हरेक चार वर्षमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिता रसियामा जारी छ, संसारभरबाट चुनिएर आएका ३२ वटा देशले एकआपसमा प्रतिस्पर्धा गरेर अन्तिममा एक देशले सुन जडित कप र नगद हात पार्नेछ । के बालक, के वृद्ध, के युवक, के युवती संसारभरका करोडौं मानिस टेलिभिजनमा फुटबल हेर्न बसेका छन् । सामाजिक सञ्जाल आ–आफ्नो टिमको पक्ष र विपक्षमा गरिएका समर्थनका शब्द र छेडखानीले रमाइलो भएको छ । आफ्नो टिमको समर्थनमा जर्सी लगाएर हिँडेका युवायुवतीका कारण बजार रंगीन देखिएको छ । संसारभरका करोडौं मानिसले हेर्ने यो विश्वकप फुटबलले अर्थतन्त्रमा समेत तरंग ल्याउँछ ।
अहिले होटल तथा रेस्टुराँ सञ्चालकले ठूलो साइजको पर्दा राखेर फुटबलको प्रत्यक्ष प्रसारण देखाई ग्राहक आकर्षित गरिरहेछन् । यो एक महिना धेरै खाले व्यापारीका लागि आम्दानी गर्ने राम्रो अवसर पनि हो । खेलप्रेमीका लागि त हरेक चार वर्षमा आउने ठूलो चाड नै हो । नेपालमा धेरै नेपालीले टेलिभिजन किनेर हेर्न थालेको १९८६ र १९९० को विश्वकपदेखि हो, जसमा म्याराडोनाको खेल हेरेर रमाएका कारण धेरै नेपाली अर्जेन्टिनाका समर्थक छन् । त्यसै गरी पछि ब्राजिलका रोनाल्डो, रोनाल्डिन्होजस्ता खेलाडीले पनि धेरैको मन जिते र ब्राजिलका समर्थक पनि बढ्दै गए । त्यसो त विजेताका समर्थक जहाँ पनि हुन्छन् । पहिलेदेखि मन परेको टिम अहिले कमजोर भए पनि जितोस् भन्ने कामना गर्नु ठीकै हो, तर जित्नका लागि एक खेलाडी मात्र राम्रो भएर हुँदैन, समग्र टिम नै बलियो हुनपर्छ ।
फुटबल गज्जबको खेल छ । गहिरिएर हेर्यो भने यसले जिन्दगी नै बुझाइदिन्छ । मान्छेले आफ्नो लक्ष्य प्राप्तिका लागि कसरी संघर्ष गर्छ र लक्ष्य फेला पार्न कति गाह्रो छ, फुटबल हेरेर पनि बुझ्न सकिन्छ । जिन्दगीमा गोल हान्नु हामी सबैको लक्ष्य हो । गोल हान्न सबैलाई मन लाग्छ, त्यही भएर प्रतिस्पर्धा चलिरहेको हुन्छ । सबैले गोल हान्नु छ । त्यसैले सबै जना कुदिरहेका छन् । सबै एक–अर्कालाई छलाउँदै छक्याउँदै अघि बढ्न खोज्छन् । सजिलै गोल हान्न पनि गार्हो छ, छेक्न रोक्न गोलकिपररूपी बाधा–अड्चन–अवरोधहरू पनि हुन्छन् । जसले धैर्य, अनुशासन, चतुर्याइँ, निरन्तरता, गतिशीलता दिएर लागिपर्छ उसले मात्र अन्तिमसम्म गोल हान्न सक्छ । जसरी गोल हान्न अर्को साथीको पासको आवश्यकता पर्छ जिन्दगीमा पनि साथीभाइ एवं हितैषीहरूको साथको जरुरत पर्छ ।
गोल हान्न नदिन जसरी विपक्षी टिमका खेलाडीहरू लागिपर्छन् त्यसैगरी जिन्दगीमा पनि दुस्मनहरू लागिपरेका हुन्छन् । फुटबलमा जस्तै लडाउने, कोपर्ने, छिर्की हान्ने, बाटो छेक्ने, समात्ने, तान्ने, घाइते बनाउने खेल मानिसको जीवनमा पनि चलिरहन्छ । जसले सबै कुरा मुकाबिला गरेर अघि बढ्न सक्छ ऊ सफल हुन्छ, नभए हार्छ वा थोरै पाउँछ । जिन्दगीमा पनि कोही पहिलो चरणमै हार्छन्, कोही क्वार्टर फाइनल त कोही सेमिफाइन पुग्छन् भने कोही फाइनलसम्मै पुग्छन् र विरलैले फाइनल जितेर इतिहास निर्माण गर्छन् । एउटा खेलमा, एउटा दौडमा एउटा विजेता हुन्छ तर महत्व अरूको पनि हुन्छ । आफूले जित्नका लागि कोही न कोही त हार्नैपर्छ र फेरि एकफेर जित्दैमा सधैं फेरि–फेरि पनि पक्का जितिन्छ भन्ने ग्यारेन्टी हुँदैन ।
एकफेर जित्न सजिलो छ तर विजेता कायम रहन कठिन छ । त्यही भएर हरदम उत्तिकै लगन र मेहनत आवश्यक हुन्छ । टिममा कसरी मिलेर काम गर्ने, कसको क्षमता के छ त्यहीअनुसार कसरी काम दिने, अनुशासन कसरी कायम गर्ने, अन्तिम अवस्थासम्म पनि कसरी धैर्य नगुमाई अघि बढ्ने फुटबलले सिकाउँछ । जित्न गति मात्र होइन, कला पनि चाहिन्छ । गोल हान्न खुट्टा मात्र भएर पुग्दैन, अक्कल पनि चाहिन्छ । सही समयमा सही तरिकाले गोलकिपरलाई छलाउँदै वा छक्याउँदै लक्ष्यमा प्रहार गर्न सके मात्र गोल हुन्छ । गोल हान्ने प्रयास धेरैले गर्छन् तर सक्दैनन् । सफल हुन सबैलाई मन लाग्छ तर सकिँदैन ।
कहिलेकाहीँ सुन्दर खेल खेल्दाखेल्दै पनि हारिन्छ । जिन्दगीमा पनि राम्रो गर्दागर्दै पछि परिन्छ । कप जित्न गोल हान्नैपर्छ, तर मन जित्न सुन्दर खेल पनि देखाउन सक्नुपर्छ । कसले कति राम्रो खेलेको थियो कति प्रयास गरेको थियो अरूले मूल्यांकन गरिरहेका हुन्छन् । यदि आफ्नो खेलसँग खेलाडी र आफ्नो कर्मसँग मानिस सन्तुष्ट भयो भने जिन्दगीमा कप नै पाउनुपर्छ भन्ने हुँदैन । जालझेल गरेर जितेका मानिस पनि धेरै हुन्छन् । कहिले जितेर पनि हारिन्छ, कहिले हारेर पनि जितिन्छ । कुनै टिमले हार्छ तर त्यही टिमको कुनै खेलाडी विशेषको खेल स्मरणीय हुन्छ । खेल जित्नु आफ्नो ठाउँमा छ तर मन जित्न सक्नु जतिको ठूलो जित अरू के होला र !
जित्नु हार्नु एक ठाउँमा छ, आफ्नो भागको हिस्सा राम्रोसँग खेलौं । अन्तिममा दुस्मनले पनि भनोस्— वाह ! क्या खेलेको थियो त्यसले । जिन्दगीमा पनि सके गोल गरौं तर झेल नगरौं ।
Facebook.com/abeeralthapa
Twitter@abeeralthapa