलाई के भन्नु र खोइ ?
के इंग्ल्यान्डले इतिहास दोहोर्याउला ?
– ढाँटको निम्तो खाई पत्याउनु अरे ।
स्याल हुइँया मच्चाइएझैं के स्पेन सबैभन्दा बलियो र सन्तुलित टिम हो ?
– नब्बे वर्षां लिट्ठो एउटा फाइनल, खुट्टी देख्दै पत्याएँ ।
अनि अर्जेन्टिना नि ?
– टिममा जम्मा एउटा मेसी तर हल्ला नै बेसी ।